नेपालको राजनीति जहिल्यै तरल मात्रै रह्यो । जुनकुनै व्यवस्था आएपनि र जतिवटा संविधानहरु बनेपनि देशका जनताले निश्चिन्त हुने वातावरण बनेन । देशको अस्मिताको रक्षा भएको अनुभूति पनि भएन । रीतले कानून बनेको र कानूनले शासन गरेको अनि कानून भित्र शासक बसेको देख्न नेपालीका आँखाहरु सधैंसधैं तर्सी नै रहे । व्यक्तिको परिवार प्रति, समाज प्रति र राष्ट्र प्रतिको दायित्व हराउँदै गयो । निष्ठा त नीहित स्वार्थमा मात्रै बिकिरहेको छ । बेथितिका डङ्गूर देखेका र भोगेकाहरु पनि ज्यानको सलामतिका लागि मुखमा पानी हालेर थपडी बजाउनै पर्ने अवस्था आइसकेको छ । कित्ता कित्तामा छरपष्ट राज्यसंयन्त्रका बाछिटाहरु न्याय, साहित्य, पत्रकारिता, प्रशासनतन्त्र, सुरक्षातन्त्र, सेवाप्रदाय संस्था, शिक्षा स्वास्थ्य देखि समाजको सानो सानो एकाइमा पुगेको छ । यसको अबको प्रस्थान बिन्दु के हो ? कहाँ पुगेर यसले बिराम लगाउँछ भन्ने कुनै टुङ्गो छैन । शायदै कसैले कल्पना गरेको होला कि यो अवस्थामा नेपालको अबको बाटो के हो ?
पार्टीहरु यो देशमा १६० वटा पुगिसके । अझै खुल्दै छन् । नेता सारा संसारलाई निर्यात गरेपनि नसकिने भैसकेका छन् । ‘कर्म कुकर्म सबैमा फेटा, नेपालका हर घरमा नेता’ भै सकेका छन् । नेताको उर्लापात बाढि आएको देशमा नीति र नैतिकताको भने सधैं खडेरी मात्रै भयो । सधैं असारे भल छोप्ने ध्याउन्नमा यहि भीड लागि नै र्हयो । आफुबाहेक अरु सबै खराब भन्ने भाष्य मात्रै तयार गरिएन कि आफ्ना हातमा डाडुपन्यू आएपछि अगाडीकाले भन्दा गुणात्मक रुपमा व्यक्तिगत स्वार्थका लागि राज्यकोषको दोहनको प्रतिष्पर्धा नै बन्यो । यदि हुँदा पनि यिनीहरुले न एैया न आच्छु भनेका छन् ।

समाजमा नेता बन्नु भनेको सधैं नकारात्मक पनि हुँदैन । समाजमा चेतनाको अभिबृद्धि गराउने भनेको नै समाजिक नेताले नै हो । त्यो जुनकुनै रुपमा पनि हुनसक्छ । घरभित्र आमाको रुपमा होस या विद्यालयमा शिक्षकको रुपमा या फेरि समाजमा संघसंस्थामा र देशको बेथिति प्रति औंला ठडाउने जागरुक बनाउने नागरिकको रुपमा । त्यहाँ उभिने सबै कुनै न कुनै रुपमा नेता नै हुन । यसलाई सकारात्मक नै मान्नुपर्छ । समाजलाई सहि मार्गमा डोर्याउन समाजिक नेता नै चाहिन्छ । राज्यलाई उन्मत्त हुनबाट रोक्न पनि नेता नै चाहिन्छ । कानूनी शासनको ऐना देखाउन पनि नेता नै चाहिन्छ । त्यसैले नेता भन्ने बित्तिकै घृणा नै गरिहाल्नु पर्ने वा चोर नै हो डाँका नै हो फटाहा नै हो भन्ने भाष्य बन्नु हुँदैन ।

नेपालमा पछिल्लो तीन दशकयता नेताको छविमा यस्तै प्रबृतिको छाप परेको छ । यो बनाएको नै नेपाली राजसत्तामा अर्कको प्रतिमान बोकेर दलीय व्यवस्था अन्तर्गत आसीन भएका धेरैको चरित्रले निर्माण गरेको हो । गाउँ देखि सिँहदरबारसम्म नै राज्यका सबै साधनश्रोतहरु आफु र आफ्नाका लागि दोहन गर्ने गराउने सोंच र व्यवहारले गर्दा नै नेपालमा नेताप्रतिको गलत भाष्य बनेको हो । यसलाई सच्चाउने आँट गर्नुपर्छ । यो सच्याउने साहस गर्नेहरु नै अबका वास्तविक नेता हुन भने विखण्डनको संघारमा पुग्न लागेको यो देश बचाउने नीति र नैतिकता सहित आँट गर्नु नै अबको बाटो हो ।

नेपालमा राजनैतिक रुपमा अहिले तीन किसिमका मार्गहरु देखिएका छन् । पहिलो कम्यूनिष्टहरुको साम्यवादी परिकल्पना सहितको समाजवादी बाटो जुन २०५१ साल यता पटकपटक परिक्षण भैसकेको छ र यसले राम्रो कम र नराम्रो बढि ख्याति कमाइसकेको छ । यसको आधारशीला नै लेनिनवादको जातियराज्यबाट हुँदाहुँदै क्रान्तिको नाममा बिध्वंस, देशको ऐतिहासिकता माथि बेलगाम आक्रमण, मौलिक धर्म सँस्कृति भाषा र सभ्यता माथिको हस्तक्षेप, नेपाली अस्मितालाई गाली गलौच गरेर ठूलो मान्छे बनिने भाष्य निर्माण गरिरहेको छ । कलकत्ते कम्यूनिष्टको मेनुफेस्टोको फोटोकपि गरेर यात्रा आरम्भ गरेको यो बाटो त्यहाँ कै झैं तुष्टिकरणको पराकाष्ठामा पुग्दै छ । लेनिन स्टालिन र माओका नामबाट कोरिएको बाटोमा पछिल्लो समय सीवाद पनि घुसेको छ । यो कुरा अर्कै हो कि चीनमा सी ले माओवादबाट सधैं आफुलाई अलग राखे र त्यहाँ भएको साँस्कृतिक क्रान्तिको नाममा भएको मौलिक सँस्कृतिमाथिको आक्रमण गलत भएको महसुुस गरिसके पछि अब चीनको सबैभन्दा पुरानो सँस्कृति कम्फ्यूसियस को प्रचारप्रसार प्रर्बद्धन र संबद्र्धन गर्ने बाटोमा छन् । नेपालमा भने कम्यूनिष्टहरुको बाटो अझैपनि यहाँको मौलिक सँस्कृतिको बिनास गर्नेतिर नै उन्मूख छ । उनीहरुको अर्को भर्जनको रुपमा त्यहि कलकत्ता कै झैं ‘ममतावाद’ आएमा कत्तिपनि अनौठो नमाने हुन्छ ।

अर्को बाटो छ पूँजीवादको बाटो, जुन बाटो कम्यूनिष्ट इतर दलहरुले लिइरहेका छन् । नेतृत्व काँग्रेसले गरिरहेको छ । यसको पनि आधारशीला त्यहि कलकत्तामा नै राखिएको हो । पछिल्लो समयमा राजपा, जसपा, राप्रपा, विवेकशील आदी दलहरुको बाटो पनि यहि हो । यी मध्ये कतिका त आर्दशको रुपमा बिहारका लालूप्रसाद यादव र मुलायम सिँह यादवहरु भएका छन् । किन कि उनीहरुले त्यहाँ जयप्रकाश नारायण र राममनोहर लोहियाहरुलाई आर्दश त मान्छन् तर उनको नाममा आफु र आफ्नाका लागि मात्रै गर्ने राजनीति गरिरहेका छन् । यहाँ तीनै कारिगडहरुको शैलीमा काम गर्ने पार्टीहरु निकै सक्रिय भएका छन् । प्रजातान्त्रिक समाजवादको नाममा होस् या वैज्ञानिक समाजवादको नाममा या फेरि उदारवादको नाममा बाटो एउटै छ । ‘राज्य भनेको म नै हो र म भनेको नै राज्य हो । मेराले खाएको र पाएकोमा सहमति र नपाएकोमा बिरोध र बिमति । मैले गरे सबै ठीक अरुले बोलेपनि गलत । ’ यो नै वर्तमान नेपाली राजनीतिको एकशुत्रिय लक्ष्य भएको छ ।

उपरोक्त भाष्य निर्माण गर्ने काममा लागेका यी दूइ बाटाहरुले नेपालमा तात्विक रुपमा आउने परिवर्तन भनेको नै यहि हो जो २०४८ साल देखि आजसम्म आएको छ । २०५० सालमा एउटा पक्ष सत्तामा हुँदा ‘तानाशाह, चोर लूटेरा, डाँका ’ आदि इत्यादि भन्दै सडकका बारहरु भाँच्ने र अराजकता फैलाउनेहरुका बीचमा स्वार्थ मिल्दा सत्ता साझेदारी र नमिल्दा पानी बाराबार भएकै छ । २०५२ सालबाट बाहिरी आवरणमा एकअर्काका सैद्धान्तिक, वैचारिक आदी इत्यादि कुरामा शत्रु बनेर हिँडेकाहरु पनि त्यहि आफु र आफ्नाको स्वार्थ मिल्दा या मिलाउँदा साझेदार बनेका छन् , भने अहिले फेरि कतै चोचोमोचो त कतै गाली गलौच चलेकै छ । स्वार्थ मिलाउनका लागि बहुदलभित्र निर्दलीयता पनि खोजिँदै छ । पार्टी निर्णय भित्र व्यक्तिगत निर्णय पनि खोजिँदै छ । यहाँ न कुनै वाद छ न कुनै नीति र नैतिकता छ । तरपनि डाँको छोडेर नीति नैतिकता विधि र पद्धतिका कुरा गरिँदै छ । त्यसोभए अबको बाटो के हो त ?

के अर्को पनि बाटो छ यी बाहेक पनि ? प्रश्न उठ्नै पर्छ र उठेको पनि छ । यहि प्रश्नको खोजिमा वैकल्पिकहरुको खोजि नभएको होइन । भयो, तर त्यो सब देशले खोजेको विकल्पको बाटो होइन मूलधारको बाटो हो भन्ने बुझ्नुपर्छ । विकल्प कै खोजिमा नेपालमा सातवटा संविधान बनेका होइनन् र ? विकल्पकै खोजिमा यहाँ अन्तहीन कित्ताकाट र घृणावादको बीजारोपण गरिएको छैन र ? विकल्पकै खोजिमा नेपालीले नेपालीलाई नै काटेको, सम्पत्ति लुटेको होइन र ? विकल्पकै खोजिमा नेपाली अस्मितालाई गाली गर्दै यहाँको धर्म सँस्कृति भाषा र सभ्यता माथि आक्रमण गरेर यसलाई ध्वंस्त गर्नैपर्छ यहि नै हाम्रो विकासको बाधक हो भनिएको होइन र ? केहिले त आजपनि भनिरहेका छैनन् र ? खोइ त यी सबै कुनै न कुनै रुपमा सत्ताका मालिक बने तर के निकास दिए ? कस्तो नेपाल बनाए ? नेपाललाई स्वीटजरल्याण्ड बनाउने भन्दै त्यै स्वीटजरलैण्डमा पैसा थुपारेर त्यो देश भने अवश्य बनाए । तर नेपाललाई नेपाल कहिल्यै बनाएनन् । यो सधैं विकल्पको मात्रै खोजिमा देशको मूलधार के हो भन्ने नै बिर्सिए । अब मूलधार खोजौं, विकल्प होइन । मूलधारको बाटो भनेको सहृदयताको बाटो हो । यो बाटो लिने पनि नेपालमा पार्टी दर्ता भैसकेको छ । नेपालको ऐतिहासिकता, यहाँको मौलिकता र नेपाली अस्मितामा गर्व गर्न सकिने आफ्नै मौलिक प्रतिमानमा आधारित बाटो नै सहृदयतावाद हो । सहृदयता दर्शन हो । राज्यराष्ट्र सिद्धान्त हो ।

हाम्रो देश अस्तित्वमा रहँदा संसारमा बिरलै देशहरुको अस्तित्व थियो । भारतीय उपमहाद्वीपमा अरु देशको स्वतन्त्र अस्तित्व नहुँदा पनि यो देश स्वाभिमान र सार्वभौम रहेको थियो । यो हाम्रो गौरव हो । नेपालको आफ्नै मौलिक सँस्कृति छ । थिती छ । नीति छ । अनेकौं जातजाति भाषाभाषिको बसोबास छ । उनीहरुमा अपनत्व छ । मितमितेरी साइनो देखि एक अर्काका सँस्कार सँस्कृतिमा सहकार्य छ । सहृदयता र वसुधैव कुटुम्बकम का साथै अतिथि देवो भवः छ । मानव मात्रमा होइन प्रकृतिसँग प्रेम छ, यसको पूजाआरधना छ । प्रकृतिले दिएका सबै जीवजन्तु देखि बोट बिरुवा, खोलानाला, पहाड पत्थर सबैको समयानुकुल पूजा र सम्मान छ । आफु भोकै बसेर भएपनि अरुलाई खुवाउनुपर्छ भन्ने नीति र नैतिकता छ । यहि नै हाम्रो सहृदयतावाद हो । मानवले मानव बीच मात्रै नभएर प्रकृतिका सबै अवयहरुसँग राख्ने मित्रवत व्यवहार नै सहृदयतावादको लक्ष्य हो । यस्तो सहृदयताको सम्बन्ध भएको देश संसारमा अर्को कहिँपनि छैन । तर यहाँ यो हाम्रो अमूल्य सम्पत्ति हाम्रो पद्धतिलाई भत्काउनमा नै उद्दत राजनीति र वादले नेपालको अबको बाटो तय गर्नै सक्दैन । यहाँ अर्को कुनैपनि देशको वाद या प्रतिमानको खाँचो न हिजो थियो न आज छ र न भोलि नै हुनेछ । बरु नेपाली प्रतिमानले वैश्विक रुप लिएमा संसार सुन्दर हुन्छ भन्नेमा अब विस्तारै संसारले बुझ्दै जानुपर्छ र जानेछ पनि। हाम्रो सहृदयतावाद नै अबको संसारको मूलबाटो हो ।

प्रतिक्रिया

प्रतिक्रिया