बुर्काभित्र/ बुर्काबाहिर स्तम्भमा आज पारिवारिक नाता बारे चर्चा गरिने छ । हुन त परिवारमा महिला पुरुष दुबै हुन्छन् र यो विषयवस्तु दुबैका लागि उतिकै महत्त्वपूर्ण पनि छ । तथापि यो महिला विशेष स्तम्भ भएकोले महिलाका विषयमा मात्र छलफल गरिनेछ ।
जब हामी पृथ्वीको कुरा गर्छौ भने कि भने कि सामाजिक मानव जीवनको चर्चा हुन्छ कि जंगल जीवनको । मानव जीवनको कुरा भन्दा पहिला जंगल जीवनको कुरा गर्दा हामी हेर्न सक्छौं । जहां दुई प्रकारको जीव छन् एक सिकारी अर्को सिकार । सिकारी जीव अर्थात सिंहको अनुहारमा सधैं हिंसाको भाव मात्र हुन्छ जबकि हरिणको अनुहारमा क्रोधमा हुदां पनि वैचारगीको भाव हुन्छ । सिंह आफ्नो बच्चालाई माया गर्दा पनि उसको अनुहारबाट हिंसा नै झल्किन्छ । हरिण क्रोधमा हुदां पनि उसको अनुहारबाट वैचारगी नै झल्किन्छ ।

तर हामी मनुष्यलाई अल्लाहले एक अनुहारमा ३१ भाव प्रदशित गर्न सक्ने गुण दिनु भएछ । उन्नाइसौं शताब्दीमा फ्रान्सेली न्यूरोलॉजिस्ट डचेन दा बोलोनले जब मुस्कानमाथि अनुसन्धान गरे । उनको अनुसन्धानमा उनले ६० प्रकारका अनुहारको हावभावमाथि अध्ययन गरे । अनि उनले भेटाए कि अनुहारका फरक फरक मांसपेशीहरूले अनेक प्रकारका अभिव्यक्तिहरू उत्पादन गर्ने काम गर्छन् । जस्तैः खुशी, दुख, डर, आश्चर्य रिस, कंफ़्यूज़न र घृणा आदि । मनुष्यको मुस्कानको प्रकार हेर्ने हो भने यसकै मात्र १९ प्रकार छन् । हरेक मुस्कानको आफ्नै अर्थ हुन्छ तर हामी कहिलै सृष्टिकर्ताको गुणगान गर्दैनौं । सर्वविदित नै छ कि जब हरिण जंगलभित्र नदीमा पानी पिउन जान्छ अनेक पटक यता उता हेर्छ ताकी उसलाई कसैलाई हानी न पुर्याइदेओस् कुनै सिकारी जनावरले सिकार न गरिहालोस् । हाम्रो आर्थिक स्थिति अनुसार बुवा ,दाई भाई , पति र छोराले ल्याएको रेफ्रिजरेटर , वाटरकुलर, घैंटो धाराबाट  निर्धक्क भइकन पानी खान्छौं । हामीलाई कसैको डर त्रास हुदैंन् तर पनि हामी सन्तुष्ट हुदैनौं अल्लाहलाई धन्यवाद गर्दैनौं ।

हरिण जति ठुलो जंगलमा बसोस् तर उसले खाने भनेको हरियो घांस नै हो किनभने अल्लाहले उसको जिब्रोमा घांसको स्वादमा राख्नु भएको छ । सिंह जो जंगलको राजा हो उसको शासन पुरै जंगलमाथि हुन्छ तर उसले खाने भनेको मांस मात्र हो ऊ हरियो घांस खानै सक्दैन् । किनभने उसको जिब्रोमा अल्लाहले मांसको स्वाद मात्र राख्नु भएकोछ । हाम्रो घरमा आमा, पत्नी , बुहारी र दिदीबैनीले कति पनि गाह्रो नमानिकन दिनरात मिहनेत गरी अनेक प्रकारका स्वच्छ र स्वास्थ्य वर्धक व्यन्जन बनाएर दिन्छिन् । तर हामी तिनलाई धन्यवाद भन्नुको सट्टा त्यसमा अनेक कमी निकालेर तिनलाई बेज्जत गर्न कुनै मौका हातबाट जान दिदैनौं । साथै हामी शाकाहारी मांसाहारी सबै प्रकारका खाना खान्छौं । किनभने अल्लाहले हाम्रो जिब्रोमा गुलियो, नुनिलो, अमिलो र तितो जस्ता अनेक स्वाद दिनु भएकोछ । जंगलमा कसैलाई थाहा हुदैंन् कि कतिखेर कुन जनावरले खाईदिन्छ तर हामी आफ्नो आभिभावकले बनाईदिएको घरमा सुरक्षित बसेका हुन्छौं । जंगलको राजा रहेको सिंहको उमेरको अन्तिम समयमा भोकै मर्नु पर्ने अवस्था आउंछ । किनकि बुढेसकालमा जब उसको पेट भुई सम्म पुगिसकेको हुन्छ नङ र दांत भांचिसकेको हुन्छ ऊ आफु सिकार गर्न सक्दैन् । तब न त उसको पत्नी न बच्चा कसैले उसलाई खाना ल्याएर दिन्छन् । अवस्था यो हुन्छ कि भोकले उसको ज्यान गइहाल्छ । तर हामी मनुष्य आफुलाई हेरौं हामी अलि कति बिरामी भयौं भने हेरचाह गर्न हाम्रो आमाबुवा, छोराछोरी, सासु बुहारी, नन्द भाउजू ,दिदी बहिनी र दाईभाई सब हुन्छन् । उनीहरुले हाम्रो लागि खानेकुरा फलफुल औषधी उपचार बस्ने कोठा बिस्तरा सबको व्यवस्था गर्छन् । तर यी कुरा हामी मनन नै गर्दैनौं । अल्लाहले हामीलाई मनुष्य बनाएर हामी माथि उपकार गरे तर हामी बीच यो वैमनस्यता किन छ ? हो यो वैमनस्यता हुनुको कारण तपाई लेखको अर्को भागमा पढ्न सक्नुहुनेछ।

सामाजिक परिवेश

सर्वज्ञात भएकै कुरा हो कि व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ र परिवार परिवार मिलेर समाज बन्छ । अनि हामी मानव सामाजिक प्राणी हौं जो समाजमा बसेर आफ्नो जीवनयापन गर्नेगर्छौं । तर त्यही समाजमा बस्दा मनमुटाव हुदां वा एक अर्काको भावना बुझ्न नसक्दा परिवारमा कलह र द्वन्द्व सुरु हुन्छ । त्यो कलहको परिणाम गाली गलौच, मारपिट हिंसा हत्या र घर निकाला सम्म पुगिहाल्छ । कलहको नतिजा जे भएनि कारण चाहिं वैमनस्यता र प्रतिस्पर्धा हो । यदि हाल समाजमा हेर्ने हो भने घरमा भाउजू र नन्द बीच प्रतिस्पर्धा, सासु बुहारी बीच वैमनस्यता, देवरानी जेठानी बीच प्रतिस्पर्धा पाउछौं ।

त्यो प्रतिस्पर्धा र वैमनस्यताको अवस्था यो छ कि देवरानीले यदि एक जोर कपडा लिईन् भने जेठानीले दुई जोर लिन ढिपी गर्छिन् । अब चाहे घरका पुरुषसंग त्यति रकम होस् वा न होस् । जेठानीले दुई जोर कपडा लिन पाईन्  भने ठीकै छ । पाईन्न् भने कलह सुरु हुन्छ अब उनी न घरका काम गर्छिन् न पतिको देखरेख ।

यस्तै यदि जेठानीलाई राम्रो खाना बनाउन आउदों रैछ र सबैले उनको प्रशंसा गर्छन् भने देवरानीलाई यो कुरा मन पर्दैन् उनी मनमनै सोच्न थाल्छिन् कि म त नंया नंया सदस्य भ एर आएकीछु मेरो आवभगत हुनुको सट्टा सबले जेठानीको प्रशंसा गरिरहेछन् । उनलाई यो कुरा मन पर्दैन् र उनी जेठानीलाई सबैको मनबाट खसाल्न अनेक जुक्ति सोच्न थाल्छिन् यसमा उनको माईती परिवार पनि बडा साथ दिन्छन् । अब उनी माईती परिवारको सल्लाह मा जेठानीले बनाएका खानामा कहिले लुकेर नून बढी हाल्दिन्छिन् भने कहिले खुर्सानी ।

यसै गरी नन्द र भाउजूमा हुने प्रतिस्पर्धा हेर्ने हो भने जुन चीज दाईले भाउजूको लागि लिएर आउन्छन् त्यही चीज उनी आफ्नो लागि माग्छिन् । त्यही भनेपछि त्यही जुन दाईले भाउजूका लागि लिएर आएका हुन्छन् । उनलाई त्यो नै मन पर्छ त्यो बाहेक उनलाई अरु कुरा मनै पर्दैन् । अब उनले भाउजूका लागि आएका सामान लिइसकेपछि भाउजूसंग त उनको सम्बन्ध राम्रो रहनै सक्दैन् । त्यसपछि सुरु हुन्छ नन्द र भाउजू बीच वैमनस्यता । जुन नन्द बिहे अघि साथी जस्ती थिईन् आज शत्रु लाग्न थाल्छिन् उनलाई अब घरमा त्यही नन्दको अस्तित्व नै असहीय हुन थाल्छ । कति चांडै घरमा भगाउन सकिन्छ भने जुक्ति निकाल्न थाल्छिन् । आफ्नो पति घर आउन बित्तिकै उसको कानमा कहिले नन्दको विरुद्ध गलत आरोप लगाउनछिन् भने कहिले झुठो प्रेम कथा सुनाउनुछिन् । उनको हर सम्भव प्रयास यही हुन्छ कि कब नन्दको बिहे भएर ऊ गइहालोस् ।

यदि कुरा गर्ने हो सासु र बुहारीको भने खुशी साथ उसको गुण-ढंग र रुप-रंग हेरेर आफैले रोजेर बिहे गरी बुहारी बनाएर ल्याएकी सासुलाई केही दिनमै उसमा अनेक कमी देखिन थाल्छन् । हिजो कपाल काटेर हिड्ने बुहारीको अब त्यही काटेको कपाल मन पर्दैन् । हिजो जुन गुण र ढंग हेरेर मन परेकी थिईन् आज तिनै बेढंगी लाग्न थाल्छिन् । हिजो तिनले पकाउने परिकारमा जुन स्वाद थियो आज त्यही बुहारीले पकाएका ती परिकार बेस्वादिला लाग्न थाल्छन् । यहां सम्म कि बुहारी बिरामी पर्दा काम नगर्नका लागि उसले नौटंकी गरेको लाग्छ । अनि आजभोलि बुहारी पनि कहां कम छिन् र बुढी सासुसंग घरका काम गराउंछिन् । सासुलाई मन नपर्ने खाना पकाएर राख्छिन् । उटपटांग लुगा लगाउंछिन् । जतिबेला पनि बजार हाट र आफन्तका गइहिल्छन् सापिंगमा फिजुलखर्ची गर्छिन् । यो सब हेरेर सासुलाई सहन गाह्रो हुन्छ र उनले सबै कुरा बारे छोरालाई कुरा लगाउंछिन् र सुरु हुन्छ कलह ।

माथिका कुरा पढ्दा ड्रामा शिरियलको कुनै इपिसोड हेरे जस्तै लाग्ने छ होला । तर अधिकांश ड्रामा शिरियल रियाल्टी बेस नै बनेका हुन्छन् । धेरैलाई लाग्ला कि म त यस्तो गर्दिन् म बहुत राम्री पत्नी छु संधै पतिलाई सहयोग गर्छु । म त यस्ती नन्द छैन् आफ्नी भाउजूलाई बडा माया गर्छु । म त यस्ती भाउजू छैन् आफ्नी नन्दलाई छोरी र साथी सरह स्नेह दिन्छु । म त यस्ती बुहारी छैन् आफ्नी सासुको खूबै हेरचाह गर्छु । म त यस्ती सासु छैन् आफ्नी बुहारीलाई छोरी सरह ठान्छु उसलाई छोरी सरह नै माया गर्छु । होला तपाई यहां भने जस्तै पत्नी, नन्द , भाउजू, सासु वा बुहारी हुनुहोला । तर समाजमा तपाई मात्र हुनु हुन्न यो समाजमा त अनेक भाव र अनेक स्वाभावका मनुष्य बस्दारैछन् । ती सबैको सोच, विचार व्यवहार, आचरण गुण एकनासका त हुदैन्न् नि । आर्थिक स्थितिभन्दा बढी चाहना र इच्छा मनमा राखिहाल्छौं । अनि अरुबाट उसको हैसियत र सामर्थ भन्दा बढी आशा अपेक्षा गरिहाल्छौं । आफ्नो मनमर्जी मुताबिक सबैलाई हिडेको हेर्न चाहंछौं ।

यस कारण जब तपाई हामी मनुष्य भएर जन्मेका छौं भने यो प्रतिस्पर्धी भावना , प्रतिद्वंद्वीपना र वैमनस्यतालाई आफुबाट टाढा राखेर आफ्नो निकट रहेका नाता सम्बध र त्यस सम्बन्धमा बांधिएका आफन्तलाई हेरौं । तपाईलाई सबमा राम्रो मनुष्य भेटिनेछ ।

चुनौती

मनुष्य भित्र रहेको भाव र स्वाभावले धेरै असर पार्छ ।  मनुष्य नै एउटा यस्तो जीव हो जसमा अनेक प्रकारका भाव र स्वाभाव रहेकाछन् । जसमध्ये १९ भन्दा बढी त उसको मुस्कानको भाव छ । तर उसले ती भावलाई छाडेर वैमनस्यता र प्रतिद्वन्द्वीपना तर्फ आफुलाई बढी आकर्षित गरेको हुन्छ ।अरुबाट आशा अपेक्षा राख्नु, आफ्नो इच्छा अनुसार संसार चलाउन खोज्नु  यही भाव र स्वाभावबाट आफुलाई मुक्त गर्न नसक्नु मनुष्यका लागि ठुलो चुनौतीको रुपमा रहेकोछ । यिनै कारणले परिवारमा कलह र तनाव सृजना हुन्छन् ।

सिकाइ

यसको कारण यो हो अरु जीवको तुलना मनुष्यमा लोभ,लालच , ईर्ष्या, देखासिकीपना  वैमनस्यता, प्रतिद्वन्द्वीपना र प्रतिस्पर्धा बढ्दै गइरहेको छ । जसले गर्दा आज हर मनुष्य असन्तुष्ट र तनावमा छ । यसकारण सन्तुष्टि र शान्ति प्राप्तिका लागि मनुष्यले वैमनस्यता त्याग्नु अति आवश्यक छ ।

गर्नुपर्ने पहल

हामीले विश्व युद्ध विजय हुने सरह धेरै केही गर्नु पर्दैन् । केवल आफुलाई अवस्था र परिस्थिति अनुसार ढाल्न सक्नुपर्छ । मनुष्य लाई तनाव र असन्तुष्टीबाट मुक्ति का लागि अरुले केही गर्नै सक्दैन् गर्ने भनेको मनुष्य स्वयंले हो । उसले आफ्नो चाहना र इच्छालाई आफ्नो आर्थिक स्थिति मुताबिक राख्न सिकौं । अनि अरुबाट उसको हैसियत र सामर्थ भन्दा बढी आशा अपेक्षा नराखौं ।

परिकल्पना

जब हामी आफुलाई हरेक परिस्थितिमा ढाल्न सिक्नेछौं । आफ्नो आर्थिक स्थिति अनुसार आफ्नो इच्छा र चाहनालाई समेट्न सिक्नेछौं । अरुको दुखसुख बुझ्छौं दुखमा साथ दिनेछौं दुख बाट्छौं सुखमा खुशी साट्नेछौं । अरुबाट आशा अपेक्षा गर्नुको सट्टा उसको अवस्था बुझेर सहयोग गर्नेछौं । जब आफ्नो मनबाट वैमनस्यतालाई सदाका लागि बिदा गरिदिन्छौं । तब एक असल व्यक्तित्वको जन्म हुनेछ । यसरी एक एक गरी सबै असल हुदैं जादां समाज सभ्य शान्तिपूर्ण र असल हुनेछ । सबै आफ्नो जीवनसंग सन्तुष्ट हुनेछन् । हामी सबैको घरमा खुशहाली हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया