नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक कुमार बर्माले आफुसँग सरोकारनै नराख्ने विषयमा जोडेर चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
आइतवार केही अनलाइन तथा सामाजिक सञ्जालमा आफ्नो बारेमा उठाइएका टिप्पणीहरुप्रति आधिकारिक धारणाका लागि प्रस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् । उनले घटनाबारे जानकारी दिंदै भनेका छन्, नेपालगन्ज उपमहानगरपालिकाभित्र संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगन्जद्वारा निर्माणाधिन सडकहरु मध्ये वडा नं। १८ को बाईपास रोडमा नेपाल टेलिकमको तार विस्तार प्रयोजनका लागि ठेकेदारले खाल्डो बनाई छाडेको विषयमा समाचारदाताले आफुलाई अनाहकमा जोडियो । टेलिकमको प्राविधिक विषय भएका कारण वडा कार्यालयले बारम्बार सो खाल्डो पुर्नका लागि टेलिकम कार्यालय र निर्माण ब्यवसायीलाई ताकेता गर्दै आईरहेको प्रसंग जोड्दै वडाध्यक्ष वर्माले सडकको खाल्डो पुर्ने वडा कार्यालयले नभई टेलिकमको भएको यथार्थ नबुझेर वडा कार्यालयको कमजोरी देखिने गरि समाचार ल्याइएको गुनासो गरेका छन् ।
सत्यतथ्य नबुझी किन समाचार प्रकाशन गरेको, तपाईको विरुद्धमा कानुनी उपचार किन नखोज्ने भन्दै गरिएको प्रश्नलाई सम्बद्ध सञ्चारकर्मीले धम्कीका रुपमा परिभाषित गरेको टिप्पणी वडाध्यक्ष बर्माको छ । कसैलाई धाक धम्की नदिइएको भन्दै आफु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदैब सम्मान राख्दै आएको बताएका छन् । (हेर्नुस् विज्ञप्ति)

समग्र घटना प्रक्रिया विरुद्ध नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल जान लागेका वडाध्यक्ष दीपक कुमार बर्माले भने, धम्की हो भने प्रमाण दिउन्, म कारबाही भोग्न तयार छु, होइन भने स्वतन्त्रताका नाममा स्वच्छन्दता स्वीकार्य हुन्न ।
टेलिकमले गरेको कामको लापरबाहीमा वडालाई जोडेर वडाध्यक्ष बर्माको तस्विरसहित समाचार आएपछि आफ्नो चरित्र हत्या भएको ठम्याइ उनको छ । उनले त्यसविरुद्ध आफु कानुनी उपचारमा जाने बताएका छन् ।
घटनाबारे प्रेस युनियन नेपाल बाँके र प्रेस संगठन बाँकेले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
नीलखबरले सडकको बीचमा बेवारिसे प्वालबारे लेखेको एउटा समाचारमा वडाध्यक्ष बर्माले संवाददाता संगीता पाठकसँग गरेको संवादलाई धम्कीका रुपमा सम्बन्धित सञ्चारले परिभाषित गरेको छ भने त्यसबारे लेखिएको समाचारका कारण वडाध्यक्ष बर्माले आफ्नो चरित्र हत्या भएको गुनासो गरेका छन् । वडाध्यक्ष बर्मा त्यसविरुद्ध पत्रकार महासंघ र प्रेस काउन्सिल जान लागेको बताए । धम्की हो भने प्रमाण दिउन्, म कारबाही भोग्न तयार छु, बर्माले भनेका छन्, होइन भने स्वतन्त्रताका नाममा स्वच्छन्दता स्वीकार्य हुन्न ।