साउदीबाट नेपालीको गुहार, घर फर्किन पाउँ

बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका एक नेपालीले जीवन रक्षाको माग गर्दै स्वदेश फर्किन गुहार लगाएका छन् । दुई महिनाअघि साउदी पुगेका बाँकेको खजुरा ६ उढरापुर, पुरैनाका हसमत अली शेख आफुलाई गलत काममा लगाइँदा बिरामी परेको भन्दै घर फर्किन गुहार लगाएका हुन् ।


दैनिक नेपालगन्जको सम्पर्कमा आएका हसमतले साउदीस्थित स्तरीय होटलमा वेटरका लागि लगिएका आफुहरुलाई घरेलु कामदारका रुपमा लगाइएपछि शुरु भएको मानसिक तनावले बिरामी पारेको उल्लेख गरेका छन् । विभिन्न एजेन्ट हुँदै ललितपुर जावलाखेलस्थित अक्सफोर्ट इन्टरनेशनलबाट साउदी पुगेका हसमतले तत्काल फर्किन नपाएर उत्पन्न तनावले निकै थलिएको भन्दै उपचार समेत नभएकोले ज्यानै जान सक्ने जोखिम औल्याएका छन् । रुँदै उनले दैनिक नेपालगन्जमा पठाएका अडियो सन्देशमा सरोकारवालाहरुले छिट्टै घर फर्कान सहयोग गरिदिन अनुनय विनय गरेका छन् ।
१ लाख ५५ हजारबढी खर्च गरेर साउदी पुगेका हसमतले एजेन्टले भनेजस्तो काम नपाएपछि १० दिनसम्म भोकै बस्नु परेको दुखसो पनि गरेका छन् । जिल्लास्थित एजेन्टलाई आफु घर फर्कन चाहेको बताइसकेका उनले त्यसो भनेदेखि एजेन्ट सम्पर्क विहीन भएको बताए । उनले दिएको सम्पर्क नम्बरमा दैनिक नेपालगन्जले पटक पटक फोन गर्दा उठाइएन । उक वर्षअघि कतारबाट नेपाल फर्किएपछि स्थानीय एजेन्ट हसमतसँगै अरुलाई पनि त्यसरी फँसाएको दावी गरे । उनीहरुलाई शुरुमा दिइएको कागजपत्र बीचैमा फेरबदल गरि दलालले निकै जालसाजी गरेको गुनासो हसमतको छ ।
परिवारलाई एजेन्टविरुद्ध कानुनी उपचारमा जान आग्रह गरेका उनले आफु निकै अशक्त हुँदै गएकाले जतिसक्दो छिटो घर फर्काउन सम्बद्ध सबैसँग सहयोगको गुहार लगाइरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया