
बाहिरबाट नक नक गर्दै आवाज आउँछ । मन्द अनि सुस्त गतिमा । केही छिनमै सुतली बम फुटेझैँ विष्फोट हुन्छ । भूकम्पको झट्काझैँ । मन चसक्क हुनपुग्छ । कोभिड आयो रे, कोभिड आयो रे ! कोभिड….। ए कोभिडको भ्याक्सिन । आकाश पाताल सर्वत्र खुसी छाउँछ, अनि आशाका किरणहरु पलाउन थाल्छन् । हजुरबा मुसुक्क मुस्कुराउनु हुन्छ । त्यो मन्द मुस्कान डाँडामाथिको जून भएपनि समाज परिवर्तन गर्ने चाहना छ, मानौँ छोराछोरी नातिनातिनाका मार्गदर्शक बनी उन्नति प्रगति हेर्ने रहर ।
कोभिड शिल्ड भ्यक्सिनको सपना भनौँ वा जपना, फ्रन्ट लाइनमा बसेर काम गर्नेले लाउन पाउने रे । डाक्टर, शिक्षक, कर्मचारी, जेष्ठ नागरिक….अनि को को हो को को । अनुत्तरित प्रश्नले गिज्याउँछ । बा रमाउँदै पहिलो डोज लगाउँदा दोस्रो पनि लगाउने सपना गोजीमा बोकेर फर्कनुभएको थियो । अनायास यत्रतत्र आँधी चल्यो, दोस्रो भ्याक्सिन । कोभिड आयो रे ! कोभिड …के हो त्यो ? फेरि उही नातावाद, समाजवाद, झोलावाद, निरङ्कुशवाद, फ्रन्टलाइनवाद, कति हो कति ।
बाले निराशाका साथ भन्दै हुनुहुन्थ्यो, कोभिड शिल्ड नआउने भयो रे । यो पनि कस्तो नाताबाद, कृपाबाद चिन्ने रहेछ । पहिलो डोज लगाएको तीन महिना कट्ने बेला भयो, म्याद पनि सकिने भयो । फोनको कुरा नसकिँदै नेपथ्यबाट कोभिड शिल्ड, कोभिड शिल्ड …..भन्दा भन्दै आवाज नै हरायो । कुरा पूरा हुन नपाउँदै बूढी आमाले हतास हुदै भन्नुभयो, नानी ! कोभिड शिल्ड आयो ? निशब्द म । म पनि फ्रन्ट लाइनमा काम गर्ने मानिस, सूई पाएको छैन भन्न लाजले कुरीकुरी भएँ । मेरो मौनताको अर्थ बुझे नबुझेको पत्तो पाइनँ, मुस्कुराई रहेँ । म पनि फ्रन्ट लाइनको खोज गरिरहेकी, सायद खोज गर्दा सूचनाहरु, तथ्याङ्कहरुको अझै कमी रहेछ भनी म नतमस्तक भएँ ।
ओहो ! पहिले पहिले त जेष्ठ नागरिकको हक, अधिकारको संरक्षण गर्ने राज्यको मात्र कर्तव्य नभई सबै सचेत नागरिकको हो भनी बुलन्द आवाजहरु गुन्जन्थे । बूढापाकाहरुलाई खाना खुवाएका, फलफूल बाँडेका तस्बिरहरुले प्रशस्त ठाउँ ओगटेको देख्दा जो कोहीको आँखा रसाउने गथ्र्यो । जेष्ठ नागरिकको अधिकार रक्षा गर्ने धेरै सरकारी संयन्त्र संस्थाहरु च्याउ उम्रिएझैँ थिए । खै, अहिले कता बाटो बिराएछन् ? कोरनाको डर र त्रासले गर्दा आवाज विहीन पो हो की ? जवाफ अनुत्तरित छ । देशमा दर्जनौँ आयोगहरु पनि स्थापना गरिएका छन्, तिनीहरुमध्ये कति त जेष्ठ नागरिक नै छन् । उनीहरु त पक्कै पनि फ्रन्ट लाइनमा परे । हामीले त भ्याक्सिन लगाइसक्यौँ, हा. हा. हा…, तर अरु ?
इतिहास दोहोरिन्छ भन्ने सुनेकी थिएँ, प्रजातन्त्र र समाजवादका नारा साँच्चै नारामै सीमित भए । उही निरङ्कूशता, उही आत्मकेन्द्रितता र बेथिति । आमाबाहरु बेसार पानी, खाँदा खाँदा थाकिसकेका छन् । अब फेरि भ्याक्सिन दिएका फोटाहरु सामाजिक सन्जालमा अपलोड हुने पर्खाइमा छन् । यस्ता रमाइला क्षणको अनुभूित भएता पनि दोधार मनको अघि अर्को प्रश्न तेर्सिन्छ, आआफ्ना अनुकूलका सबै कामहरु कतै थाँती रहे…..। जनतालाई सेवा प्रवाह गर्न हतार संघ, संस्था, आयोगहरु, मित्रराष्टꞈमा कार्यरत महामहिम राजदूतहरु, ओहो कति धैरै, सबै हामीलाई सेवा दिन तत्पर । विना योजना काम गर्दा हुने हानि नोक्सानीको क्षतिपूर्ति कसले दिन सक्छ ? यसको जवाफदेही को हो, यसको उत्तर खोज्नु छ । कस्तो विडम्बना । यी हाम्रा आमाबा, बाजेबज्यैहरु पहिलो कोरोनालाई जितेर दोस्रो खोपको पर्खाइमा छन् । आफ्ना सन्तानलाई हेरेझैँ टुलुटुलु हेर्दै छन् । परदेश गएका छोराछोरी कहिले फर्केलान् भनी हेरिरहेझैँ कोभिड शिल्डको बाटो हेरिरहेका छन् । हरे यो मेरो देश !