भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणलाई लिएर आन्दोलित नेपाल चिकित्सक संघ सहितका स्वास्थ्यकर्मी सम्बद्ध संस्थाहरुका मागलाई सम्बोधन गर्दै सरकारले कडा कानुन ल्याएको छ । आन्दोलनरत चिकित्सकहरुले त्यसको स्वागत गरेका छन् ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने गरी सरकारले अध्यादेश ल्याएको हो । अध्यादेश अनुसार, अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ ।
कोरोना संक्रमितको उपचारका लागि खटिएका नेपालगन्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो । त्यसका लागि नेपाल चिकित्सक संघले एक साताको अल्टिमेटम समेत दिएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा अस्पतालका साथै संक्रामक रोगको निदान र उपचारका लागि सञ्चालित होल्डिङ सेन्टर, क्वारेन्टिन, आइसोलेसनलाई समेत स्वास्थ्य संस्थामा राखिएको छ । सरकारले हामीले माग गरे जस्तै कानुन ल्याएको छ, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले दैनिक नेपालगन्जसँग भने, अब ढुक्कसँग स्वास्थ्यकर्मीले काम गर्ने वातावरण बन्छ ।
अध्यादेशअनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा आगजनी/तोडफोड/तालाबन्दी/घेराउ र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट/धम्की/गालीगलौज/अपमानजनक व्यवहार गरे दण्डनीय हुनेछ । भेरीमा गत जेष्ठ १३ गते विहीवार राती एकजना बिरामीको उपचारका क्रममा ज्यान गएपछि स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण भएको भन्दै अस्पताल अगाडी एकसातादेखि स्वाथ्यकर्मीहरु आन्दोलित थिए ।
कडा कानुनले स्वास्थ्यकर्मीको मनोबल बढेको चिकित्सक संघका अध्यक्ष डा. कर्णको भनाइ छ । यसले स्वास्थ्यकर्मीहरुमा मनोमानी बढ्यो भने नि ? डा. कर्णले त्यसो हुनै नसक्ने टिप्पणी गर्दै भने, कुनै पनि स्वास्थ्यकर्मी विरामी प्रति गैर जिम्मेवार बन्नै मिल्दैन । अध्यादेशसँगै नेपालगन्जमा एकसातादेखि आन्दोलित स्वास्थ्यकर्मी खुशी भएको प्रतिक्रिया संघर्ष समितिका संयोजक डा. कर्णले दिए ।
ढुक्कसँग काम गर्ने वातावरणका लागि कडा कानुन