ढुक्कसँग काम गर्ने वातावरणका लागि कडा कानुन

भेरी अस्पतालमा गत साता विहीवार राती स्वास्थ्यकर्मी आक्रमणको घटनालाई लिएर समग्र स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानुन माग गरिएको छ । त्यसका लागि नेपाल चिकित्सक संघले देशव्यापी रुपमै एकसाताको अल्टिमेटम समेत दिएर अध्यादेशमार्फतनै कानुन ल्याउन दबाब दिएको हो ।

नेपालगन्जमा संघका अध्यक्ष डा. विनोद कर्णको संयोजकत्वमा सात सदस्यीय संघर्ष समिति गठन गरि हरेक अपरान्ह ५ बजेदेखि ६ बजेसम्म भेरी अस्पताल परिसरमा प्रदर्शन गरिंदै आएको छ । संघर्ष समितिका संयोजकसमेत रहेका नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. कर्णले नियमित काम गर्दागर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिंदै आएको बताए । संघका अध्यक्ष डा. कर्णले दैनिक नेपालगन्ज सँग कुराकानीमा भनेका छन्, हाम्रो विरोध प्रदर्शन भनेको आउँदा दिनमा यस्ता घटना नदोहोरिस् भनेर हेल्थ प्रोटेक्सन एक्ट आओस् भनेर दबाबका लागि हो ।

दिनभरि काममा खट्ने चिकित्सक देखि नर्ससम्मका सबै स्वास्थ्यकर्मी दिनहुँ एक घण्टा आफ्नो सुरक्षाका लागि कानुन निर्माणको दबाबका लागि दिने गरेको बताएका छन् । डा. कर्णसँग गरिएको कुराकानी आजको
दैनिक नेपालगन्ज ले प्रकाशित गरेको छ ।

अहिलेको आन्दोलन केन्द्रको कि यहाँको हो ?
अहिले केन्द्रले र हामीले दिएको दबाब भेरीको घटनापछि उत्पन्न परिस्थितिबाट हो । घटना पछि हामीले केन्द्रबाटै दबाब दिएका हौं, दोषीलाई कारवाही होस् भनेर । र, पटकपटक यो घटना घटिरहेको छ, पहिले पनि घटेको हो । कडा कानुन भएन भने पछिका दिनमा पछि घट्छ । पछिका दिनमा नहोस् भनेर हामीले दबाब दिएको हो । यही दबाबकै लागि केन्द्रले पनि दबाब दिइरहेको हो ।

भेरीका जस्तो घटना देशभरीका विभिन्न अस्पतालमा भएको यसअघि पनि आएको छ । तर, भेरीको घटनालाई त्यति गम्भीरतापूर्वक किन लिइयो ?
म पहिला काठमाडौंमा काम गर्दथें । एउटा यस्तै गम्भीर घटनाले गर्दा त्यहाँ पनि नर्सिङ स्टाफमाथि हातपात भएको थियो । त्यहाँ पनि दुई तल्लाबाट नर्स हाम फालेका थिए । तर, दुर्भाग्यवश स्पाइन फ्याक्चर भएर अपाङ नै भइन् । यहाँ पनि त्यही प्रकृतिको छ । लखेटेको छ, क्याबिनको ढोका फोडिएको छ, बाथरुम भित्र लुक्दा पनि त्यहाँको ढोकामा लात्तिले हानिएको छ, फुटाल्ने कोशिश गरेपछि झ्याल फाल्ने अवस्था आएको हो । यस्ता प्रकारका घटना पहिला पनि घटेका हुन् । तर, कडा कारवाही नभएपछि दण्डहीनता मौलायो, जसले यस्ता घटना दोहोरिइरहेको छ ।

कानुन हुँदैमा कारवाही हुन्छ भन्ने के ग्यारेन्टी छ ? अहिले पनि कानुन त छ नि !

कानुन छ । अहिले माग गरिरहेको कानुन बन्यो भने पनि यस्ता घटना घट्दैनन् भन्ने त छैन । तर, अलिकति कडा कानुन भयो भने चाहीँ मान्छेले स्वास्थ्यकर्मीलाई हात हालिहाल्ने चाहीँ नगर्लान् । घटना हुनसक्छ तर कमी आउला र मान्छे अलिकति भएपनि डराउलान् ।

ज्यान जोगाउन खटिने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुको कारण के हो ? कहीकतै स्वास्थ्यकर्मी पनि दोषी होलान् कि भनेर आफुमाथि पनि हेर्ने गर्नुभएको छ ?

हामी पनि मान्छे हो । कमीकमजोरी सबैमा हुन्छ । भेरीको घटना जुन घट्यो । त्यसको छानबिन समितिमा म आफै पनि थिएँ । यो घटनामा चाहीँ चिकित्सकको लापरवाही भनौं, उपचारमा कतै कमी, कमजोरी देखिएन । हामीले जसले घटना घटाउनु भयो मृतकका भाई उहाँसँग पनि हामीले कुरा गरेका थियौं । मृतकका आफन्तले स्वास्थ्यकर्मीको कमी कमजोरी भएको भए कहीँ न कही कम्प्लेन गर्थे होलान् । चिकित्सक आएन, नर्स आएन भनेर कसैले कम्प्लेन गरेको पाएनौं । अहिलेको अवस्थामा चिकित्सकहरु दत्तचित्त भएर काममा लागेका छन् । विकसित मुलुकमा पनि कोरोनाका कारण मानिसहरुको ज्यान गएको छ । ३७ लाख मानिसले ज्यान गुमाएका छन् । हाम्रो जस्तो देशमा साधन स्रोत पटक्कै छैन । देशभर ८\१० हजार सिकिस्त कोरोनाका बिरामी अस्पतालमा भर्ना हुने बित्तिकै अक्सिजन समेतको आपूर्ति हामीसँग नपुग्ने अवस्था रहेछ । कुनै व्यक्तिको मृत्यु हुन्छ भने त्यसलाई के भन्न सकिन्छ । मृत्यु पक्कै पनि राम्रो होइन । तर, हामीले कोशिश गर्दागर्दै पनि कतिपय अवस्थामा मानिसलाई बचाउन सकिंदैन ।

जेल विथ आउट बेल जस्तो कानुन भन्नु हुन्छ । चिकित्सककै लापरवाहीकै कारण ज्यान गएको कयौें घटनाहरु बाहिर आउने गरेका छन् । के नयाँ कानुनले त्यसखालका घटनालाई अझ प्रश्रय पुग्छ कि यहाँले भनेजस्तो चिकित्सकले अझ विश्वासका साथ उपचार गर्ने वातावरण हुन्छ ?

दुवै कुरा हुन्छ । एउटा हामी भयरहित त हुन्छौं । चिकित्सकले गल्ती गर्दैन, स्वास्थ्यकर्मीले गल्ती गर्दैन भनेका छैनौं । तर, हातपात हुनुभएन । हातपात गर्यो भने कम्तिमा हातपात गर्ने मान्छे हिरासतमा जान्छ, कानुनी प्रक्रिया चल्छ । छानबिन हुन्छ । छानबिनमा दोषी पाइयो भने चिकित्सकलाई पनि दण्ड हुन्छ । हामीले खोजेको पनि त्यही हो । चिकित्सकबाट गल्ती हुँदैन भन्न खोजेको होइन हामीले । दोषी छ भने चिकित्सकलाई पनि कारवाही हुनुपर्दछ ।

संघले आफ्ना सदस्य चिकित्सकहरुबाट गल्ती भए, भएनन् भनेर हेर्ने गरेका त्यस्ता उदाहरण पनि छन् ?
कतिपय कुराहरुमा हामी कहाँ पनि उजुरी आउँछन् । यहाँ यो भएन, त्यो भएन भने । म्यानपावर नभएको भनेर उपचारमा समस्या भयो भनेर पनि आउँछन् । त्यसमा हामीले आन्तरिक छलफल गरेर धेरै ठाउँमा सल्ट्याउने गरेका छौं । किनभने हामी कहाँ म्यानपावरको पनि कमी छ । त्यसले गर्दा पनि समस्या उत्पन्न हुन्छ ।

भेरीको केशमा पनि राजनीति बढी भयो भन्ने चेतावनीयुक्त ढंगले अस्पताल विकास समितिका अध्यक्षले दिएको भन्दै वक्तव्य आएछ त ! घटनाका दोषीलाई पक्रेर कारवाही प्रक्रिया अगाडि बढिरहेको पनि छ नि । अब के का लागि अब प्रदर्शन र अल्टिमेटम ?

भेरी अस्पताल विकास समिति अध्यक्षको यो गैर जिम्मेवारी कार्य हो । उहाँले हेर्नुपर्छ कि अस्पतालमा जुन प्रदर्शन भैरहेको छ त्यो शान्तिपूर्ण छ । त्यहाँ कुनै हुलहुज्जत भएको छैन । कोही कामबाट भागेको छैन । काम गर्दागर्दै एउटा शान्तिपूर्ण विरोध प्रदर्शन मात्रै हो । त्यसलाई पनि अर्को ढंगले हेरेर राजनीतिक रंग दिनु उचित भएन । उहाँ अस्पताल विकास समितिको अध्यक्ष भएको हिसाबले त्यति गर्नु उचित भएन ।
हामीले गरेको शान्तिपूर्ण विरोध प्रदर्शन गरेको यो घटनालाई लिएर कारवाहीको दबाबका लागिमात्रै होइन । यो घटनामा कारवाहीका लागि त प्रक्रिया अगाडि बढिसकेको छ । जाहेरी परेको छ व्यक्तिगत र संस्थागत रुपमा । त्यसका लागि प्रदर्शन होइन । हाम्रो विरोध प्रदर्शन भनेको आउँदा दिनमा यस्ता घटना नदोहोरिस् भनेर हेल्थ प्रोटेक्सन एक्ट आओस् भनेर दबाबका लागि हो ।

कानुन निर्माणका लागि कस्ता दबाबका कार्यक्रम भइरहेका हुन् ?
कानुनी निर्माणका लागि हामीले अहिले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिरहेका छौं । हामीले सात दिने अल्टिमेटम पनि बुझाएका थियौं । पटकपटक यस्तो घटना हुन्छ । स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिने खालको कडा कानुन आउनु पर्यो । हरेक पटक त्यसमा बेवास्ता भएको छ । यसपटक हामीले जेल विथ आउट वेलको प्रस्तावना पारित गराउन हाम्रो आन्दोलन हो । हाम्रो माग पूरा भएन भने आगामी दिनमा थप सशक्त आन्दोलनको घोषणा गर्दछौं । अहिलेका दिनमा हामीले काम पनि सुचारु होस् विरोध पनि निरन्तर रहोस् भनेर गरिरहेका छौं, पछिका दिनमा सशक्त कार्यक्रम ल्याउँछौं ।

कोरोनाका बिरामीको मृत्यु दर अस्वाभाविक भयो भनेर टिप्पणी भैरहेको छ नि । अधिकांस मृत्युका केश राती भए भनेर आइरहेको छ । मृत्युका घटना किन बढ्यो, कसरी घटाउने होला भनेर वरिष्ठ चिकित्सकहरु बीच छलफलको अभ्यास भएको छ त संघबाट यो बीचमा ?

छ, हाम्रो विहान १० बजे एनएमए (नेपाल चिकित्सक संघ) को कार्यालयमा यसबारेमा छलफल भैरहेको हुन्छ । जहाँसम्म रातीको मृत्युदर संयोग मात्र हुनसक्ला । दिउँसो पनि मृत्यु हुने गरेको छ । राती नै मात्र किन हुन्छ भन्नेबारेमा कही भन्न सकिएन । तर, मृत्यु कुनै पनि बेला भैरहेका छन् । हामी समय समयमा एनएमएमा चिकित्सकहरु बीच छलफल भैरहेको हुन्छ । तर, रुटिन नै बनाएर छलफल भने गरिएको हुँदैन ।

यो बेलामा चिकित्सकहरु आफै पनि अनुसन्धानकर्ता हुन् । एनएमएले कसरी डेथरेट कम गर्न सकिन्छ भनेर छलफलको पहल लिन सक्छ नि है ?

सक्छ । बढी मृत्यु होम आइसोलेसनमा बसेकाहरुको भएको छ । अस्पताल आउनेको उपचार गरेर हामीले अर्लि ट्रिटमेन्ट गरेर ज्यान पनि बचाएका छौं । तर, होम आइसोलेसनमा बेसका कतिपयले लक्षण देखिएपनि मेडिकलमा गएर टाइफाइडकै औषधीहरु खाएको पनि देखियो । अथवा टाइफाइड चेक गराएर औषधी खाएको पनि देखियो । ज्वरो आएको बिरामीलाई टाइफाइड चेक गरियो भने टाइफाइड पनि देखिन्छ । तर, कोभिड तिर ध्यान बिरामीले दिंदैन टाइफाइड भनेर । सुरुको ४\५ दिन टाइफाइड भनेर निकालिदिन्छ । यसले कोभिडको लक्षणको उपचारमा ढिलाई हुन्छ । त्यो नहोस् भनेर हामीले २३ वटै वडामा नेपालगन्ज उपमहानगरपालिकाको समन्वय चिकित्सक खटाएका थियौं । होम आइसोलेसनमा बसेकालाई उचित सुझावका लागि एनएमएले चिकित्सक वडामा खटाएको थियो । त्यसले पनि धेरै सहयोग पुगेको छ ।

एनएमए भनेको चिकित्सकहरुको संगठन हो । चिकित्सकको सुरक्षा पनि हामीले ध्यानमा राखेका छौं । एमएमएले चिकित्सकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पीपीइ, सेनिटाइजर संस्थागत रुपमा दिएका छौं । चिकित्सकलाई हामीले स्पष्ट रुपमा छलफल गरेर भनेका पनि छौं, जस जसलाई जे जिम्मेवारी दिइएको छ र आफ्नो मातहतमा खटिएकालाई गाइड गरेर कार्यविधि बनाएर त्यही प्रोटोकलमा काम गर्न निर्देशित गर्नु भनेका छौं । त्यो भएको पनि
छ ।

यो महामारीको अवस्था, काममा समर्पित हुने बेला आन्दोलन भन्ने शब्द जनतामा निराशा हुन्छ कि ?
मैले पहिले पनि भनेको छु र अहिले पनि भन्छु, यो आन्दोलन होइन, पहिले आन्दोलन हुँदा इमरजेन्सी बाहेक अन्य सेवा ठप्प हुन्थ्यो, अहिले कुनै काम पटक्कै छाडेका छैनौं । शान्तिपूर्ण विरोध प्रदर्शन हो । काम गर्ने समय ५ बजेसम्म हो । त्यसपछि हामीले ५ देखि ६ सम्म मात्रै विरोध प्रदर्शन गरेका छौं । र, त्यसमा पनि इमरजेन्सीमा बिरामी हेर्न जानेलाई हामीले रोकेका छैनौं । चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको कुनै पनि काम नरोकेर आफ्नो सुरक्षाका लागि राज्यले एउटा कानुन बनाओस् भनेर विरोध प्रदर्शन मात्र गरेका हौं । कानुन स्वास्थ्यकर्मीको मनोबल बढाउने उद्देश्यले पनि हो । कानुन सम्पूर्ण स्वास्थ्यकर्मीका लागि भएकाले सबै एकै ठाउँमा उभिएका हौं ।

यो बेला चिकित्सक संघको अध्यक्षका हैसियतमा तपाईंको केही थप कुरा ?
यो महामारीको विषम परिस्थिति हो । यसमा सम्पूर्ण स्वास्थ्यकर्मी आफ्नो जीउज्यान, परिवार छोडेर खटेका छन् । त्यसमा पनि विशेषगरी नर्सिङ स्टाफ चिकित्सक भन्दा पनि बढी समय दिएर खट्नु भएको छ । उहाँ एउटा नारी हो, एउटा छोरी, आमा पनि हो । ती सबै कुरालाई त्यागेर बिरामीको सेवामा खटिनु भएको छ । हामीसँग भएको स्रोत साधनले भ्याएसम्म बिरामीको ज्यान बचाउने कोशिश गरेका छौं । हाम्रो मनोबल खसाउने काम नगरिदिनुहोला । हामी स्वास्थ्यकर्मी कहिले पनि यो चाहँदैनौं तपाईको बिरामीको ज्यान जाओस् । हामी बिरामी ठिक भएर घर जाउन् भन्ने चाहन्छौं । हाम्रो मनोबललाई उच्च राख्नुस् र हामीलाई सहयोग गर्नुस् । पूर्वाग्राही ढंगले यो नसोच्नुस् कि नर्स र चिकित्सकको लापरवाहीले ज्यान गयो भनेर । हामी तन मन, धनले तपाईहरुको सेवामा समर्पित छौं ।

अस्पतालको मूलद्वार दिनहुँ प्रदर्शन (तस्विर सहित)

प्रतिक्रिया

प्रतिक्रिया