अन्योलमा शैक्षिक सत्र

गत बर्ष कोरोना संक्रमण फैलिएपछि खल्बलिएको शैक्षिक सत्र यस बर्ष पनि ट्रयाकमा आउन नसक्ने भएको छ । गत बर्ष चैत्र ११ गते कोरोना संक्रमणका कारण लकडाउन भएपछि आन्तरिक मूल्यांकनबाटै विभिन्न कक्षाका परीक्षाफल प्रकाशन गरिएको थियो ।

गत बर्ष देशभर एकै साथ लकडाउन भएको थियो । तर, यस बर्ष जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको सिफारिसमा एक स्थानीय तह वा जिल्लामा निषेधाज्ञा जारी रहेको अवस्था छ । यसले गर्दा देशभर एकसाथ लकडाउन भएको छैन । कुनै जिल्लाका विद्यार्थी लकडाउनमा हुँदा अर्को जिल्लाका विद्यार्थी विद्यालयमै अध्यापन गरिरहेको अवस्था समेत रह्यो ।

कोरोना कहरका कारण केन्द्रबाट सञ्चालित हुने कक्षा ११, १२ र एसइइ परीक्षा सञ्चालन हुन सकेका छैनन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०, ११ र १२ का लागि ३ वटा विकल्प मन्त्रालयमा सिफारिस गरिसकेको छ । कोरोनाका बेला भौतिक उपस्थिति हुन नसक्ने अवस्थालाई समेत परिकल्पना गर्दै बोर्डले शिक्षा मन्त्रालयलाई सुझाव दिएको हो ।

बोर्डले सामान्य अवस्था भएमा पहिले जस्तै परीक्षा सञ्चालन गर्न सुझाव दिएको छ । यद्यपि, अहिले पनि कोरोनाको संक्रमण रहिरहेकाले त्यो सम्भावना भने देखिंदैन । संक्रमण घटेमा होम सेन्टरमा लिखित सहित आंशिक वैकल्पिक परीक्षा गर्न सकिने पनि बोर्डले सुझाव दिएको छ भने परिस्थिति प्रतिकुल भएमा पूर्ण वैकल्पिक विधि प्रयोग गर्न सकिने छ ।

मन्त्री परिषद्को सोमबार भएको बैठकले यस बर्ष पनि एसइइ परीक्षा सञ्चालन नगरी आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । गत बर्ष पनि एसइइ हुन सकेन र आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । अब यस बर्ष पनि विद्यालयहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने छन् र इकाइले मूल्यांकन राष्ट्रिय परीक्षा बोर्डमा पठाउने भएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख राम सुरेश यादवले मन्त्रीपरिषद्को निर्णय प्राप्त गरिनसकेको बताउँछन् । उनले शिक्षा मन्त्रालयले एसइइ परीक्षा सञ्चालन नगरी आन्तरिक मूल्यांकनबाट परीक्षाफलको तयारी गर्ने निर्णय भैसकेको बताउँछन् । ‘अहिले परीक्षा सञ्चालन गर्न सकिने अवस्था रहेन’, उनी भन्छन्, ‘त्यसैले आन्तरिक मूल्यांकन गर्नु नै उचित हो ।’

कक्षा १ देखि १० सम्मको परीक्षा पनि यस बर्ष सञ्चालन हुन पाएन । गत बर्ष कोभिडका कारण कक्षा समयमै सञ्चालन हुन पाएन र शैक्षिक सत्र जेठसम्मका लागि सारिएको थियो । तर, यसबर्ष पनि बैशाखबाटै बाँकेमा निषेधाज्ञा जारी भयो । ‘गत बर्ष समयमै शैक्षिक सत्र सञ्चालन हुन नपाउँदा यस बर्ष जेठसम्म सारेर नयाँ शैक्षिक सत्र असारबाट सञ्चालन गर्ने योजना थियो’, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादव भन्छन्, ‘यसबर्ष पनि कोरोनाले अवरोध गर्यो ।’

बाँकेमा कोरोनाका कारण विद्यालय बन्द भएपनि केही निजी विद्यालयले प्रविधिको प्रयोग गरी विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छन् । तर, सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले विद्यालय बन्द भएपछि अध्यापन गर्न पाएका छैनन् । गत बर्ष रेडियो, टेलिभिजन र अन्य विधिबाट विद्यार्थीलाई पढाइएको थियो । यस बर्ष गत जेठ १६ गतेदेखि टेलिभिजन मार्फत विभिन्न विषयको कक्षा भने सुरु भएको छ ।

एसइइ, कक्षा ११ र १२ भन्दा तल्लो परीक्षा भने स्थानीय तह र विद्यालयले सञ्चालन गर्दछन् । त्यसैले यस बर्ष विद्यार्थीको मूल्यांकन कसरी गर्ने भन्ने निर्णय स्थानीय तहको हातमा रहेको छ । यसबर्ष कक्षा १ देखि ९ सम्मको विद्यार्थीको परीक्षाफल पनि अर्धबार्षिक र त्यसअघिको परीक्षा तथा हाजिरीको आधारमा प्रकाशन गर्ने तयारीमा स्थानीय तह रहेका छन् । बाँकेका अधिकांस स्थानीय तह स्तरीय कक्षा ८ को परीक्षा पनि सञ्चालन भएको छैन ।

नेपालगन्ज उपमहानगरपालिकाले कक्षा ८ (आधारभूत) तहको परीक्षा सञ्चालन नगर्ने निर्णय गर्दै सोमबार सूचना जारी गरेको छ । उपमहानगरपालिकाले त्यसका लागि आधारभूत तह विद्यार्थी मूल्यांकन तथा नतिजा प्रकाशन कार्यविधि २०७८ जारी गरेको छ । जसअनुसार, विद्यालयमा विद्यार्थी मूल्यांकन समिति गठन गरिने छ जसले विद्यार्थीलाई प्राप्तांक दिनेछ । विद्यार्थीले त्रैमासिक परीक्षाको प्राप्तांक ३० प्रतिशत, अर्धबार्षिकको ५० प्रतिशत गरी ८० पूर्णाकंक कायम गरी नम्बर पाउनेछन् । अर्धबार्षिक परीक्षा नभएका विद्यालयमा आन्तरिक मूल्यांकन नै आधार हुनेछ । विद्यार्थीले विद्यालयको हाजिरी, गृहकार्य, नेतृत्व क्षमता, अनलाइन कक्षा सहभागिताका आधारमा नम्बर प्राप्त गर्न सक्नेछन् ।

नेपालगन्जमा कक्षा ८ बाहेक १ देखि ९ कक्षा सम्मका विद्यार्थीका लागि भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन नहुने भएको छ । नेपालगन्ज उपमहानगपालिकाले ८ बाहेक १ देखि ९ कक्षाको हकमा पनि यसअघिको परीक्षा, आन्तरिक मूल्यांकन, विद्यार्थी हाजिरी, अनलाइन कक्षामा सहभागिता लगायतलाई आधारमानी परीक्षाफल प्रकाशिन गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले जिल्लाभरका स्थानीय तहसँग परीक्षाका सम्बन्धमा समन्वय भएको बताउँछन् । ‘अहिले भौतिक रुपमा उपस्थिति गराएर विद्यार्थीको परीक्षा लिने अवस्था छैन’, उनले भने, ‘त्यसैले स्थानीय तहले बनाएको विधि अनुसार नै विद्यार्थीको मूल्यांकन गरी नतिजा प्रकाशन हुनेछ ।’

बाँकेका सबै स्थानीय तहमा कक्षा १ देखि ९ सम्मको परीक्षाफल जेठ भित्रै प्रकाशनको तयारी भैरहेको छ । अहिले पनि कोभिड संक्रमण रहेकाले असारदेखि सुरु गर्ने भनिएको शैक्षिक सत्र अझै निश्चित भने नरहेको शिक्षकहरु बताउँछन् । ‘बालबालिका जोखिममा राखेर विद्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन’, शिक्षकहरु भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया