पृष्ठभूमि

महिलावादीहरु जब जब महिलाका सन्दर्भमा कुरा गर्छन् उनको पहिलो प्राथमिकता उसको अधिकार भनेर हुन्छ अर्थात महिला अधिकार । हो महिलाका अधिकारका बारे कुरा गर्नु गलत होईन् तर महिला अधिकारका कुरा मात्र गर्ने कि ती अधिकार स्थापित गराउन हरेक तवरले पहल  गर्नु र कर्तव्य पनि पालना गर्नुपर्ने कुरा गर्नु भन्ने विषय बढी महत्त्वपूर्ण हो । जसरी एउटा सिक्का दुईटा पाटा हुन्छन् त्यसरी मानवको जीवन सही ढंगले अगाडि बढाउन ती दुई पाटा हुन्छन् जसलाई अधिकार र कर्तव्य भनिन्छ ।
अहिले सम्म महिला शसक्तीकरणका नाममा चलाईएका अभियान, तालिम र परियोजनाहरुमा महिलाका अधिकारका पाठ मात्र सिकाइए जस्तैः अविवाहित छोरीको अधिकार, विवाहित छोरीको अधिकार, पत्नीका अधिकार, बुहारीका अधिकार ,सासुको अधिकार र आमाको अधिकार आदि । उनीहरुलाई अहिल्यै अविवाहित छोरीका कर्तव्य, विवाहित छोरीका कर्तव्य, पत्नीका कर्तव्य, बुहारीका कर्तव्य, सासुका कर्तव्य र एउटी आमाका कर्तव्यका कुरा गर्नै छुटाईयो ।

जब अधिकार र कर्तव्य सिक्काका दुई पाटा हुन् भने कर्तव्य पुरा नगरीकन खाली अधिकार मात्र माग गरियो भने परिवारमा कलह सृजना हुने गर्छ । कलह सृजना हुनु स्वाभाविक हो किनभने सिक्काको एक पाटाले सिक्का बन्दैन् सिक्कालाई सिक्का हुन दुई पाटा हुनै पर्छ । हामी ले बुझ्नु पर्नै कुरा पनि यही हो कि मात्र अधिकारका कुरा गरेर घरसंसार चल्दैन् । घर व्यवहार चलाउन कर्तव्य निर्वाह गर्नु पनि उतिकै जरूरी हुन्छ । जब महिला छोरी मात्र हुन्छिन् तब उनको अधिकार क्षेत्र र कर्तव्य फरक हुन्छ । जब उनी विवाह गर्छिन् तब उनको अधिकारका क्षेत्र र कर्तव्य  अझ् भिन्दै हुन जान्छ । जब एक महिला आमा बन्छिन् तब उनको अधिकार र कर्तव्यको क्षेत्रहरु अझै फरक हुन जान्छन् । जब ती महिला सासु बन्छिन् तब उनका अधिकारका क्षेत्र र कर्तव्य झन् फरक हुन आउंछ । आज हामी छोरी हुदांको अधिकार कर्तव्य का कुरा गर्दैनौं किनभने यो भुमिका महिलाका लागि सबै भन्दा सहज हुने गर्छ । आज हामी विवाह पश्चातका अधिकार र कर्तव्य बारे मात्रै चर्चा गर्नेछौं ।

हामीले अधिकार प्राप्त गर्न कर्तव्य निर्वाह गर्नु कति आवश्यक छ र यदि हामी कर्तव्य लाई दासता ठानेर त्यसबाट पन्छिन खोज्यौं भने भविष्यमा कस्ता समस्याहरुको सामना गर्न सक्नु पर्ने हुन्छ भन्ने विषयमा आजको बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा परिचर्चा गर्नेछौं । जस बारे सबैको बुझाईलाई प्रष्ट पार्न एउटा काल्पनिक उदाहरण पनि पेश गर्नेछौं । हुन त उदाहरण काल्पनिक हो तर यो धेरै महिलाहरुको जीवनसंग मिल्ने छ ।

हाम्रो परिवेश

समाजमा अहिले अरुको देखासिकी गर्ने होडबाजी छ फलानाले यस्तो गर्यो अब आफुले पनि गर्नुपर्ने भनी मानसिकता जनजनमा पलाईसकेछ । यहां सम्म कि बिहेबारीको कुरा गर्ने हो भने पनि फलानाले आफ्नो छोरीको बिहे फलानो उमेर सम्म गरेकोछैन् मैले किन गर्ने भन्नेहरु पनि कम छैन्न् । अनि फलानाको बुहारीले घरका काम गर्दैनिन् , सासुससुराको हेरचाह गर्दैनिन् मैले किन गर्ने भन्ने महिला पनि उत्तिकै छिन् । फलानाको पतिले उसलाई छुट्टै कोठा वा घर लिएर बसिरहेछ म पनि सासुससुरालाई छाडेर छुट्टै घरमा बस्छु मेरो पनि केही सपनाहरु छन् तिनलाई कहिले पुरा गर्ने भन्ने घर छुट्टै लिएर बस्ने अनि आफ्ना सपना पुरा गर्न भनी पति संगै आफु पनि नोकरी गर्न आफिस जान थाल्ने गर्छिन् । अब घर छुट्टै भइसकेपछि झन् उनको सपना आकाश छन थाल्छ आफिस स्टाफ जमघट, फ्रेंड गेट टु गेदर, अनि उनको किट्टी पार्टी , महिला भेला जस्ता जमघट हुन थाल्छन् त्यसपछि त उनको पारा अझ् माथि जान्छ र मैले पतिको लागि खाना किन बनाउने , मैले मात्रै भाडा किन माझ्ने, मैले मात्रै बच्चाको स्याहार किन गर्ने म तिम्रो दास होईन् जब देखि विवाह भएछ म त नोकर भएर दिनरात काममै पिल्सिएकी हुन्छु म अब घरका काम गर्दिन् , खाना पकाउदिन् , भाडा माझ्न दिन, बच्चालाई स्याहार दिन भन्ने खालका महिला पनि धेरै छिन् । यस्ता वाक्य बोल्नेहरुमा खास गरी युवापिढीका महिलाहरु बढी पाईन्छ ।

जस्तो कि हामी समाजमा हेर्ने गरेकाछौं कि मुस्लिम समुदायमा कि त छोरीलाई शिक्षाबाट बंचित नै राखिन्छ कि उच्च शिक्षा नै दिलाईन्छ । आज धेरै जसो मुस्लिम महिला जो पढेलेखेकी छिन् उनी नोकरी गर्न रुचाउंछिन् । किनभने नोकरी गरे आत्म निर्भर भइन्छ । घर परिवारमा पनि कमाउने व्यक्तिकै मान सम्मान हुन्छ । महिला जति ठुलो पदमा नोकरी गर्छिन् उनको तलब त्यति नै धेरै हुन्छ । अब आफुले कमाउदां खर्च गर्ने अधिकार पनि उनीमा नै हुने भएकोले आफुखुशी बिना रोकटोक खर्च गर्छिन् । खर्च गर्न पाउनु उनको हक पनि हो । तथापि नोकरी गरेर कमाउने र यसरी नै खर्च गर्ने एक अति सुन्दर महिलाको काल्पनिक कथा हेरौं ।
यसै सन्दर्भमा आज हामी एउटा यस्तो काल्पनिक उदाहरण पेश गर्छौं जसले धेरैको आंखा खोल्नेछ ।शायद यो उदाहरण कसैको नीजि जीवनको अंश पनि हुन सक्छ । तथापि उदाहरणलाई मनन गरेर अनि आफै विचार गर्नुहोला कि महिला विवाह पश्चात नोकरानी हुन्छिन् कि रानी ।

सो कथा यस्तो छ ।

एक शहरमा एउटा अलि धनीमानी परिवार थियो जसमा एक सुन्दर छोरीका साथ उसका आमा बुवा बस्थे छोरी भने देख्नेको मनै मोहित हुने गरी असाध्यै सुन्दर थिईन् साथै उनले शहरकै उत्कृष्ट क्याम्पसबाट उच्च शिक्षा पनि हासिल गरेकी थिईन् । आफ्नो शिक्षाको सदुपयोग गर्छु भनी अभिभावकसंग अनुमति लिइ उनी एउटा ठलो कम्पनीमा जाब सुरु गरिन् । उनले शिक्षादिक्षा राम्रो विद्यालय र विश्व विद्यालयबाट राम्रो श्रेणीमा उत्तिर्ण भइ पुरा गरेकी हुनाले नोकरी पाउन त्यति गाह्रो भएन् । उनले जाब गर्दै गरेको दुई वर्षमा नै एउटा सामान्य तर सम्मानित एंव निकै राम्रो परिवारमा २५ वर्षको उमेरमा उनको विवाह भयो ।

उनी विवाह पश्चात आफ्नो पतिको घरमा बस्न थालिन् जहां पतिका आमाबुवा पनि संगै बस्थे । उनी बेला बेलामा पतिलाई कुरा सुनाउंथिन् कि मेरो घरमा फलाना कामका लागि यति नोकर फलाना काम का लागि यति नोकर थिए म त महारानी जस्तै बसेर खान्थे । जबदेखि यहां आएकीछु कामले गर्नमै व्यस्त हुन्छु एक मिनेट फुर्सद मिल्दैन् । अनि उनले बिहेको दुई हप्ता भएको थियो कि पतिलाई भनिन् “म तपाईको घरको मुफ्तमा आएकी नोकर होईन् त्यसैले म खाना पकाउदिन् , म कपडा धुदिंन् , म भाडा मांझ्दिन् ।” पतिले हल्का मुस्कानका साथ ठीक छ भन्दै टाउको हल्लाउदैं काम गर्ने महिला खोज्न कोठा बाहिर निस्किहाले । उनले भनेको व्यक्तिले हप्ताभित्रै एक जना महिलालाई लिएर आए जो घरका भाडा धुने सरससफाई गर्ने र खाना बनाउने कामको जिम्मा लाईन् । जीवनको गाडी यस्तै चल्दैथियो कि अचानक एक दिन पत्नीले भनिन् म तिम्रो आमाबुवाको नोकर होईन्  जो उनको सेवासत्कारमा लागिरहुं हर क्षण । मेरो पनि सपना छन् तिनलाई पुरा गर्नुछ । म यी बुढाबुढीसंग बस्दिन् मेरो लागि छुट्टै घर चाहियो ।

पतिले पत्नीको खुशी र सन्तुष्टीका लागि आमाबुवा र उनको घरलाई छाडेर बिहेको दुई महिनामै भाडामा छुट्टै घर लिएर बस्न थाल्यो । जहां पत्नीका स्कुल कलेज र कम्पनी का साथीहरु दिनका दिन भेट्न आउन थाले र उनी आफु पनि उनीहरुसंग भेटघाट गर्न भनी दिन दिन उतै गायब अझ् कुनै कुनै दिन त अबेरराति सम्म नै साथीहरुसंगको भेटघाट र बर्थ डे पार्टीहरुमा भुलिन्थिन् । जसले गर्दा घरमा पति फर्किदां न खाना पाकिएको हुन्थ्यो न सरससफाई भएको हुन्थ्यो न आवश्यक फाईल र सरसामानहरु व्यवस्थित भेटिन्थे । यही लापरवाही नै कारण थियो उनीहरु बीच दिनकै झगडा सुरु भयो । उनी भन्थिन् “म तिम्रो नोकर होईन् कि तिम्रो लागि खाना बनाऊं, तिम्रो सरसामान मिलाऊं अनि तिम्रो हेरचाह गरुं । म पनि मान्छे हुं तिमी भन्दा बढी पढेलेखेकी तिमी भन्दा सुन्दर  म चाहुं भने आजको आजै तिमी भन्दा बढता कमाउन सक्छु ।”
यिनै खिचातानी बीच एक महिना जति बितेको थियो होला कि उनीहरु बीच फेरी झगडा भयो जसको कारण उनी घर छाडेर माईत फर्किहालिन् । यो सोचेर कि मलाई जब काम नै गर्नुछ भने म आफ्नो पहिलाको आफिसमा नै काम गर्छु चार पैसा कमाउछुं अनि देखाइदिन्छु कि म ऊ भन्दा कम छैन् भनी ।

नोकरी पुनः ज्वाईन गर्ने इच्छा साथ उनले आफ्नो आफिस गईन् जहां उनको आफिसरले निकै उत्साहित भएर विवाहको बधाई दिएर स्वागत गरी वैवाहिक जीवन कसरी चलिरहेछ भनी सोधे साथै आउने कारण सोधे । जसको जवाफमा उनले भनिन् ” म आफ्नो पतिको घर छाडेर माईत आइसकेकीछु । मेरो पति मलाई नोकर ठान्नु हुन्छ । दिनरात काममै लागिरहनुपर्छ नोकर झै । त्यसकारण म अब उसंग छुटापत्र गरी माईतमा बसेर नोकरी गर्ने इच्छा लिएर यहांको आफिस आएकीछु ।”

जसको जवाफमा आफिसरले भन्यो “तिमी हुन त धेरै योग्य छौ तर  तिमी बिहे गरेर गइसकेपछि आफ्नो वैवाहिक जीवनमा रमाउदैछौं होला अब तिमीलाई नोकरीको के खाचों होला भनी ,तिम्रो पदमा हामीले अर्कोलाई राखिसकेकाछौं त्यसलाई हटाउन त मिल्दैन् । बरु यसो गर्न सक्छु म तिमीलाई रिशेप्सनमा राख्न सक्छु के भन्छ्यौ त।”

यसरी उनी रिशेप्शनमा बस्न थालिन् केही वर्षपछि उनको आमाबुवाको स्वर्गवास भइहाल्यो अब उनी एक्लै बस्थिन् । उमेर पुगेपछि उनको रुप, यौवन र सुन्दरता फिक्का पर्न थाल्यो । एकदिन उनको हाकिमले उनलाई बोलाएर भने कि अब तिम्रो सुन्दरता उमेर संगै ढल्दै गएछ त्यसकारण तिमीलाई रिशेप्शनमा राख्न सक्दिन् भनी निकालिदिए । निकालिएपछि उनी अर्को आफिस धाईन् तर कतै नोकरी भेटिएन् बरु एक जनालाई उनीमाथि दया लाग्यो र उनले भने “म तिमीलाई एउटा मदरसामा विद्यार्थीहरुको लागि खाना पकाउने काम लगाईदिन सक्छु ।” उनीसंग कमाउने व्यक्ति र व्यवस्था नभएकोले उनी त्यही काम गर्न तयार भईन् ताकि जीवनको गुजारा चलोस् ।

उनले मदरसामा पढ्ने पचास भन्दा बढी विद्यार्थीहरुका लागि खाना बनाउने काम थालिन् तर समय कसैले रोकेर कहां रोकिन्छ । समय बितिदैंगयो जसको असर उनको सुन्दरता माथि पहिला नै परिसकेथियो अब आंखामाथि पनि पर्नगयो । आंखाले राम्ररी देख्न नसक्ने हुदां उनले बनाउने खानामा कन्कर (कसिंगर) भेटाउन थाले । जसको कारणले उनलाई खाना बनाउने कामबाट पनि निकालियो । तर मदरसाका एक जना सदस्यले उनको अवस्था माथि दया मान्दै उनलाई एक ठांउमा बुढाबुढीको हेरचाह गर्ने केयरटेकरको नोकरी दिलाईदिए जब उनी आफै ६० वर्षको पुग्न आंटेकीथिईन् ।
एक दिन ती बुढाबुढीले सोधे “तिमी किन यो नोकरी गर्दैछौं जबकि अहिले तिमी स्वयं केयर गरिने उमेरमा पुगेकीछौं । के तिम्रो पति र बच्चाहरुले स्याहार गर्दैन्न् ?”

उनले अंध्यारो मुख लगाई निकै उदास भएर भनिन् “मेरो पतिलाई मैले बिहे गरेको तीन महिना छाडेर माईत आइहालेकी थिंए र मेरो बच्चाहरू पनि छैन्न् । माईतमा पनि म एक्ली सन्तान थिएं आमाबुवाको स्वर्गवास भएपछि माईत पनि सुनसान भइदियो अहिले एक्लै बस्छु । आफ्नो गुजारा चलाउन यस्ता नोकरी गर्छु ।”

यिनी तिनै हुन् जो आफु पतिको काम र सासुससुराको हेरचाह गर्दा नोकरानी ठान्थिन् । जसका लागि सासुससुरा सहितको परिवार बोझ थियो । जसलाई घरका चार जनाको खाना पकाउनु महायुद्ध विजय गर्नु सरह थियो । जसलाई आफ्नो रुप सुन्दरता र योग्यतामाथि निकै घमण्ड थियो । आज खाली हात थिईन् , न धन सम्पत्ति नै थियो, न घरपरिवार न त सन्तान नै , बस थियो त केवल पश्चातापका आश्रु र विगतका समझनाहरु ।
यस कारण विवाह पछिका जिम्मेवारीलाई बोझ ठान्नेहरुका लागि यो कथा एउटा सीख (शिक्षा) हो । यस कारण हामीले समयमा नै विचार पुर्याएर आफ्नो भविष्य सुरक्षित गरौं ।

गर्नु पर्ने पहल

महिला अधिकारका साथै कर्तव्यको पाठ पनि सिकाउन सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यक छ । शैक्षिक पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्नुपर्ने आवश्यकता छ । विवाह पश्चातका जिम्मेवारी दासता होईन् सौभाग्य हो भनी बुझ्न र बुझाउन पहल गर्न आवश्यक छ ।

चुनौती

सामाजिक परिवेश हेर्ने हो भने कर्तव्यबाट पन्छिनु र जिम्मेवारीलाई दासता ठान्नु यस्ता मानसिकता नै समस्या उत्पन्न गर्ने प्रमुख चुनौतीको रुपमा रहेकोछ ।

सिकाई

समाजमा वैवाहिक सम्बन्धलाई बलियो बनाउन धार्मिक र सामाजिक मुल्यमान्यता हरु बारे अवगत गराउन एक दमै आवश्यक छ । जब सम्म यस बारे साझा बुझाई हुदैंन् तब सम्म यसरी नै अधिकांशका घर, सम्बन्ध र भविष्य बिग्रिने छ ।

परिकल्पना

महिला पुरुष एक रथका दुई पाग्रां त हुन् नै यसमा दुई मत नै छैन् । तर यी पाग्रां जब समान रुपले साथ साथ हुन्छन् तब मात्र रथ अगाडि बढ्नेछ । यो कुरा मनन गरी महिला र पुरुष दुबैले अधिकारका साथै आफ्ना कर्तव्यहरु पनि निर्वाह गर्नेछन् । पति पत्नीले विवाह पछिका आफ्ना वैवाहिक जिम्मेवारीलाई सौभाग्य ठानी निर्वाह गर्नेछन् । परिवारमा सौहार्द कायम हुनेछ । सबैमा साझा बुझाई हुनेछ कि विवाह पश्चात महिला नोकरानी होईनिन् उनी त घरकी रानी हुन्छिन् ।

अन्तमा

लेख र यस लेखमा साझा गरिएको काल्पनिक कथा जो हाल धेरै महिलाहरुको जीवनगाथासंग मेल खादैंछहोला र भविष्यमा नि मेल खानेछ । यदि समयमा सही निर्णय लिन सकिएन्, सत्य पहिचान गर्न सकिएन् , एक अर्काको पुरक र सहयोगी भइएन् । अब पढिसकेपछि तपाई आफै विचार गर्नुहोला के वास्तवमा महिला विवाह पश्चात नोकरानी भइहाल्छिन् त ?

प्रतिक्रिया

प्रतिक्रिया