किन लम्बिंदै बाँकेमा निषेधाज्ञा ? यस्तो छ आदेश

निषेधाज्ञा पूर्ण रुपमा पालना गराउने पक्षमा छौं । व्यक्ति स्वयंले पनि म सुरक्षित हुनुपर्छ, अरुलाई सुरक्षित बनाउनु पर्छ भन्ने बुझेर व्यवहारमा नल्याएको हामीलाई पनि लागिरहेको छ । त्यसलाई व्यक्ति स्वयंले बुझ्नु पर्ने कुरा हो ।– प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल


थप अधिकारसँगै जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) अस्तित्वमा आएपछि आइतवार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा पहिलो बैठक गरिएको छ । जिल्ला समन्वय अधिकारी, सुरक्षा प्रमुख, सरकारी अस्पताल प्रमुख रहने समितिमा पालिका प्रमुखहरुले कोभिड नियन्त्रणका लागि भइरहेका आफ्ना प्रयासबारे जानकारी गराएका थिए । निरन्तरको निषेधाज्ञाले आजित भएका नागरिकस्तरबाट निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न माग भइरहेको छ । कतिपयले निषेधाज्ञा पालना नभइरहेकाले खारेजी माग पनि गरिरहेका छन् । तर, जिल्ला सुरक्षा समितिले निषेधाज्ञा थप एक साता निरन्तरता दिने निर्णय किन ग्रयो ? यसबारे सोमवारको अंकमा दैनिक नेपालगन्जले डिसिएमसीका प्रमुख समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालसँग जानकारी लिन गरिएको कुराकानी संक्षेप ।

डिसिसिएमसी भनेर थियो, अहिले डिसिएमसी भनिएको छ, फरक ?
डिसिसिएमसीलाई चाहीँ अहिले चेञ्ज गरेको छ । अध्यादेश आएको छ, र अध्यादेश अनुसार काम अगाडि बढ्छ । माथिबाट आएको निर्देशन पालना हुन्छ । थप पावर दिएको छ अध्यादेशले । त्यही अनुसार अब अगाडी बढ्छ ।

डिसिएमसीको पहिलो बैठकले के निर्णय लियो ?
निषेधाज्ञालाई निरन्तरता दिने कुरा भएको छ । कति गर्ने भन्ने त मिति तोकिएको छैन, तर एक साता गर्ने तयारीमा छौं ।
अर्को कुरा पालिकाहरुको अवस्थाबारे बैठकमा जानकारी आएको छ । पालिकाका प्रतिनिधिहरु उपस्थिति हुनुहुन्थ्यो । पालिकाको सबै जानकारी आएको छ ।
भेरी अस्पतालको बारेमा के कस्तो अवस्था छ भन्ने डा. प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँबाट बिरामीको चाप कम हुँदै गएको जानकारी आएको छ ।

बिरामीको चाप हुनुको कारण के होला ?
एउटा चाहीँ स्थानीय तहमा भएका आइसोलेसनले पनि काम गरिरहेको छ । वडामा पनि प्रायःजसो स्थानीय तहले स्वास्थ्यकर्मी पठाएका छन् । यसले पनि काम गरेको छ । समस्या कहाँ भैरहेको छ भने अवस्था क्रिटिकल भएपछि मात्रै अस्पताल आउने भैरहेको छ । अक्सिजनको मात्रा के छ भन्ने नहेरी क्रिटिकल भएपछि मात्र अस्पताल ल्याउने गरेर डेथ रेट बढिरहेको हो कि भन्ने विषय पनि बैठकमा उठिरहेको थियो । अब त्यो पनि बाँकेको हकमा न्यूनीकरण भएको छ भन्ने पनि बैठकमा आयो ।
एनजीओहरुले पनि कोभिडमा सहयोग गरेको कुरा बैठकमा आएको थियो । हामीले पनि एनजिओबाट सहयोगको अपेक्षा राखेका छौं ।

निषेधाज्ञा निरन्तरता दिने त भनियो तर बजारमा चहलपहल खासै कम भएन कि भन्ने छ त ? कडाई नभएको हो कि अटेरी हो ?
अत्यावश्यक सेवाका लागि हामीले केही समय दिएका नै छौं । बैंकिङ सेक्टरलाई पनि सीमित व्यक्ति राखेर ३ घण्टाको समय दिएका छौं । निषेधाज्ञा पूर्ण रुपमा पालना गराउने पक्षमा छौं । पालना पनि गराइरहेका छौं । व्यक्ति स्वयंले पनि म सुरक्षित हुनुपर्छ, अरुलाई सुरक्षित बनाउनु पर्छ भन्ने बुझेर पनि व्यवहारमा नल्याएको हामीलाई पनि लागिरहेको छ । त्यसलाई व्यक्ति स्वयंले बुझ्नु पर्ने कुरा हो ।
हिजोका दिनमा उपमहानगरपालिकामा संक्रमितको संख्या बढेपछि निषेधाज्ञा जारी गरेका हौं । निषेधाज्ञाको कारणबाट अहिले न्यूनीकरण हुँदै गएको छ । अहिले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । तर, अहिले पनि सक्रिय संक्रमितको २ हजारको हाराहारीमा सक्रिय संक्रमितको संख्या छ । ती व्यक्तिलाई ओपन छाडिदिने हो भने अहिले पनि पुनः अरुलाई पनि बढ्न सक्ने अवस्था छ ।
हामीले होम आइसोलेसन भनेका छौं । होम आइसोलेसनमा बस्ने सबैले स्वास्थ्य मापदण्ड पूरा गरिदिनु भएको भए यो स्थिति आउँदैनथ्यो । त्यही स्थितिलाई मध्यनजर हामीले निषेधाज्ञालाई निरन्तरता दिने सोंचेका हौं ।

यो बेला विकास निर्माणका काम भैरहेका छन् ?
विकास निर्माणका काम हामीले रोकेका छैनौं । कही कही कोभिडका कारण काम गर्ने नै संक्रमित भएर अवरुद्ध भएको होला । तर, त्यस्तो जानकारी आएको छैन । हामीले पनि निर्माण नरोकियोस् भनेर स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्य जारी राख्न भनेका छौं र केही ठाउँमा भै पनि रहेको छ । केही ठाउँमा अनौपचारिक रुपमा कोभिड भएकै कारण रोकिएको भन्नेपनि आएको छ ।

सेवाप्रदायक निकायहरुको अवस्था के हो ?
सेवाप्रदायक संस्थाले खुल्ला रुपमा सेवा प्रदान गरेको अवस्था छैन । केही कार्यालयले सीमित कर्मचारी बोलाएर आफ्ना सीमित काम गरिरहेका छन् । सेवाग्राही नआउँदा पनि भित्र आफ्नो काम केही कार्यालयले गरिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया