बिरामीलाई अक्सिजन आपूर्तिमा सहजताका लागि भेरी अस्पताल नेपालगन्जमा लिक्विड अक्सिजनसहितको ट्याङ्क जडान गरिएको छ । सोमवार ट्याङ्क जडान भएको अस्पतालमा मंगलवार लिक्विड अक्सिजन भरिएको हो ।
भेरी अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर भण्डारण गरिएको जानकारी दिए ।
डा. थापाका अनुसार, २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको भोलिपल्टै लिक्विड अक्सिजन फिलिंग गरिएको हो । सबै सिस्टम सेट भइसकेपछि ट्यांकबाट लिक्विड अक्सिजन सोझै पाइप हुँदै अस्पतालका शैयामा पुग्छ । यसले भइरहेको सिलिण्डरको तुलनामा कम मूल्यमा अक्सिजन उपलब्ध हुनुका साथै सहज रुपमा बिरामीको बेडसम्म आपूर्ति हुने अस्पतालले जनाएको छ ।