नेपालगञ्ज उप–महानगरपालिकाले वडास्तरमैं विशेषज्ञ सेवा उपलब्ध गराउन पहल थालेका छ । होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका सबै २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको जनाएको छ ।

उपमहानगरपालिकाले दिएको जानकारी अनुसार, वडामा रहेका स्वास्थ्य फोकल पर्सनहरुले सुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनेछन् । आवश्यकता अनुसार उनीहरुको विरामीको बारेमा वडामा जिम्मेवारी पाएका चिकित्सकहरुसँग सम्पर्क गर्ने छन् ।
त्यसक्रममा शनिबार चिकित्सक र स्वास्थ्य फोकलपर्सनहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले वडाका स्वास्थ्यकर्मीहरुलाई नियमित चिकित्सकसँग सहकार्य गर्न निर्देशन दिए । उपमहानगरपालिकाद्वारा सञ्चालित आईसोलेसन, हेल्थडेस्कलाई पनि प्रभावकारी बनाउन बैठकमा छलफल गरिएको बताइएको छ ।
छलफलमा चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, फिजिसियन डा. राजन पाण्डे, डा. रोमा बोरा लगायतले जनस्वास्थ्यका प्रोटोकल अनुसार महामारी नियन्त्रणमा जुट्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । डा. पाण्डेले सामाजिक सञ्जालका सबै सूचनालाई सत्य नमान्न जोड दिए ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नगरमा महामारी रोकथाम र नियन्त्रणको अभियानलाई थप व्यवस्थित बनाउन चिकित्सक र स्वास्थ्यकर्मीबीचको समन्वव बैठक गरिएको जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङ गरिने
नेपालगन्ज उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ ।
कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि पिसिआर र एन्टिजिन परीक्षण गरिनेछ । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन लागिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार, नगरभित्र कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरिएको छ । समूहमा रहेका स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीसहित नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ अति आवश्यक रहेको बताए ।
वडावासीलाई सहजै निःशुल्क एम्बुलेन्स सेवा