वडावासीलाई सहजै निःशुल्क एम्बुलेन्स सेवा

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वासिन्दाका लागि सहजै र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वासिन्दाका लागि निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ गर्दै वडाध्यक्ष दीपक कुमार बर्मा ।


वडाध्यक्ष दीपक कुमार बर्माले कोरोना संक्रमित गम्भीर प्रकृतिका विरामीका लागि ब्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गरेका हुन् । शुक्रवार वडा कार्यालयबाट सेवा शुभारम्भ गर्दै वडाध्यक्ष बर्माले चिकित्सकसहितको घरदैलो सेवा प्रभावकारी देखिएपछि एम्बुलेन्स सेवा आवश्यकता महसुस गरेको बताए ।
यो सेवा सञ्चालनपछि नेपालगन्ज १८ का कोभिड संक्रमणका विरामीलाई घरबाट अस्पताल तथा आईसोलेसन सेन्टरमा ल्याउन लैजानका लागि शुक्रबारदेखि एम्बुलेन्स सेवा सहजै उपलब्ध हुनेछ ।
वडा अध्यक्ष वर्माले एम्बुलेन्सबाट वडा नम्बर १८ सँगै अन्य नगरबासीले पनि सेवा लिन सक्ने जानकारी दिंदै घरमा आईसोलेसनमा बसेका संक्रमितहरुलाई अस्पताल तथा अन्य आईसोलेसनमा ल्याउन लैजान सजिलो होस भन्नाका लागि सेवा प्रदान गरिएको बताए ।

शुभारम्भ लगत्तै विरामीलाई एम्बुलेन्समा अस्पताल लैजान लागिंदाको अवस्था

वडावासीलाई आवश्यक परेको बेला एम्बुलेन्स सेवाको उपलब्धता कठिन देखेपछि निःशुल्क रुपमा आफ्नै खर्चबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिंदै वडाध्यक्ष बर्माले जोखिमको अवस्था रहेसम्म सेवा सुचारु राख्ने बताए ।
वडा नम्बर १८ ले संक्रमितका घरघरमा हाल चिकित्सकसहितको स्वास्थ्य सेवा दिईरहेको छ । उनीहरुलाई आवश्यकताका आधारमा औषधी, एक्सरे र अक्सिजन सेवा समेत दिइएको जनाएको छ । वडाध्यक्ष आफैं अधिकांश विरामीको घरमै चिकित्सक सहित पुग्ने गरेका छन् । निःशुल्क सेवा लिनका लागि एम्बुलेन्स चालकलाई ९८००५८६७४१ मा फोन गर्न सकिनेछ । उक्त फोन नउठेमा वडाध्यक्ष बर्माको फोन नम्बर ९८५८०२४१८७ मा सोझै पनि गर्न सकिने वडाध्यक्ष बर्माले जानकारी दिएका छन् ।

घरमैं चिकित्सक सेवा पुर्याउँदै वडा

प्रतिक्रिया

प्रतिक्रिया