कोरोना महामारीमा बाँकेका जनप्रतिनीधि

बिमला चौधरी

बाँकेका जनप्रतिनीधिहरुले गत बर्ष कोरोना माहामारीको रोकथामकालागि प्रयास गरे । नेपालगञ्जको जमुनाहा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने आफ्ना पालिकाका नागरिकलाई लिन सबै पालिकाका प्रमुख लगायतका जनप्रतिनीधिहरु नाकामै पुग्ने गर्थे । नाकामा सामान्य स्वाथ्य परिक्षण पछि सिधै पालिकामा स्थापना गरिएको क्वारेन्टाईनमा राखे । त्यहाँ उनीहरुका लागि दुई हप्ता सम्म खाना, ओढ्ने ओछ्याउने तथा लगाउने कपडाको समेत ब्यवस्था गरेको जनप्रतिनीधिहरु बताउँछन् । यसो गर्ने क्रममा गत बर्ष कैयौं जनप्रतिनीधि संक्रमित भएका थिए । गत बर्ष समुदायमा कोरोना भाईरस फैलिन नदिन नाकाबाटै सावधानी अपनाएर क्वारेन्टाईनमा ल्याएर राख्ने गरिएको तर यस बर्ष पालिका अन्तर्गतका संक्रमितलाई आईसोलेसनमा ल्याएर राख्ने काम गरिरहेको बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

भारतिय सिमानासँग जोडिएको जिल्ला भएकाले पनि दोस्रो लहरको कोरोना भाईरसले बाँकेलाई बढी असर गरेको जनप्रतिनीधिहरुको भनाई छ । नेपालगञ्जको जमुनाहा नाकाहुँदै नेपालीहरु ओहोरदोहोर गर्ने क्रम नरोकिएकाले कोरोना भाईरस समुदाय स्तरसम्म भुसको आगो जस्तै सल्किएको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बताईन् । उनले भनिन् – ‘एकाएक गाउँ टोलमा धेरै मानिसहरु विरामी भएर अस्पताल आउन थालेपछि संक्रमण रोक थाम भन्दा पनि विरामीको उपचार सहज होस भन्ने तर्फ लागेका छौं ।’ पछिल्लो समय नाकामै एन्टीजेन परिक्षण गरेर मात्र प्रवेश गराईरहेको र त्यहाँ पहिचान भएका संक्रमितहरुका लागी नेपालगञ्ज उपमहानगरपालिकाले आईसोलेसनको व्यवस्था गरेको उप मेयर थापाले बताईन् । तर अहिले सबैतिर संक्रमण फैलिईसकेको र अव थप फैलिन नदिन सावधानीसँगै जटिल अवस्थाका संक्रमितको सहज उपचार आवश्यक रहेको उनको भनाई छ । ‘एउटा संक्रमित पत्ता लागेपछि उसको सम्पर्कमा आएका सबैको पीसीआर परिक्षण गर्ने गत बर्षको जस्तो अवस्था छैन, सबैतिर लक्षण चिन्ह देखिएका विरामी छन्, उनले भनिन्– अहिले पहिलो प्राथमिकता भनेको विरामीको उपचार हो ।’

दोस्रो लहरको कोरोना महामारीले बाँकेमा भयावह रूप लिएपछि यतिबेला अस्पताल भरिभराउ छन् । बेड नपाएर अधिकांश संक्रमित घरै बसेका छन् । जटिल अवस्थाका संक्रमितले समेत बेड पाउन पालो कुर्नुपर्छ । बिरामीको चाप बढ्न थालेपछि बाँकेका सबै स्थानीय सरकारले अक्सिजनसहितका आइसोलेसन केन्द्र स्थापना गरेका छन् । पालिकाको विपद कोषबाट खर्च हुने गरी आईसोलेसन सेन्टर स्थापना गरिएको जनप्रतिनीधिहरु बताउँछन् ।

बाँकेका आठ ओटै पालिकाले हालसम्म ४ सय ७१ बेडका आइसोलेसन केन्द्र स्थापना गरेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । तीमध्ये नेपालगञ्ज उपमहानगरपालिकाले २१०, कोहलपुर नगरपालिकाले ६५, खजुरा गाउँपालिकाले ४०, नरैनापुर गाउँपालिकाले ५०, राप्ती सोनारी गाउँपालिकाले ४०, जानकी गाउँपालिकाले ३०, बैजनाथ गाउँपालिकाले २० र डुडुवा गाउँपालिकाले १६ बेडका आईसोलेसन स्थापना गरेका छन् । बाँकेका सबैपालिकाले आफ्ना पालिकामा रहेका एमबीबीएस डाक्टर, दुईजना स्टाफ नर्स, कार्यालय सहयोगीलाई आईसोलेसनमा खटाईएको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले भने भेरी अस्पताल नेपालगञ्जकै चिकित्सकहरुको निगरानीमा आईसोलेसन सञ्चालन गरिरहेको छ ।

सिमानाकामा परिक्षण गर्न, इन्द्रेनी होटल तथा ह्वाईटहाउसमा सञ्चालन गरिएका आईसोसनमा काम गर्न करारमा स्वाथ्यकर्मी नियुक्त गरेर खटाईएको जनाएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) को केही समय अगाडी बसेको बैठकमा संयुक्त रुपमा अस्पताल सञ्चालन गर्न वा भईरहेका अस्पतालको स्तरोन्नती गर्न सघाउ पु¥याउने विषयमा छलफल भएपनि कोरेना महामारी चालु आर्थिक बर्षको अन्त्यतिर फैलिएकाले बजेट विनियोजनमा समस्या देखिएको जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय श्रीवास्तवले बताए । ‘अहिले जिल्लाका सबै पालिकाले एक्ला एक्लै गरेको पयास पनि सह्रायिन छ , उनले भने, ‘आवश्यक जनशक्ति नियुक्त गरेर परिचालन गर्नसके अझ प्रभावकारी हुन्छ ।’

कोहलपुरमा २४ सै घण्टा एम्बुलेन्स सहितको आईसोलेसन

कोहलपुर नगरपालिकाले प्रेमनगरको आयुर्वेदिक प्राकृतिक चिकित्सालयमा १५ र पिपरीस्थित कृषि तालिम केन्द्रमा ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । अक्सीजन सहित १५ बेडको आईसोलेसन सञ्चालन गरेर कतिपय संक्रमितहरु उपचार पछि घर फर्किइसकेको उपमेयर सन्जु कुमारी थारुले बताईन् । ‘स्वाथ्यकर्मी, एम्बुलेन्स सहितको कोभिड अस्पताल स्थापना गरेर अस्पतालमा बेड नपाएका संक्रमितहरुको चौबीसै घण्टा उपचार गरिरहेका छौं ।’ उनले भनिन् – अहिले सम्म ९ जना विरामी उपचार पछि घर फर्किएका छन्, १८ जना उपचाररत छन् ।

कोरोना महामारीबाट बाँके भयावह स्थितीमा पुगेका वेला समेत केन्द्र र प्रदेश सरकारले चासो नदिएको उनले बताईन् । हालसम्म जे जति प्रयास भएको छ, सबै स्थानिय सरकारले मात्र गरेको छ, उपमेयर सन्जुले भनिन् – ‘संक्रमतिहरुको जिउ ज्यान अव स्थानिय सरकार कै हातमा छ त्यसैले हामी अहोरात्र उपचारको व्यवस्था मिलाउन खटिएका छौं ।’ गत बर्ष कोभिड १९ बारे जनचेतना कार्यक्रम, कोरोना प्रभावित देशबाट आउनेहरुलाई क्वारेन्टाईन, संक्रमितहरुलाई राख्ने आईसोलेसन भवनको ब्यवस्थापन खर्च, कोारेना प्रभावित विपन्नलाई दुई चरणमा राहत वितरणलगायतका काममा कोहलपुर नगरपालिकाले करिव एक करोड खर्च गरेको उपमेर थारुले बताईन् । कोहलपुर नगरपालिकाले हाल लक्षण देखिएका विरामीको पिसिआर परिक्षण निशुल्क गरिरहेको जनएको छ ।

भेरी अस्पतालका चिकित्सकहरुको निगरानीमा नेपालगञ्जमा ५० बेडको आईसोलेसन

नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनीधिहरु पनि गत बर्ष जमुनाहा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई खानेबस्ने कुराको व्यवस्थापनमै लागेका थिए । यस वर्ष सो उपमहानगरपालिकाले नाकामै संक्रमण पुष्टि भएकाहरुको उपचारकालागि आसोलेसन सेन्टर चलाएको छ । जमुनाहा नाकामा जाँच गर्दा संक्रमित पुष्टि भएकाहरुकालागि मनिकापुर स्थित ह्वाईट हाउसमा १२० तथा अस्पतालमा बेड नपाएर होम आईसोलेसनमा बस्न बाध्य नेपालगञ्जवासीहरुका लागि होटल इन्द्रेनीमा ५० र रामलिला मैदान स्थित नारी विकासको तालिम केन्द्रमा अक्सीजन सहितको ३० बेडको आईसोलेसन सेन्टर सञ्चालन गरेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– ४ मा पनि १० बेडको आईसोलेसन सेन्टर चलाइएको छ ।

सामान्य लक्षण सहितका विरामीलाई ह्वाईटहाउसस्थित आईसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालनमा छ । उक्त आईसोलेसन भेरी अस्पतालका चिकित्सकहरुको निगरानीमा रहेको बताईएको छ । ‘कोभिडका बिरामीलाई अक्सिजनसहित आइसोलेसनमा राख्न थालिएको छ,’ मेयर धवलशमशेर राणाले भने, ‘अस्पतालमा बेड नपाइरहेका बेला यस्ता आइसोलेसन सेन्टरले बिरामीलाई राहत मिल्ने अपेक्षा गरेका छौँ ।’ गत बर्ष कोरोना भाईरस सबैकालागि नयाँ भएकोले आत्तिएर जसले जे भन्यो त्यसमै बजेट खर्च गरेको मेयर राणाले बताए । उनले भने – ‘कोभिडकै नाममा उपमहानगरले ३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । यस बर्ष धेरै सहयोगी हात पाएका छौं । कति खर्च हुन्छ हेर्दै जाउँ ।’

खजुरा गाउँपालिकामा पनि ५० बेडको आइसोलेसन

खजुरा गाउँपालिकाले पनि ४० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रमा ३० र राधापुरमा १० बेडका अक्सिजनसहितका आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । गत बर्ष खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानीमा कोरोना अस्पताल स्थापना गरिएकाले खजुरावासीलाई पनि उपचारमा सहज भएको तर यस बर्ष गाउँपालिकाकै लगानीमा आईसोलेसन केन्द्र स्थापना गरिएको अध्यक्ष कक्षपतिले बताए । ‘क्वारेन्टाईन ब्यवस्थापन र दुई चरणमा राहत वितरण गर्दा गत बर्ष गाउँपालिकाको एक करोड जति खर्च भएको थियो, उनले भने –यस बर्ष विपद कोषबाट खर्च गर्ने गरि आईसोलेसन केन्द्र सञ्चलन गरेका छौं ।’

बैजनाथ गाउँपालिकाले २० बेड

बैजनाथ गाउँपालिकाले २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ  । एकजना एम बीबीएस डाक्टर र दुई जना नर्सले सेवा दिने गरि अक्सिजन सहितको आईसोलेसन सञ्चालनमा ल्याएको गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरीले बताए । ‘आवश्यक परे गाउँपालिकाभित्र रहेका टिटिहिरिया, चिसापानी र नौबस्ता स्वास्थ्य चौकीमा अक्सिजनसहितको पाँच–पाँच बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ,’ उनले भने । यस्तै बैजनाथ गाउँपालिकाले गनापुरस्थित खुला कारागारलाई ५० बेडको आइसोलेसन सेन्टर बनाउने योजना बनाईएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले बताए ।

यसैगरी जानकी गाउँपालिकाले पनि हाल ५ वटा अक्सिजन सहित ३० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । आवश्यकता अनुसार ५० बेड र अक्सिजन थप्दै जाने गाउँपालिकाका अध्यक्ष राम निवास यादवले बए । ‘गत बर्ष क्वारेन्टाईनबाटै मानिसहरु भागेर जाने समस्या थियो, यस बर्ष जटिल अवस्थाका संक्रमितहरु अस्पतालमा बेड नपाएर छटपटिएका छन ।’ अध्यक्ष यादवले भने– स्थानियको उपचारसहज बनाउन आईसोलेसन केन्द्र स्थापना गरेका छौं । गत बर्ष कोभिडबारे सचेतना र क्वारेन्टाईन ब्यवस्थापनमा करिव ७५ लाख खर्च गरेको अध्यक्ष यादवले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा १६ शैयाको सुविधा सम्पन्न आईसोलेसन

बाँकेको डुडुवा गाउँपालिकाले पनिसन्तलिया गाउँस्थित बहुउद्देशिय भवनमा १६ सैयाको आइसोलेसन केन्द्र तयार पारेको छ । कोभिडको संक्रमणबाट गम्भीर विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो । आइसोलेशन वार्डमा अक्सिजन, अक्सिजन सक्सन कन्सन्टे«ड, अक्सिजन ऐलीडन्ट सक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाईका सामाग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार गाउपालिकाभित्र कोभिड संक्रमणका विरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।

गाउँपालिकाले पिसिआर जाँचका लागि बेतहनी स्वास्थ्य चौकीमा स्वाब संकलन गरिरहेको छ । कोरोना संक्रमित विरामीहरुलाई औषधी, आइसोलेसन वार्ड, स्वाब संकलन, हेल्थ डेक्स, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपालिकाले सिमानामा तीन ठाउँमा हेल्थ डेस्क स्थापना गरि आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

राप्ती–सोनारीमा गत बर्ष कोभिडका नाममा अन्य पालिकाभन्दा धेरै खर्च

राप्ती–सोनारी गाउँपालिकाले कचनापुरमा १५, साहीपुरमा १५ र फत्तेपुरमा १० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए । राप्तीसोनारी अस्पतालभित्र ५ बेड आसोलेसनका लागि छुट्याईएको पनि प्रमुख शर्माले बताए । गाउँपालिकाका अध्यक्ष सहित १६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको र उनीहरू कचनापुरस्थित आइसोलेसन केन्द्रमा बसेर स्वाथ्य लाभ लिईरहेको बताईएको छ । राप्ती सोनारी गाउँपालिकाले आपूmले गत बर्ष कोभिडका नाममा बाँकेका पालिकामध्ये सबै भन्दा बढी खर्च गरेकोको जनाएको छ । गत बर्ष कोरोनाकै कारण लकडाउन लम्बीएपछि काठमाण्डौ, काभ्रे, पोखरा, विराटनगर लगायत पूर्बी जिल्लामा मजदुरीकालागि गएका बर्दिया र सुदुरपश्चिमका हजारौं मानिसहरु राजमार्गबाट उद्धार गरेर ल्याउँदा धेरै खर्च ब्यहोरेको गाउँपालिका अध्यक्ष लाहु राम थारुले जानकारी दिए । ‘जनसंख्याको हिसावले देशकै ठूलो गाउँपालिका पनि प¥यो अध्यक्ष थारुले भने –उद्धार, राहात, जनचेतनासँगै मास्क सेनिटाईजर वितरण र क्वारेन्टाईन ब्यवस्थापनकालागि गत बर्ष करिव ७ करोड खर्च भएको थियो । ’ गत बर्ष राप्ती सोनारी गाउँपालिकाले सबै भन्दा सुविधा सम्पन्न क्वारेन्टाईन स्थापना गरेको उपाध्यक्ष धनी कुमारी खत्रीको दावी छ । ‘पालिकाका नौ वटै वडामा स्थापना गरिएका क्वारेन्टाईनमा ब्रस, मन्जन, चप्पल र लगाउने नयाँ कपडाको समेत ब्यवस्था गरेका थियौं ।’ उपाध्यक्ष खत्रीले भनिन् ।

यस्तै गत बर्ष कोरोनाको हटस्पट बनेको नरैनापुर गाउँपालिकाले यस बर्ष लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । प्राथमिक स्वाथ्य केन्द्रमा २५ र नेरा प्रावि लक्षमणपुरमा २५ बेडको आइसोलेसन ंचलाएको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र यादवले बताए । उनले प्राथमिक स्वाथ्य केन्द्रमा रहेको आइसोलेसनमा २५ वटा अक्सिजनको व्यवस्था गरेर उपचार भईरहेको बताए ।

पालिकामा सञ्चालित आईसोलेसन स्वाथ्य मापदण्ड विपरित

स्थानिय सरकारले सञ्चालन गरेका आईसोलेसन स्वाथ्य मापदण्ड विपरित रहेको कतिपयको भनाई छ । बाँकेका अस्पतालमा संक्रमितको संख्या अनुसार स्वाथ्यकर्मीको अभाव भईरहेका बेला सबै पालिकाले आफ्नै हिसावले आईसोलेसन स्थापना गर्दा प्रभावकारी नहुने नेपालगञ्ज भेरी अस्पतालका सूचना अधिकारी डाक्टर संकेत रिसालले बताए । विरामीको अवस्था अनुसार औषधी चलाउनु पर्ने, छातीको एक्सरे पछिको उपचार र अक्सीजनको मात्रा पनि अवस्था हेरेर दिनुपर्ने भएकोले प्रत्यक आईसोलेसनमा विशेषज्ञ डाक्टरको आवश्यकता पर्ने डाक्टर रिसालको भनाई छ । ‘अक्सिजनसहित बेडको ब्यवस्था गरेर मात्र हुँदैन ।’ उनले भने –कोभीडका अधिकांश विरामीलाई फोक्सोको समस्या देखिएकोले तत्काल छातीको एक्सरे गरी त्यसको रिपोर्ट हेरेर औषधी चलाउनुपर्ने अवस्था हुनसक्छ । यो उपचार पालालिकामा स्थापना गरिएका आईसोलेसनबाट कसरी गर्न सकिन्छ ? बाँकेमा कोरोना संक्रमितको उपचार भईरहेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अधिकाँस स्वाथ्यकर्मी संक्रमित भएपछि स्वाथ्यकर्मीको अभाव झेलीरहेको भेरी अस्पतालका प्रमुख, डाक्टर प्रकाश बहादुर थापाले बताए । अस्पतालमा बेड र अक्सिजन नपाएर बिरामीको मृत्यु हने समस्या देखिएपछि आआफ्नै पालिकामा आईसोलेसन कक्ष सञ्चालन गरिएको जनाप्रतिनीधिले बताएकाछन् । स्थानिय तहले सञ्चालन गरेका आईसोलेसनमा भर्ना भएका विरामीहरु अवस्था जटिल भएपछि भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा रिफर गर्ने गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया