लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद)को शुभकामना सन्देश जारी गरेका छन् ।

आज शुक्रवार मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इद मनाउन थालेका छन् । रमजान महिना सकिएको खुसीयालीमा इद ( उल फित्र मनाउन थालेका हुन् ।
हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँने गर्छन् । यो मुस्लिमहरुको महान पर्व मानिन्छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ र मिष्ठान्न परिकार खाने(खुवाउने चलन छ । पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ । तर, नेपालगन्जका मस्जिदमा मास्क भौतिक दुरी लगायतका मापदण्ड पालना गरेर इदको नमाज पढिएको (प्रार्थना) पत्रकार सिराज खानले जानकारी दिएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनले यो बर्षको ईद औपचरिक्ता मात्र भएको टिप्पणी गरेका छन् । बिगत बर्ष देखि कुनै पनि पर्ब र उत्सव मनाएको छैनौ, एमाले नेता हारुनले भने, सबै सामुदाय कोरोनाको कारण पिडित छन् झन् यो बर्ष जटील अवस्था छ, हामी आफ्नो घरमा नमाज पढौं र घरबाट बहिर न निस्कौं बाल बच्चा समेतलाई बहिर निस्किन नदिउँ ।
सेवाईं, छोयला दहीबडा , रोस्टेड आदि पकाइएको घरमैं ईदुलफित्रको नमाज पढेर अहिले त्यही खादैं बसेका छौं, दैनिक नेपालगन्जका स्तम्भकार, लेखक शाहिदा शाहले भनिन्, खुल्ला रुप जसरी पहिला सबैलाई दावत दिएर बोलाईन्थ्यो त्यसरी बोलाईएको छैन् आफन्तहरुलाई ।
ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २।५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् । एमाले नेता हारुनले ईदको नमाज पढनुअघि जकात फितरा निकालेर गरीब असहायलाई मद्दत गर्न आग्रह गरेका छन् । प्रत्येक ब्यक्ति माथी ६५ रुपैया फितरा र माले निसाब माथी आफ्नो चल सम्पत्तिको २.५ प्रतिशत जकात दिन अनिवार्य भएकाले त्यो कार्य पनि पूरा गरौं जसबाट असहाय गरीब र औषधी किन्न नसक्ने हरुलाई सहयोग पुगोस् ।
लेखक शाहिदा भन्छिन्, ईदुलफित्र पवित्र रमजान करीमको एक महिना रोजा बसेकाहरुका लागि अल्लाहको तर्फबाट उपहार हो । जसरी एउटा श्रमिकले मजदूरी गरे बापत ज्याला पाउंछ र त्यो ज्याला उसको अधिकार हो । त्यसरी नै रमजानको रोजा बस्नेहरुको लागि ईदुलफित्र र यसको खुशीयाली हो ।
लुम्बिनीका मुख्यमन्त्रीको शुभकामना सन्देश
यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद)को शुभकामना सन्देश जारी गरेका छन् । मुख्यमन्त्री पोखरेलले नेपाल सांस्कृतिक विविधता भएको मुलुक भएको भन्दै विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको बताएका छन् । विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएका छन्, मुख्यमन्त्रीको वक्तव्यमा भनिएको छ, ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ । संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास लिएको छु, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।
ईद पर्व मनाउँदा पनि कोरोना विरुद्धको लडाईका लागि सरकारले जारी गरेका आदेश पालना गदै मनाउनु हुन मुख्यमन्त्री पोखरेलले अपील गर्दै कोभिड—१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका सबैलाई यस अवसरमा म उच्च सम्मान व्यक्त गरेका छन् ।

नेपालगन्जन्यूज, दैनिक नेपालगन्ज र सम्यक मिडिया हबको तर्फबाट इदको शुुभकामना !