कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय सरकारले आफ्नो तर्फबाट विभिन्न प्रयास गरिरहेका छन् । त्यसक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ ले संक्रमित वडावासीलाई घरमैं चिकित्सक सहितको स्वास्थ्य सेवा पुर्याएको छ ।

सोमवार चिकित्सकसहितको स्वास्थ्य टोली लिएर होम आइसोलेसनमा रहेका बिरामीको चेकजाँचमा वडाध्यक्ष दिपक कुमार वर्मा पुगे । महामारीको अवस्था रहुन्जेल सेवा चिकित्सक सहितको स्वास्थ्य सेवा जारी राख्ने योजना बनाएका वडाध्यक्ष वर्माले पहिलो दिन समस्यामा रहेका १२ घरपरिवारका १८ जना विरामीलाई फिजिसियन डा. सुभाष योगी र फिजियोथेरापीष्ट डा. खेमा भण्डारी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, नर्सिगंस्टाफ सुमन गिरि श्रेष्ठ, वडाको स्वाथ्य शाखाका कर्मचारी सहितको टोलीले उपचार तथा औषधि उपलब्ध गराएको जानकारी दिए । पहिलो दिन कारकादौं गाउँ र तेजनगरका होमआइसोलेसनमा टोली पुगेको हो ।

मंगलवार भेरी अस्पतालका फिजिसियन डा. पारस श्रेष्ठसहितका स्वास्थ्यकर्मीहरुको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिने जानकारी वडाध्यक्ष वर्माले दिए । थप के के सेवा दिंदा जनतालाई सरकार भएको अनुभूत गराउन सकिन्छ, सोचिंरहेका छौं, वडाध्यक्ष बर्माले सबै वडावासीको उच्च मनोबल होस् भनेरै आफु चिकित्सक टोलीसँगसँगै हिंडेको बताउँदै भने ।

चिकित्सक सहितको टोलीले संक्रमितलाई आवश्यक परामर्श तथा आवश्यक औषधी समेत सिफारिस गरेका आधारमा सकेसम्म उपलब्ध औषधिसमेतको सहयोग गरिरहेको वडा कार्यालयले जनाएको छ । चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरे आवश्यक परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले सबै सेवा निशुल्क गराउने जनाएको छ । त्यस क्रममा टोलीले स्वास्थ्य तथा हाईजिन किट उपलब्ध पनि गराउने छ ।

गम्भिर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले आवश्यक सहजीकरण गर्ने वडाध्यक्ष बर्माले बताए । वडा नम्बर १८ मा सोमवारसम्म ११४ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । यो सेवा सम्पूर्ण संक्रमितसम्म पुग्ने वडा कार्यालयले जनाएको छ । अस्पतालमा बेड अभाव भइरहेकाले पनि यो सेवा प्रभावकारी हुने वडाध्यक्ष बर्माको भनाइ छ ।
