अस्पतालमा बेड छैन, अक्सिजनको कमी, समयमै कोरोना परीक्षणको रिपोर्ट नआउनु तथा दैनिक जसो मृतकको संख्या बढ्दै जानुले कोरोना संक्रमितलाई हतोत्साहित बनाएको छ । तर, कोरोना हार्ने भन्दा जित्नेहरुको संख्या ठुलै रहेको छ । कोरोना लागेपछि अस्पताल नै पुग्नुपर्ने बिरामीहरुको संख्या एकदमै कम रहेको छ । लक्षण सहितका कोरोना संक्रमित भएपनि अक्सिजन आवश्यक पर्ने मात्रै अस्पताल पुग्नु पर्छ । घरमै पनि अक्सिजनको मात्रा बढाउनका लागि विभिन्न खालका योग र आसनहरुको सुझाव आधिकारिक निकायबाट नै आइसकेको छ ।

बाँकेमा ढिलो गरी लकडाउन भएको हो । कोरोना संक्रमणको साङ्लो तोड्न अन्तिम विकल्पका रुपमा लकडाउन बाध्यकारी भएको हो । गत बर्ष लकडाउनका कारण आर्थिक संकट सबै क्षेत्रले झेल्नुपरेपछि यसबर्ष सकभर लकडाउनको पक्षमा कोही पनि थिएन । तर, समुदायमा स्तरमा फैलिएको कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन लगाएको हो । त्यसको विकल्प पनि थिएन ।
लक्षण सहितका संक्रमित अस्पताल पुगेपछि मात्रै कोरोना परीक्षण हुन थालेपछि भित्रभित्रै कोरोना फैलिएको पत्तो नै हुन सकेन । कोरोनाको लक्षण देखिएकाले पनि घरमै बसेर ठिक हुने भन्दै परीक्षण गराएनन् । त्यसले गर्दा कतिपयको स्वास्थ्यमा गम्भीर अवस्था आएपछि मात्रै अस्पताल पुग्न थाले । अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीको चाप बढेपछि यहाँका अस्पतालले थेग्न नसकेको अवस्था छ । गत बर्ष कोरोना आएपछि बाँकेमा स्वास्थ्य पूर्वाधार तथा तयारी नभएको होइन । तर, एकै पटक संक्रमणको बाढी आएपछि पूर्व तयारी नै हुनसकेन । र, जोखिम बढ्दै गयो ।
कतिपयलाई दोस्रो पटक कोरोना लागेको छ । दुवै खोप लगाएका व्यक्ति पनि कोरोना संक्रमित भएका छन् । मृतक नबढेको होइन । तर, कोरोना जित्ने तथा अस्पताल नै नगएर होम आइसोलेसनमा बस्नेको संख्या पनि ठूलै रहेकाले आत्तिनु पर्दैन । निको भएका कोरोना संक्रमित तथा हाल उपचारमा रहेकाले कोरोनाले गाह्रो बनाए पनि नआत्तिने, चिकित्सकको सल्लाह लिने, खानपानमा ध्यान दिने, योग गर्ने लगायतको सजगता अपनाउने हो भने कोरोना जित्न सकिने अनुभव सुनाउँछन् ।
नेपालगन्जबासी मिन मल्लले होम आइसोलेसन अवधी पूरा गरेका छन् । उनलाई मात्र होइन उनकी धर्मपत्नीलाई पनि कोरोना लागेको थियो । मल्ल भन्छन्, ‘हामीले स्वास्थ्यलाई ध्यान दियौं र सबै नियमहरुको पालना गरेर निको हुन सफल भयौं ।’
कोरोना पोजेटिभ आइसकेपछि मानिस आत्तिनु स्वभाविक हो । तर, कोरोना जित्नलाई मनोबल भने उच्च राख्नुपर्ने मल्ल बताउँछन् । ‘पोजेटिभ आएपछि हामी छुट्टै होम आइसोलेसमा बस्यौं’, उनले भने, ‘हामी बाट अरुलाई संक्रमण नफैलियोस् भन्ने सजग भयौं ।’
‘दैनिक ४÷५ पटक वाफ लिंदै, अदुवा, मरिच, लसुन, ज्वानो, गुर्जो लगायतका सामाग्री मिसाएर बनाएको पानी पनि लियौं’, उनले भने, ‘रोग प्रतिरोधी क्षमता बढाउनका लागि झोलिलो पदार्थदेखि नियमित स्वस्थ खानामा ध्यान दियौं ।’ उनी खाना नरुच्दा पनि औषधी सम्झेर खाने गरेको सुनाउँछन् ।
‘अक्सिमिटरले अक्सिजन चेक गर्ने, ज्वरो नाप्ने, संक्रमण पछि देखिने शारीरिक समस्याबारे चिकित्सक सँग सल्लाह लिएर औषधी सेवन गर्नुपर्दछ’, मल्ल भन्छन्, ‘त्यसबाहेक योगा गर्दा शारीरिक रुपमा थप फाइदा हुन्छ ।’
ऋचा लुइँटेल र उनका श्रीमान् गत बर्ष कोरोना संक्रमित भएका थिए । गत बर्ष कोरोना लाग्दा ऋचाका श्रीमान्लाई अस्पताल जानु नपरे पछि ऋचा भने अस्पताल पुग्नु पर्यो अक्सिजन लेभल कम भएपछि । ‘अक्सिजन लेभर कम भएपछि मेरो मनोबल खसेको थिएन’, उनले भनिन्, ‘उच्च मनोबलका कारण कोरोना जित्न सफल भए ।’ यस बर्षको सुरुमै ऋचाका श्रीमान्लाई पुन कोरोनाका लक्षणहरु देखिए । अस्पतालमा रहेको भीडका कारण परीक्षण गराउन नपाएपनि अनुभवका आधारमा घरमै उपचार गरेको ८ दिनमा कोरोनाको लक्षण हराएका थिए ।
हाल ऋचा कोरोना संक्रमितको मनोबल उच्च बनाउनका लागि सुझाव दिने गरेको बताउँछन् । ‘दैनिक चिनजानका संक्रमितहरुको फोन आउँछ, खानपानदेखि योगाभ्यासम्मको सुझाव दिने र सम्झाउने गरेको छु’, उनले, भनिन्, ‘संक्रमितको हौशला उच्च बनाउन सुझावले निकै काम गर्दछ, यो महामारी सँग जुध्न एकआपसमा सहयोग आदानप्रदान गर्नुपर्दछ ।’
ऋण मानिसलाई आप्mनो शरीमा असहज भएको कुरा थाहा हुने बताउँछिन् । सञ्चो नभएपछि पहिले कोरोना परीक्षण गराएरमात्र घरमै उपचारको विधि थाल्नु पर्ने सुझाव दिन्छिन् । ‘सामान्य ज्वरो, शरीर दुखाई भनेर तत्काल परीक्षण नगराउने, अवस्था बिग्रेपछि तत्काल परीक्षणको रिपोर्ट नआउने जसले गर्दा संक्रमित जोखिममा परेका छन्’, उनी भन्छिन्, ‘शंका लागे तत्काल परीक्षण गरेर उपचार सुरु गरौं, सामाजिक दुरी कायम गरौं, चिकित्सकसँग सुझाव लिऔं, यसले कोरोना विरुद्धको अहिलेको युद्ध हामी जित्न सक्छौं ।’
हेमन्तराज काफ्ले उच्च मनोबलका साथ खानपानदेखि सबै कुरामा ध्यान दिएर कोरोना विरद्ध लडिरहेको बताउँछन् । ‘जित्ने हो कोरोनालाई’, होम आइसोलेसनमा ६ दिन बिताएका उनले भने, ‘स्वास्थ्य हुँदैछु, तर, खोकी भने लागिरहेको छ ।’
आम मानिसमा कोरोना विरुद्ध अब खोपले मात्रै कोरोनालाई हराउन सकिने धारणा राख्छन् । तर, खोप कहिले लगाउन पाउने भन्ने निश्चितता छैन । ‘कहिले खोप आउने हो, कहिले लगाउने ?’ सरकारले यसमा ध्यान दिनुपर्ने बताउँदै स्थानीय भन्छन् /