घरमैं चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याउँदै वडा

कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय सरकारले आफ्नो तर्फबाट विभिन्न प्रयास गरिरहेका छन् । त्यसक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ ले संक्रमित वडावासीलाई घरमैं स्वास्थ्य सेवा शुरु गरेको छ ।


शनिबार चिकित्सकसहितको स्वास्थ्य टोली लिएर वडाभित्र होम आइसोलेसमा पुगेका वडाध्यक्ष प्रमोद रिजालले महामारीको अवस्था रहुन्जेल सेवा जारी राख्ने प्रतिबद्धता जनाए । त्यसका लागि वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरसँग सहकार्य गरिरहेको वडाध्यक्ष रिजालको भनाइ छ ।
भेरी अस्पतालका फिजिसियन डा. पारस श्रेष्ठसहितका स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएका छन् । डा. श्रेष्ठ सहितको टोलीले संक्रमितलाई आवश्यक परामर्श तथा आवश्यक औषधी समेत सिफारिस गरेको वडाध्यक्ष रिजालले जानकारी दिए ।
चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरे आवश्यक परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले सबै सेवा निशुल्क गराउने जनाएको छ । टोलीले स्वास्थ्य तथा हाईजिन किट उपलब्ध पनि गराउनेछ ।


गम्भिर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गरिदिने भएको वडाध्यक्ष रिजालको भनाइ छ । वडा नम्बर १ मा करिब १५० जना सक्रिय संक्रमित छन् । यो सेवा सम्पूर्ण संक्रमितसम्म पुग्ने वडा कार्यालयले जनाएको छ । यसले अस्पतालको चाप कम गर्ने र संक्रमणको जोखिम पनि कम गर्ने विश्वास आफुले लिएको वडाध्यक्ष रिजालले दैनिक नेपालगन्जलाई बताए ।

प्रतिक्रिया

प्रतिक्रिया