डिसिसिएमसीलाई २४ लाखबढीको स्वास्थ्य सामाग्री सहयोग

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँके (डिसिसिएमसी) लाई प्लान नेपालले ठुलो परिमाणमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । दोस्रो लहरको कोरोना संक्रमणका कारण हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारमा सहज होस भन्ने उद्देश्यले बाँकेका दुई वटा गैर सरकारी संस्था मार्फत २४ लाखबढीको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

बाँके युनेस्को क्लब र गेरुवा ग्रामिण समाज संघ मार्फत प्लान नेपालले सोमवार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो सामाग्री हस्तान्तरण गरिएको छ ।

बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले पश्चिम नेपालका अधिकांश गम्भीर संक्रमितको उपचार गर्दै आएको भेरी अस्पताल र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा क्लबका अध्यक्ष राजेन्द्र चौधरी, गेरुवा ग्रामिण समाज संघका अध्यक्ष कृष्ण जंग शाह र प्लान नेपालका संयोजक जनक गिरीले स्वास्थ्य सामाग्रीलाई संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्तरण गरे । सोहीबीच, प्रजिअले भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापालाई सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रदान गरिएका सामाग्रीहरुमा पीपीई ५५० सेट, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजरका बोतल तथा जारहरु, थर्मामिटर, सर्जिकल ग्लोब्स, फेसशिल्ड, स्प्रे ट्यांक र डिगनीटी किट गरेर २४ लाख १८ हजार रुपियाँ भन्दा बढी मूल्यका सामानहरु रहेको बाँके युनेस्कोले जनाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा प्लान नेपालका संयोजक गिरीले प्लानले कोभिड विरुद्धको अभियानमा गैर सरकारी संस्थासंग मिलेर अस्पताललाई सहयोग गर्दै यो लडाईमा ऐक्यबद्धता जनाएको बताए ।

कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एसपी ओम राना, सशस्त्र प्रहरीका एसपी अशोक बम, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया