कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै स्थानीय प्रशासनले गत बैशाख ९ गतेदेखि नेपालगन्जमा जारी गरेको निषेधाज्ञा लम्बिंदै गएको छ । निषेधाज्ञाको पालनामा भइरहेको उदासिनतालाई प्रहरी प्रशासनले नियन्त्रण गर्न सकिरहेका देखिंदैनन् । संक्रमितहरु अधिकांश होम आइसोलेसनमा छन् । तर, त्यहाँसम्मको निगरानी प्रभावकारी भइरहेको देखिंदैन । जसका कारण संक्रमण चेन ब्रेक हुने भन्दा फैलने त्रास देखिन्छ ।
कोरोना संक्रमणका कारण बाँकेमा मंगलवार विहानसम्म एक सय १४१ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका १२५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामामात्रै ११ जनाको मृत्यु भएको जानकारी डिसिसिएमसीले दिएको छ । त्यसमध्ये १० जना बाँकेका र एक जना जिल्ला बाहिरका उपचारका लागि आएका व्यक्ति हुन् ।
बाँकेमा जारी निषेधाज्ञा २७ गतेसम्मका लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख १३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण नघटेपछि वैशाख २७ गते राति १२ बजेसम्मका लागि थप गरिएको जनाएको छ ।
संक्रमण बढेपछि वैशाख ९ गतेदेखि नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता संक्रमण जिल्ला भरी फैलिन थालेको भन्दै बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञामा भने कडाइ हुन नसकेको गुनासो गरिंदै आएको छ ।
बाँके प्रशासनले सोमवार जारी गरेको आदेशात्मक सुचनामा कोरोना संक्रमणको साङ्लो तोडन भन्दै निषेधाज्ञा जारी गरिएकोमा संक्रमण दरमा कमी नआएका कारण आदेशलाई निरन्तरता दिइएको उल्लेख छ ।
नयाँ जारी आदेश अनुसार, यसअघि बैंकका सेवा समेत पूर्ण रुपमा बन्द रहेकोमा अब सिमित संख्याका कर्मचारीद्वारा दैनिक ३ घण्टा सञ्चालन गर्ने गरी बैंक खोल्न पाइने भएको छ । त्यसका लागि सिसिएमसीलेनै निर्देशित गरेको थियो ।
