कोरोना नियन्त्रणमा प्रभावकारिता पहल

नेपालगन्ज उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारीरुपमा अघि बढाउन पहल गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसका लागि नगर क्षेत्रभित्र कोभिड विरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

नगरभित्र होम आइसोलेसनमा बसेका विरामीहरुलाई वडाका स्वास्थ्य फोकलपर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा वाल मन्दिरमा तत्काल आइसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको जनाएको छ ।

नगर प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा बसेको बैठकले भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईलाई मासिक एकलाख ५० हजार रुपियाँ सहयोगको निर्णय पनि गरेको छ ।

स्वास्थ्यकर्मी परिचालित

नेपालगन्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन ४१ ज्ना थप स्वास्थ्यकर्मी भर्ना गरि परिचालित गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरु करारमा भर्ना गरि परिचालित गरेको जनाएको हो ।

स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले दिए । उनका अनुसार, ती मध्ये १५ जनालाई भेरी अस्पतालमा खटाइएको छ ।

जमुनाहस्थित हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको जानकारी दिंदै चन्दले भेरी अस्पतालमा जनशक्ति अभाव हुन नदिन उपमहानगरपालिकाले कर्मचारी भर्ना गरि खटाएको बताए ।

नेपालगन्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आइसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको पनि नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया