लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा आइतवार दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए। दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो । मुख्यमन्त्री पोखरेलको राजीनामा आएपछि सत्ता समीकरणको खेल फेरिएको छ ।
त्यसलगत्तै पोखरेलले आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी गरेका छन्।
पोखरेलका प्रेस सल्लाहकार केसीका अनुसार, एमालेको एकल सरकार बनाउने गृहकार्यअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएको छ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टीका चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको हो ।
विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ ।