बाँकेमा पछिल्लो २४ घण्टा एक सय महिला सहित २४४ जना कोरोना संक्रमित बिरामी निको भएका छन् । यो सँगै बाँकेमा निको हुने संक्रमित संख्या ५ हजार ५६६ पुगेको छ ।
डिसीसीएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, विहीवार १९२ महिला सहित ४३९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै बाँकेमा संक्रमित हुनेहरुको संख्या ९ हजार ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टा ६५४ जनाको स्वाब परिक्षण गरिएकोमा ४९६ जनामा पोजेटिभ पाइएको छ । तीमध्ये ४३९ जना बाँकेका हुन् भने बाँकी ५७ जना बाहिर जिल्लाबाट आएका बिरामी हुन् ।
कर्मचारी र जनप्रतिनिधि संक्रमित
नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत मध्ये हालसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । उपप्रमुख उमा थापा मगरका अनुसार, २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आइसोलेसनमा छन् ।
संक्रमित मध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोना संक्रमणको समयमा समेत अग्रभागमा खटिएर जनताको सेवा गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना देखिएको हो । चैतयता मात्रै उपमहानगरपालिकाका २९ जना कर्मचारीमा कोरोना देखिएको छ ।
कोरोना संक्रमित हुनुभएका कार्यपालिका सदस्य शान्तिदेवी परियार, अधिकृत सातौं दानवहादुर विष्ट र सहायक चौथो युवराज विक्रम घलेको निधन भएको छ । जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिए ।
झण्डै पाँच हजार थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।
गत २४ घण्टा ८८८ जना डिस्चार्ज भएका छन ्। देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । यसैगरी देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ ।