नेपालगञ्ज उप–महानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० बेड अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उप–महानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख थापा मगरले जानकारी दिइन् । ‘अक्सिजन सिलिन्डरको अभावले समस्या परेको थियो, एक्सन एड, बी– ग्रुप लगायतको सहयोगले सजिलो बनाएको छ,’ कार्यबाहन नगरप्रमुख थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘अब सञ्चालनका लागि सबै तयार भएको छ ।’

बुधबार कार्यबाहक नगरप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमाल,भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापा र डा. बद्री चापागाईले आईसोलेसन वार्डको अनूगमन गरे । अनूगमनपछि डा. थापाले आईसोलेसन वार्ड सुविधा सम्पन्न रहेको भन्दै यसबाट भेरी अस्पतालमा विरामीको चाप कम गर्न समेत सहज हुने बताए । भेरी अस्पताल र उप–महानगरपालिकाले तयार गरेको आईसोलेसन वार्ड नजिकै रहेको भन्दै डा. थापाले भेरी अस्पतालबाट चिकित्सकको सहयोग हुने बताउनुभयो । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ ।
नेपालगञ्ज उप–महानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईटहाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आईसोलेसन वार्ड तयार गरेको उप–महानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन कार्य समेत सुरु गरेको जनाएको छ ।