कोरोना कहरः दुई सय थपिए, सयबढी डिस्चार्ज

बाँकेमा कोरोना संक्रमणका विरामी दैनिक जसो बढ्दै गएपनि उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या पनि उल्लेख्य देखिएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले थपिने क्रम बढेपनि निको हुनेहरु पनि बढ्दै गएको बताए ।
सोमबार बाँकेमा २ सय २ जना संक्रमित थपिएका छन् । १ सय २५ जना निको भएका छन् । निको हुनेमा ७ बर्षीया बालिका देखि ७३ वर्षसम्मका छन् । दोस्रो लहरले कोरोना भाइरस संक्रमणको सन्त्रास छाएपछि बैशाख यता सोमबारसम्म बाँकेका ४ सय २६ निको भइसकेका छन् । हालसम्म ५ हजार १२८ जना यो संक्रमणबाट निको भएको तथ्यांक छ । ‘भेरी अस्पतालको ल्याबबाट बाहेक २ सय २ जना संक्रमण पुष्टि भएको छ,’ ओलीले भने ।


यसैबीच, बाँकेमा कोरोना संक्रमणका कारण सोमबार एकै दिन ४ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराइरहेका ४ जनाको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना बाँकेका र १ जना बर्दियाका संक्रमित रहेको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा बाहिर जिल्लाबाट उपचारका लागि आएका १०५ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणका कारण बाँकेकै ८९ जनाले हालसम्म ज्यान गुमाएका छन् ।


पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया