देश कोरोना भाइरस संक्रमणबाट अक्रान्त भइरहेका बेला कोविड विरुद्ध बाँके नरैनापुरमा काम गर्न खटिएका एक डाक्टर घरमै तलब बुझ्दै आएको खुलेको छ ।
नरैनापुर गाउँपालिका वडा नं.२ स्थित प्राथमिक स्वास्थ्यकेन्द्र लक्ष्मणपुरमा कोविड विरुद्ध काम गर्नका लागि २०७७ साल पौष १५ गते करार सम्झौता भई ४४ हजार तलब सहित अन्य सेवा बुझ्दै आएका डाक्टर सुर्य प्रकाश शाह सेवा क्षेत्रबाट गायब छन् । करार सम्झौतामा रहेका कारण उनलाई मासिक रुपमा तलब ट्रान्सफर हुँदै आएको छ, नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले भने, उनललाई दुई चार पटक मात्रै मैले हेरेको छु ।
डा.शाह नियुक्त रहेको स्वास्थ्यकेन्द्र लक्ष्मणपुरमा अहिले ८ जना कोविड संक्रमित विरामीहरु छन् । जसमध्ये अधिकाँश नरैनापुर गाउँपालिकाका कर्मचारी छन् । उनलाई पटक पटक कार्यक्षेत्रमा आउन आग्रह गरिएपनि आएका छैनन्, नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्र शाहले भने, उनी नेपालगन्जमा बस्दै आएको बुझिएपनि नरैनापुरमा आउँदैनन् ।
नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोको ब्यक्तिगत पहलमा डा.शाहलाई नरैनापुरमा ल्याइएको थियो । अहिले महतो आफै पनि विदा लिएर नरैनापुर क्षेत्रबाट गायब पाइएका छन् ।
नरैनापुर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि ब्यवस्थापकीय अभावका कारण थप परीक्षण प्रभावकारी हुन नसकेको श्रोतको दावी छ । अत्यावश्यक सामाग्री खरीद गर्ने कर्मचारी नभएका कारण ब्यवस्थापनमा समस्या आएको विपद ब्यवस्थापन शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए ।
अहिले म आफै आइसुलेसनमा छु, मिश्रले भने, केहि गैरजिम्मेवार कर्मचारीका कारण नरैनापुरले पटक पटक दुख पाउँदै आएको छ । नरैनापुरको एकमात्र आपतकालिन सेवा संचालन रहेको स्वास्थ्यकेन्द्रमै आइसुलेसन रहेपनि डा.शाह पुगेनन् ।