
डा.विनोद कर्ण, अध्यक्ष, नेपाल चिकित्सक संघ भेरी शाखा
बाँकेमा कोरोना संक्रमण ह्वात्तै बढ्दै गएपछि चिकित्सकहरुले सुरक्षा मापदण्डलको पालना गर्न आग्रह गर्दै गएका छन् । बाँकेका अस्पतालले कोरोना संक्रमितको चाप थेग्न नसक्ने अवस्था आएपछि कोरोना विरुद्ध हातेमालोका लागि आव्हान गरिरहेका छन् । कोरोना विरुद्ध सुरक्षित रहनका लागि आव्हान गर्दै आएका नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णसँग यसै सन्दर्भमा कोभिड संक्रमित भई नरैनापुरमा आइसोलेसनमा रहेका पत्रकार विनय दीक्षितले गरेको कुराकानी संक्षेपमा ।
कोरोनाको संक्षिप्त परिचय के हो ?
कोरोना एक वर्ष अघि पत्ता लागेको एक खालको भाइरस हो, यसलाई हामीले कोविड १९ को नामले पनि चिन्छौं । कोरोना भीडी भाइरसको एउटा फैमली छ, यो भाइरस त्यो फैमिली भित्रैको हो । यो नयाँ भाइरस होइन, यसको इतिहास हेर्ने हो १९३१ मा नै यो भाइरस पत्ता लागेको थियो । यसका स्टेनहरु थुप्रै छन् ।
दोस्रो चरणमा यो किन फैलियो ?
भन्दा खेरि दोस्रो चरण भनिन्छ, तर यो भाइरस उन्मूलन भएको वा समाप्त भएको तथ्य छैन । भविष्यमा पनि उन्मूलन हुन सक्ने सम्भावना मात्रै हो । बिचमा अलिकति प्रभाव कम भएका कारण समाप्त भयो भन्ने कुरा आम बुझाई हो तर भाइरस यथावत नै थियो, त्यसै बिचमा आम नागरिकले पुनः पुरानै जीवनशैलीमा फर्कने हतारमा कोविडका मापदण्डमा गरेको लापरवाहीको परिणाम हो ।
बाँके मैं उच्च संक्रमण किन ?
भारतमा देखिएको संक्रमणको उच्चदरको प्रभाव सिमा क्षेत्रमा रहेका कारण यहाँ पनि परेको हो । खासगरि गत वर्ष जुन हिसाबले सतर्कता अपनाइयो त्यस किसिमको यस वर्ष हुन सकेन, बिचमा चैन ब्रेक भएकै कारण प्रकोप कम देखिएको थियो, अनि सबै ब्यक्तिहरु रिलैक्स भए, अनि पुनः संक्रमण दर बढ्न थाल्यो । बाँकेमा स्वास्थ्य मापदण्ड पूरा भएन, अहिले पनि लकडाउन नाम मात्रको छ, तरकारी बजार तिर हेर्ने हो भने भिड यथावत नै छ । यसमा सतर्कता अपनाउन सकिएन भने संक्रमण रोक्न सकिन्न ।
मृत्युदर बढि किन ?
यसलाई प्रारम्भिक रुपमा मानिसहरु रुघा खोकी वा मौसमी फ्लुजस्तै बुझेर कोविड संक्रमण केहि होइन भनि जाँच नगराउने, घरमै आफु खुसी औषधी, गम्भीर भएपछि अस्पताल आउने हुनाले यस वर्ष मृत्यु दर देखिएको हो, तर यसलाई खास उच्च भन्न मिल्दैन । कोही वित्नु भएको छ भने त्यो पक्कै पनि उहाँको परिवारको लागि बज्रपात हो । तर जाँचको दायरा पनि सोही अनुसार बृद्धि भएको छ, जाँचको हिसाबले मृत्युदर आत्तिने किसिमको नभएपनि उपचार भन्दा सतर्कता नै उत्तम विकल्प हो ।
कुन उमेर समूह उच्च जोखिममा छ ?
गत वर्ष यो भाइरसले बालबालिकालाई त्यति प्रभावित नगरे पनि यस वर्ष बालबालिकामा पनि संक्रमण देखिएको छ । उमेर समूहले भन्दा पनि अन्य गम्भीर रोगका कारण रोग प्रतिरोधी क्षमता न्युन भएका वा विरामी तथा निमोनियाको विरामीलाई यसले बढि प्रभाव पार्छ । दीर्घ रोगी र फोक्सो रोगीहरुलाई यसले बढि प्रभावित गर्दै आएको छ । खासगरि २० वर्ष माथि उमेर समूहका ब्यक्तिहरुलाई यसले यस वर्ष बढि प्रभावित गरेको पाइयो ।
जनस्तरबाट हुन नसकेको क्रियाकलाप वा सर्तकता के के छन् ?
जनस्तरबाट भाइरस विरुद्ध जुन हिसाबले स्वास्थ्य मापदण्ड पालन हुनु पर्ने हो, सो अनुसार हुन नसकेका कारण अवस्था यहाँ सम्म आइपुग्यो । आक्सीजन सिलिण्डर र बेड खोज्नु ठूलो कुरो होइन, यस विरुद्ध सतर्क भएर संक्रमणको क्रमभंगता गर्न सक्नु अहिले अस्पताल र आम नागरिक सबैको लागि उत्तम विषय हो । घरमा बस्दा पनि कुनै स्वास्थ्य समस्या जस्तै रुघा, खोकी, जिउ दुख्ने, पखाला, टाउको दुख्ने, खानाको स्वाद र गन्ध पत्ता नलाग्ने अवस्था छ भने कोरोना भाइरस संक्रमण भएको अनुमान गर्न सकिन्छ, त्यसका लागि तत्काल जाँच गराउने र चिकित्सकको सलाह बमोजिम खाने कुरा, औषधीहरु प्रयोग गर्ने । जनस्तरबाट नै यो भाइरस रोक्न सकियो भने अस्पतालमा रहेका विरामीहरुको उपचार पनि सम्भव हुन सक्छ, अन्यथा विरामीको संख्या अनुसार अस्पतालको तयारी छैन ।
कुन अवस्थाको संक्रमितलाई बचाउन सकिन्छ ?
यदि कुनै दीर्घ रोगी छैन, अनियन्त्रित रक्तचाप, अनियन्त्रित आक्सीजन, वा कुनै दीर्घ रोगका कारण शरीरको कुनै अन्य पार्टमा गम्भीर क्षति हुन गएको छैन भने त्यस्ता विरामीको उपचार सम्भव छ । निमोनियाबाट ग्रसित भई आक्सीजनमा राख्दा पनि खासै उपलब्धी हुन सक्ने अवस्था छैन भने त्यस्ता विरामीलाई उपचार असम्भव हुन सक्छ ।
कस्तो खाना खाने र सावधानीका उपायहरु के के हुन् ?
खासगरि पोषिलो खाने कुराहरु, फलफूल, तरकारी, साग तथा तातो पानी खाने, स्वास्थ्य मापदण्डको पूरा ध्यान राख्ने, आफु सुरक्षित हुने र अरु ब्यक्तिहरुको सम्पर्कमा जानबाट बच्ने, यी अवस्थाहरु पालन गर्न सकेमा संक्रमणबाट बच्न सकिन्छ । उपचार भन्दा सतर्कता नै अन्तिम र प्रभावकारी विकल्प हो ।
रुघा खोकी ज्वरो पनि लक्षण हो वा होइन ?
रुघा खोकी, ज्वरो, जिउ दुख्ने, पखाला लाग्ने, काम गर्न मन नलाग्ने, टाउको दुख्ने, स्वासप्रस्वासमा समस्या हुने, बोमिट हुने, कमजोर महसुस हुने, हाडजोर्नी दुख्ने, खानाको स्वाद थाहा नहुने, गन्ध थाहा नहुने, वान्ता हुने जस्ता लक्षण छन् भने संक्रमणको जाँच गराउनु पर्छ । तर सो भन्दा पहिला लक्षण देखिएपछि आफु घरमा छुट्टै बसेर परिवारका अन्य सदस्यहरुलाई पनि सुरक्षित पार्नु पर्छ ।
भाइरसको उन्मूलन सम्भव छ छैन ?
उन्मूलन सम्भव छ वा छैन त्यो अहिलेनै क्लियर हुन सक्ने अवस्था छैन । यस बारे विभिन्न अध्ययन र अनुसन्धान चलिनै रहेको हुँदा भविष्यमा पूर्णमा हट्न सक्ने वा नसक्ने अवस्था स्पष्ट हुँदै जान्छ । फिलहाल त यो समुदायमा रहन्छ नै ।
एउटै ब्यक्तिमा दोहोरिन सक्ने सम्भावना छ ?
दोहोरिन सक्छ । अन्य भाइरसजन्य संक्रमणमा लाइफ लंग फर्मेशन हुन्छ तर यसको संक्रमणमा लाइफ लंग फर्मेशन नहुने भएकोले संक्रमण समाप्त भएको अवधि पछि पुनः कोविड हुन सक्छ । कोबिड ठिक भएको ४ देखि ६ हप्ता भित्र आफ्नो शरीरमा कोविडको एन्टीबडिको लेभल थाहा पाउन सकिन्छ । तर पछि म संक्रमित हुन्न भन्ने बुझ्नु मूर्खता हो । संसारमा जतिपनि रोगहरु छन्, कुनै न कुनै बेला आएकै हुन्, त्यसमा केहि रोगहरुको मात्र उन्मूलन भएको दावी गरिन्छ, यद्यिप विभिन्न भेरिएन्टमा ती रोगहरुमा फर्किएका छन् । त्यस कारण यो दोहोरिने वा न दोहोरिने भन्दा पनि यसबाट कसरी बच्ने र यस संगसंगै कसरी बाँच्ने भन्ने अभ्यासको विकल्प छैन ।
अन्त्यमा केहि ?
हाम्रो नेपाल जस्तो देशमा स्वास्थ्यकर्मीको संख्या एकदमै सीमित छ । यसमा खाली आक्सीजन सिलिण्डर वा बेड दिएर वा दश वटा अस्पताल खोलेर पनि यसको समस्या समाधान हुँदैन । त्यसका लागि म्यानपावर पनि चाहिन्छ । त्यस कारण अहिले सकभर संक्रमितको संख्या घटनाउने तर्फ ध्यान दिन आवश्यक छ । समाज संक्रमित हुनबाट जोगिन्छ भने त्यसबाट पनि अस्पताल र स्वास्थ्यकर्मीलाई धेरै सहयोग हुन्छ ।