हिमाल गैरे
कोरोना कहरः धेरैले जितेको कोरोनासँग आत्तिने भन्दा जुध्ने की
पछिल्लो समयमा चिकित्सक र सञ्चारमाध्यमबाट नै कोभिड १९ को दोश्रो लहर नियन्त्रण बाहिर गएको भन्दै चिन्ता व्यक्त गरे पछि जनमानसमा त्रासदी छाएको पाइएको छ । तर, भय त्रास भन्दा पनि कोरोना लाग्न नदिई सावधानीपूर्वक व्यवहारमा परिवर्तन गर्दा समेत कोरोना संग जुध्नुपर्नेमा विज्ञहरुको जोड छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, बाँकेबाट प्राप्त तथ्याङ्कको विश्लेषण गर्दा पनि मृत्युदर भन्दा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या बढी छ । विज्ञहरु भन्छन्, ‘धेरै असावधानीले फैलिएको संक्रमण थोरै सावधानीले जोगिन सकिन्छ, निको हुन्छ ।’
बाँकेका कोभिड फोकल पर्सन तेज ओलीबाट प्राप्त उक्त तथ्याङ्क अनुसार ७ हजार १ सय ८७ कुल संक्रमित व्यक्ति रहेको मध्येमा १२ बैशाखसम्म ५ हजार ३ व्यक्तिले कोरोना जितेर निको भएका छन् । यसबाट कोरोना जित्ने ७० प्रतिशत रहेको पुष्टि हुन्छ । बैशाख लागे यता आइतवारसम्म मात्रै ३ सय १ जना निको भएर घर फर्किएको ओलीले जानकारी दिए । देशभर आइतवार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना जित्नेमा सबैभन्दा बढी नरैनापुर गाउँपालिका अर्थात ९६ प्रतिशत रहेको छ । भने नेपालगन्ज उपमहानगरपालिका ६४ प्रतिशतले कोरोनालाई परास्त गरेर स्वस्थ भएको पाइन्छ ।
त्यसैगरी मृत्यु भएकाको संख्या विश्लेषण गर्ने हो भने जम्मा कुल संक्रमितको १.१५४ प्रतिशत व्यक्तिहरु कोरोनाका कारण मृत्यु भएका छन् । ‘कतिपय त रोगको भन्दा हल्लाको त्रासले ज्यान गुमाउने पनि छन्,’ विज्ञहरु भन्छन्, ‘अस्पताल पुग्न ढिलाइ वा बेडको अभावले पनि पछिल्ला दिनमा ज्यान गएको छ ।’
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले कोरोनाको संक्रमणबाट आत्तिएर, डराएर बिरामी संक्रमित व्यक्ति झन् कमजोर हुने भएकाले बरु कसरी संक्रमण हुनबाट जोगिने र संक्रमित भैहाल्यो भने पनि रोग विरुद्ध प्रतिरक्षा प्रणाली कसरी बढाउने भन्ने जानकारी प्रदान गर्नु महत्वपूर्ण हुने बताउछन् । ‘कोरोना लागेका सबै व्यक्ति मरेका छैनन्, त्यसकारण कोराना लाग्न नदिन कसरी सावधानी अपनाउने र लागि सकेपछि पनि कसरी त्यस विरुद्ध लाग्ने भन्ने बारेमा यथोचित जानकारीका अभावले पनि सर्वसाधारणमा त्रासदी फैलिएको पाइन्छ’, – वरिष्ठ मनोचिकित्सक डा. उपाध्यायले दैनिक नेपालगन्जसँग भने ।
यस बारे संचारमाध्यम पनि संयमित र सधै नकारात्मक मात्र नभई सकारात्मक पक्षलाई जोड दिनुपर्ने डा. उपाध्यायले बताए । कोभिडको दोश्रो लहर जटिल हुने देखिएको छ तर त्रासदीपुर्ण मात्रै नभएर कोरोना जितेका समाचार सम्प्रेषण गरी संक्रमित व्यक्तिको मनोबल बढाउनमा मद्दत गर्नुपर्ने डा. उपाध्यायको सुझाव छ ।
मनोविद् दिपक शर्मा पनि स्वहेरविचार र आफ्नो शारीरिक र मानसिक हेरविचारमा जोड दिनुपर्ने बताउँछन् । ‘विभिन्न खालका समस्यामा मात्रै होइन संभावना र सकरात्मक समाचारमा ध्यान दिन सके पनि विपद् र महामारीमा रोगसंग प्रतिकार्य गर्ने क्षमतामा वृद्धि हुन्छ,’ दैनिक नेपालगन्जसँग कुरा गर्दै मनोविद् शर्माले भने ।
मनोसामाजिक परामर्शकर्ता कमला डाँगी यस्तो समयमा तनाव व्यवस्थापन, अत्याधिक डर त्रास उत्पन्न हुँदा संक्रमित व्यक्ति वा आफन्तहरुमा निकै असहजता हुने बताउँछिन् । ‘मनमा नियमित रुपमा नकारात्मक सोचाई, डर र त्रास उत्पन्न भैराख्यो भने आफ्नो नजिकको व्यक्ति, प्रियजन संग कुराकानी गर्नुपर्दछ,’ मनोसामाजिक परामर्शकर्ता डाँगीको भनाइ छ । त्यसो पनि नभएमा मनोचिकित्सक, चिकित्सा मनोविद, मनोविद्, मनोसामाजिक परामर्शकर्ता वा विभिन्न सहयोग प्रदान गर्ने टेलिफोनहरु जस्तै १६६००१८५०८०, १६६००१२१६०० लगायत माध्यमबाट विज्ञहरु संग परामर्श लिन उनले सुझाव दिइन् ।
कोरोनाको रोकथाममा भइरहेका प्रयास
स्थानीय प्रशासनले संक्रमणको ‘चेन व्रेक’ गर्नका निम्ती जारी निषेधाज्ञा २० बैशाख सम्म बाँके जिल्ला भरी लागु हुने गरि बढाएको छ । सबैभन्दा महत्वपूर्ण भनेकै यो बेला घरबाहिर नसिस्कने नै हो ।
नेपालगन्ज उपमहानगरपालिकाले तत्काल अक्सिजन सहितको ५० शैयाको आइसोलेसन तयार गर्ने निर्णय गरेको छ । ‘रामलीला मैदान नजिकैको भवनमा काम शुरु गरिसकेका छौं,’ नगर उपप्रमुख उमा थापामगरले दैनिक नेपालगन्जसँग भनिन् ।
समुदायस्तरबाट पनि एउटा प्रयास थालिएको छ, एनआइडिसी भवनमा ‘होल्डिङ आइसोसेलन ।’ त्यसको पहलकर्ता डा. बद्री चापागाईं, श्रीराम सिग्देल, अजय टण्डन लगायतले प्रमुख जिल्ला अधिकारीसँग भेट गरि समन्वयात्मक सहमति लिएका छन् । ‘यसलाई हामीले पुरै सहयोग गछौं,’ पहलका लागि पुगेको टोलीमैं सहभागी उपप्रमुख थापाले भनिन् ।
भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाको सार्वजनिक अपिल पछि अस्पतालमा अक्सिजन एंव आवश्यक सहयोगका निम्ती सहयोग जुटिरहेको बताएका छन् । शनिवारमात्रै लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालगन्ज लगायत प्रदशेको अवस्था जानकारी गराएका छन् ।
‘यस्तो महामारीका बेलामा हाम्रो मन नकारात्मक तिर जान खोज्नु स्वभाविक हो तर हामीले यस भन्दा अगाडी विभिन्न खालका असहज परिस्थीतिको सामाना गरिसकेका छौं,’ सरकार तथा समुदायस्तरबाट रोकथाम र उपचारका लागि भइरहेका प्रयासबारे जनतालाई जानकारी दिनुपर्ने धारणा राख्दै मनोसामाजिक परामर्शकर्ता डाँगीले दैनिक नेपालगन्जसँग भनिन्, ‘द्वन्द्व, महाभुकम्प र गत वर्षको कोरोनाको लहरलाई समेत सामना गरेर आएको हौं । हो यो विपद् महामारी पनि हामी जित्नेछौं । त्यसका निम्ती मनोवल बढाउनुपर्ने हुन्छ ।’ हरेक मानिस संग सामना गर्ने क्षमता हुन्छ, त्यसलाई चिन्न सक्नु पर्दछ र सोही अनुसार अगाडी बढ्नु पर्नेमा डाँगीको सुझाव छ । ‘तर समस्या परेमा सहयोग माग्न हामी कहिल्यै पछाडी पर्नुहुदैन् ।’ उनले थपिन् ।