शिवराम गेलाल
प्रमुख जिल्ला अधिकारी, बाँके

तपाईंले जिम्मेवारी सम्हालेदेखि महामारीसँग जुधिरहनु भएको छ । के के गरियो अहिलेसम्म ?
म जिल्लामा आउँदा कोरोना संक्रमितको अवस्था बढ्दै गएको अवस्था थियो । अहिले पनि छ । हालको अवस्थामा कसरी कोरोनाको चेन ब्रेक गर्न सकिन्छ भनेर लागि परेको अवस्था छ । त्यसका लागि हामीले अस्पतालहरुमा कोभिड वार्डको व्यवस्थापन गर्ने, हिजो पनि कोभिड वार्डको व्यवस्था थियो, तर, जति बेड थियो तर संक्रमण बढ्दै जाँदा थप बेडको आवश्यक देखियो, त्यसकै व्यवस्थापनमा छौं ।
स्थानीय तहमा हिजो सञ्चालनमा रहेको आइसोलेसन सेन्टर बन्दको अवस्थामा थिए । तिनीहरुलाई पुनः परिचालित गर्ने कुरा अगाडि बढाइएको छ । जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई व्यवस्थित तरिकाले स्वास्थ्य चेकजाँच गर्ने, ज्वरो आएकालाई परीक्षण गरी पोजेटिभ देखिए आइसोलेसन पठाउने र नआउने व्यक्तिलाई होल्डिङ सेन्टरबाट सम्बन्धित ठाउँमा पठाउने कुराहरु हामीले गरिरहेका छौं ।

संक्रमण वृद्धिको तथ्यांकले त्रासको अवस्था छ, कारण के हो ?
एकाएक कोरोना संक्रमणको अवस्था बढ्दै गएको देखिन्छ । त्यसको कारण हामीले स्वास्थ्य मापदण्डहरुलाई नअपनाएको कारण, सामाजिक दुरी कायम नगरेको कारण, खुल्ला सीमाका कारण आवतजावतमा निर्बाध हुँदा पनि समस्या भएको हो । मुख्यनाकाबाट मात्रै आउने जाने भनिएपछि भित्री नाकाको पनि प्रयोग हुँदा कोरोना संक्रमित भित्रिएका हुन् । समयमा चेकजाँच नहुँदा पनि कोरोना संक्रमित बढ्नुको अर्को कारण हो ।
लकडाउन नै समाधान हो त ?
सबै कार्य सधैं निषेध गरेर मात्रै हुँदैन । मुभमेन्ट घटाएर व्यक्तिको आचरणमा सुधार गरेर, व्यक्ति स्वयं चाहीँ म स्वस्थ रहन सक्छु र म आफु स्वास्थ्य रह्यो परिवार स्वस्थ रहन्छ, परिवार स्वस्थ रह्यो भने समाज स्वस्थ रहन सक्छ भन्ने चेतना दिन सकियो भने सफल हुन सकिन्छ । त्यही चेतना नहँुदा आजको अवस्था आएको हो । यसलाई अझ न्यूनीकरण गर्न मास्क तथा सेनिटाइजारको प्रयोग गर्ने हो भने केही रुपमा न्यूनीकरण हुँदै जानेछ भन्ने मलाई लाग्दछ ।
लकडाउनको उद्देश्य परिपूर्ति तर्फ गैरहेको छ ?
हिजोको दिनमा जसरी भीडभाड लगायतका कुरा थिए अहिले त्यो अवस्था छैन । तर, भनेजस्तो पूर्ण लकडाउन हुनसकेको छैन । त्यसका विविध कारण छन् । यही बेला टियुको परीक्षा सञ्चालनमा थियो, यस्तै जमुनाह नाकालाई हामीले पूर्ण रोक्न सकिरहेका छैनौं । त्यो कारणले अहिले पूर्ण लकडाउन हुन सकिरहेको अवस्था छैन । तर, धेरै सफल र सुधारोन्मुख छौं, लकडाउनको सन्दर्भमा ।
उसो भए लकडाउनले निरन्तरता पाउँला ?
स्वास्थ मापदण्डको पालना भएन र संक्रमणको चेन टुटाउन सकिएन भने निषेधलाई फेरि पनि निरन्तरतामा जानु पर्ने हुनसक्छ ।
डिसिसिएमसी अपेक्षित प्रभावकारी नभएको हो ?
अलिकति हो । अपेक्षा अरु पनि थिए । पूर्ण रुपले लकडाउन हुन्छ भन्ने थियो तर, विविध कारणले लकडाउन पूर्ण रुपमा गर्न सकिएन ।
होम आइसोलेसनको निगरानी छ ?
हाम्रो गस्ती टोलटोलमा पुगेको छ । एकचोटी पुगेपछि त्यही नै घुमेर सधैं बसिरहने स्थिति भने छैन । तर, रह्यो के भने समूहहरु बनाएर स्थानीय तहमा पनि परिचालन गरेर ती कुरा गर्नुपर्ने थियो, तर हुन सकेन । यद्यपि, कहिं, कतै समूहले स्वःस्फूर्त काम गरेको सुनिन पनि आएको छ । तर, सर्वत्र त्यसो भएको छैन । स्वयंसेवक साथीहरुले होम आइसोलेसनमा बसेकाको निगरानी गर्ने, होम आइसोलेनमा बस्नेलाई परिवार र समाजबाट सम्मानजनक व्यवहार होस् भन्ने हामी चाहन्छौं ।
जनप्रतिनिधि अनि राजनीतिक दल परिचालित हुन नसकेको हो ?
हामीले सबै संयन्त्र परिचालित गर्न खोजेका छौं । गरेका पनि छौं । तर, पनि जुनरुपमा देखिनु पर्ने थियो त्यो रुपमा नदेखिएको हो कि भन्ने लाग्छ । संख्या घट्यो भने त्यो हो भन्ने रुपमा आउँछ भने संख्या नै नघट्यो भने त्यो नदेखिएको अवस्थामा छ । तरपनि यसर्लाइ निरन्तरता दियौं भने, स्वास्थ्य मापदण्ड पालना गर्दै गयौं भने अहिलेको संक्रमितको अवस्था घट्दै जान्छ भन्ने मलाई लाग्छ ।
अझै सशक्त भूमिका नागरिक स्तरबाटै आवश्यक छ ।
अन्त्यमा,
नेपाल सरकार अथवा विश्व स्वास्थ्य संगठनले जुन मापदण्ड पूरा गर्न भनेको छ ती कुराहरु पालना गर्नुपर्दछ । विना काम घर बाहिर ननिस्कौं, त्यसको साथसाथै मास्कको प्रयोग गरौं । कुनै ठाउँमा कुनै गर्नुपरे सामाजिक दुरी कायम गरौं भन्ने विशेष अनुरोध गर्न चाहन्छौं ।