
म कक्षा ९ मा अध्ययनरत छात्रा हुँ । यतिबेला वार्षिक परीक्षाको प्रतिक्षा गर्दागर्दै लकडाउनको चपेटामा परेर न यताको न उताको अवस्थामा अल्झिएकी विवश विद्यार्थीको रुपमा लेख्ने मन बनाएँ ।
कक्षा ९ को दोस्रो परीक्षा दिएर ३ दिने स्कुले बिदामा घर बसेकी थिएँ तर त्यत्रो १ वर्ष सम्म मानव जीवन, शिक्षा, अर्थतन्त्र,कारोबार र रोजगार सखाप पारेर नि चित्त नबुझाएको कोरोना भाइरसले फेरि नेपालमा दोस्रो चरणको प्रकोप तिब्र रुपमा देखायो जसको असर बाँके जिल्लामा झन् भयावह रुपमा देखियो । त्यसको मारमा हामी विद्यार्थी बालबालिका पहिलो निशानामा परियो । संक्रमणको जोखिमबाट जोगाउन एक साता विद्यालय बन्द घोषणा भयो ।
बाँके फेरि हटस्पट बन्नसक्ने प्रवल सम्भावना देखिएकाले १ हप्ताको लकडाउन लगाउने निर्णय गरियो । सरकारले एक महिना विद्यालय बन्द घोषणा पनि गरिसक्यो । अब मुख्य कुरो यहि हो कि पहिलेको वर्ष जस्तै १ हप्ता हुँदै सुरु भएको लकडाउनले हामी विद्यार्थीहरुलाई लगभग ९ महिना घरमै थन्क्याईदिएको थियो र अहिले पनि १ हप्ता भनेर लगाइएको लकडाउन नबढ्ला भन्ने के सुनिश्चित ? अब छोटो रुपमा बुझ्दा हामी विद्यार्थीहरुले दोस्रो परीक्षा सकेर अन्तिम परीक्षाको पर्खाइमा थियौं र त्यो अन्तिम परीक्षाको अन्त्यसँगै हाम्रो नयाँ कक्षाको आरम्भ हुने थियो तर त्यही अन्तिम परीक्षा आउन लागेको अन्तिम समयमा लकडाउनको घोषणा भयो जसकारण हामी विद्यार्थीहरु न यताको न उताको भइरहेका छौँ ।
जहाँसम्म मैले बुझेकी छु, हामी मानिसकै लापरवाहीका कारणले कोरोना भाइरसको दोस्रो प्रकोप देखिएको हो । जब कि कोभिड–१९ को शत्प्रतिशत (१००%) सहि खोप तयार भएको छैन र यसको जोखिम कम भएको पनि छैन भनेर थाहा हुँदाहुँदै सहि तरिकाले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउनु र लापरवाही गर्नु हामी मानिसकै गल्ती हो ।
अहिले कोभिडको शिकारमा दिनहुँजसो विद्यार्थी र बालबालिकाहरु परिरहेका छन् । कोरोना संक्रमण पुष्टि भएका संक्रमितको संख्या एक्कासी बढ्नाले फेरि नेपाल पनि मृत्युकालको छायाँ बन्ने हो कि भन्ने त्रास फैलिएको छ । मलाई थाहा छ यो समय एकदमै कठिन समय हो र यसको एक मात्र सरल उपाय मानिस–मानिसबाट नै टाढा बस्नु हो । तर, यसको अर्थ जीवनोपयोगी शिक्षाको उज्यालो ज्योति त्यागेर भविष्यका कर्णधार बन्ने हामी बालबालिकालाई विद्यालय जानबाट वञ्चित गरेर अन्धकारमा धकेल्न पनि त भएन ।
विद्यार्थीहरुको जीवनमा त झन् हरेक मिनेट, हरेक सेकेन्ड अझै भन्नुपर्दा हरेक पलको महत्व हुन्छ। हरेक समय जब कुनै पनि कुराको प्रकोप सुरु हुन्छ चाहे त्यो राजनीतिक असमर्थताका कारण गरिने स्ट्राइक होस्, कुनै पार्टीले दिने धम्की होस् वा महामारीको समय होस् ती हरेक घटनामा विद्यालय नै बन्द किन हुनुपर्ने ? हरेक घटनामा शिक्षा र हामी बालबालिका मात्रै किन मारमा पर्ने ? हो कोभिडले वृद्ध , बच्चा, विद्यार्थी, जागिरे , बेरोजगार केहि पनि भन्दैन तर हामीले त यो कोभिड–१९ हो जसको सहि उपचार समेत पत्ता लागेको छैन, यसबाट बच्नुपर्छ, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्छ र शिक्षाको ज्योति निभाउन हुन्न भन्न सक्छौँ ।
लकडाउन हुँदा पनि दुनियाँ मानिसले आफ्नो कारोबार जोगाउन जागिरमा जान्छन् काम गर्छन् , पसले र व्यापारीहरु व्यापार गर्नेतिर तम्सिन्छन् अझ् भन्नुपर्दा कालोबजारी समेत गरिरहेका हुन्छन् । त्यस्तो बेला विद्यालयलाई नै किन बन्द गरेर शक्तिपुर्ण तरिकाले खोल्न र विद्यार्थीहरुलाई विद्यालय जानबाट रोक लगाइन्छ ? कोरोना लाग्न सक्छ बालबालिकालाई भन्ने नै मुख्य विषय हो भने त सबैको आमाबुबा, दाजुदिदी जागिरे हुनुहुन्छ । यो अस्तव्यस्त सहरमा उहाँहरु कामबाट फर्किंदा कोभिड लागेछ भने त घरका बालबालिकालाई नसरला अथवा नलाग्ला भन्न मिल्छ त ? अहँ ! मिल्दैन । यदि धैर्यतापुर्ण सोच्ने हो भने बिना लकडाउन गरी, विद्यालय बन्द नगरी पनि कोरोना नियन्त्रण गर्न सकिन्छ भन्ने उपाय खोज्ने की ! यदि स्वास्थ्य सुरक्षा मापदण्डको उचित प्रयोग, भौतिक दुरी कायमता, नियमित साबुन पानीले हात धुने, मास्कको प्रयोग सबै मानिसहरुले गर्ने हो भने कोरोना नियन्त्रण गर्न सजिलै तरिकाले सकिन्छ र यसको प्रमाण स्वरुप हामी आफैले नेपालको पूर्व कोभिड तथ्याङ्कलाई पल्टाएर हेर्न सक्छौँ ।
मानिसहरूले सबै स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेकाले कोभिड –१९ नियन्त्रणमा आएको थियो तर, कोरोना सकियो अब खोप आइसक्यो भन्ने भ्रम र फेरि सुरु भएको लापरवाहीका कारण कोभिडको दोस्रो कहर नेपालमा तिब्र गतिमा फैलन सुरु भयो । आखिरमा बिना लकडाउन गरी, विद्यालय बन्द नगरेर पनि बिचमा कोरोना नियन्त्रण भएकै त रहेछ नि ! त्यस्तै तरिकाले अब पनि नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने मेरो धारणा छ । विद्यालयले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग, सामाजिक दुरी, मास्कको अनिवार्य प्रयोग, साबुन पानीको व्यवस्था आदि चाहिने सम्पूर्ण व्यवस्था गरेर विद्यालय सञ्चालनमा ल्याएसी कोरोना विद्यार्थीमा सर्ला जस्तो मलाई लाग्दैन ।
विद्यार्थीहरुले पनि त्यही अनुरुप मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा नियमहरू पालना गरी साथीहरूसँग पनि आपसी मेलमिलाप जस्तै, हात मिलाउने सँगै बस्ने, सँगै खाने नगरे पछि विद्यालय बन्द गर्नुपर्ने र शिक्षा प्रणाली रोक्नुपर्ने अवस्था सिर्जना हुनेछैन र रोक्नु पनि पर्दैन भनेर म विश्वस्त छु । यसबीचमा भर्चुअल कक्षा सुरुवात गर्ने पनि भनिएको थियो र पछिल्लो वर्ष सुरुवात भएर पनि पढाई भएको थियो तर त्यसमा पनि सबै विद्यार्थीहरुले सहभागी जनाउन सकेका थिएनन् । जसकारण विद्यालय खुलेपछि त्यो पाठ पढाई नहुँदा धेरैले कक्षा क्याप्चर गर्न गार्हो पनि भएको थियो ।
अब यो पाली पनि भर्चुअल कक्षा सञ्चालन गर्ने भन्ने कुरा त मुर्खतापूर्ण काम नै हो । भर्चुअल कक्षा पढ्नलाई चाहिने सुविधाहरु सबै विद्यार्थीहरुसँग नहुने भएकाले आधा संख्यामा विद्यार्थीहरुको त पढाई नै आधा हुने भयो। अब आफैले सोच्नुहोस्, त्यसरी आधा विद्यार्थीहरुले पढ्ने र आधाले नपढ्ने गरेर पनि भोलि गएर देशको कर्णधार बन्ने ती बालबालिकाहरुमा बराबर क्षमता र उचित शिक्षाको विकास होला त ? त्यसकारण भर्चुअल कक्षा भन्दा पनि विद्यालय नै खोलेर सुरक्षित तरिकाले पढाई सुचारु गर्न नै उपयुक्त हुन्छ भन्ने मेरो धारणा छ वा यो भनांै हामी सबै विद्यार्थीहरुकै धारणा यहि छ ।
मेरो यो लेखको एउटै उद्देश्य भनेकै हामी विद्यार्थीहरुको शिक्षा आर्जन गर्ने ठाउँ विद्यालय बन्द नगर्नु भन्ने कुरामा प्रकाश पार्नु हो । हो मानव जीवनको स्वास्थ्य नै पहिलो दर्जामा हुनुपर्छ त्यसकारण सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरुलाई पुनःसञ्चालनमा ल्याउने हो भने एकातिर स्वास्थ्यमा पनि हानी हुने छैन र अर्कोतिर शिक्षा पनि आर्जन गर्न सकिन्छ । कक्षा कोठामा सबै विद्यार्थीहरुलाई भौतिक दुरी कायम गरेर पढाउँदा बस्ने सिटको अभाव हुन सक्छ त्यसैले समय छुट्टाएर सिफ्टिङ गरेर पढाउँदा एकदमै फाइदाजनक हुन्छ ।
एकातिर थोरै विद्यार्थीहरु माझ पढाउँदा र पढ्दा, शिक्षकले बुझाउँदा र हामीले बुझ्दा दुबै शिक्षक र विद्यार्थीलाई नै फाइदाको बिषय बन्छ भने अर्कातिर सामाजिक दुरीको कायमता नै हुँदा स्वास्थ्य जोखिम हुनबाट बच्न सकिन्छ । मलाई त त्यसैपनि घरमा बस्न भनेपछि कस्तो अल्छी भएको महसुस हुन्थ्यो किनभने सँधै स्कुल जाने र रमाउने म अब यत्रो दिन वा यो भनौ महिनांै जान सक्ने लकडाउनको समय मेरो कसरी कट्ला झन् परीक्षा हुने नहुने सुनिश्चित पनि छैन । लकडाउन नगरी पनि नियन्त्रणमा आउन सक्ने कोरोना यसपालि पनि शैक्षिक संस्था बन्द नगरेरै नियन्त्रणमा आउँछ कि जस्तो लाग्छ मलाई । तसर्थ, लकडाउन नै कोरोना नियन्त्रण गर्नलाई एक मात्र विकल्प होइन तर अरु विकल्पहरु मध्येको एक चाहिँ हो ।
सहि नियमको पालना, उचित मास्क को अनिवार्य प्रयोग, साबुन पानीले नियमित हात धुने र सामाजिक दुरी कायम गरी भिडभाड नगराउने जस्ता विधि अपनाउनुका साथै रसिलो पोषिलो खाना खाने र गर्मी बढ्यो भनेर यो पाली पेयपदार्थ धेरै चिसो नपियौँ साथै प्रतिरोधात्मक क्षमता बढाउने खानपानले समेत यस रोगलाई नियन्त्रणमा राख्न सक्छ । तर यदि लापरवाही नै गर्ने हो भने चाहिँ लकडाउन गरेर सबैलाई आफ्नै घरमा कैदिबन्दी जस्तै बस्ने नियम सुचारु गरिदिए हुन्छ ।
अब फैसला आफै गर्नुहोस् सावधानी ग्रहण गरेर नियम पालना गर्ने कि लाठीचार्ज गरेर घरमै कैदिबन्दी बनेर बस्ने ? अतः विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डको तयारी सहित पुनःसञ्चालनमा आओस् भन्ने कामना र अपील गर्दछु । साथै कोरोना भाइरस परालको आगो सरी फैलिरहेको छ र दिनहुँ मानिसहरु संक्रमित र मृत्यु पनि भईरहेको छ त्यसैले यस रोगलाई हलुका सोंच्ने भुल नगरौँ र सचेत बनि सुरक्षित बनौं र सुरक्षित बनाउँ । (बेलाबेला समसामयिक विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै आएकी सन्ध्या होप इन्टरनेशनलमा कक्षा ९ अध्ययनरत छिन् )