भरिए बाँकेका कोभिड अस्पताल, घरमैं सुरक्षित

अक्सिजनको भाग अस्वाभाविक रुपले बढ्यो, कालोबजारीको जोखिम, स्वास्थ्यकर्मीनै संक्रमितः ओटी बन्द

कोहलपुरमा आइसोलेसन वार्डमा भर्ना हुन पालो पर्खिनुपर्ने अवस्थाका विरामी कोभिड वार्ड बाहिर: (तस्विरः डा. देवेन्द्र आचार्य)


‘भर्खरै अर्काे एउटा कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेज, नर्सिंङ होममा निधन भयो, उनले कहिंपनि भर्ना हुन बेड उपलब्ध हुन सकेन,’ डा. असिम किदवाईले कोरोना कहरको एउटा सन्देश प्रवाह गर्ने क्रममा बुधवार राती भनेका छन्, ‘दुई जना सिकिस्त विरामी बेड पर्खिरहेका छन् ।’ नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डा.किदवाई आइसियु इन्चार्ज हुन् ।
नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका चिकित्सक डा. देवेन्द्र आचार्यले विहीवार बिहान एउटा मार्मिक तस्विर सार्वजनिक गरे । जुन तस्विरले डा. असिमका शब्दलाई सचित्र पुष्टि गर्छ । (हे. माथि) ‘यस्ता दृष्य हरेक दिन देखिन्छ,’ गम्भीर हुँदै डा. आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘कोहलपुरमा आइसोलेसन वार्ड वा आइसियुमा भर्ना हुन पालो पर्खिनुपर्ने अवस्था छ ।’
यस क्षेत्रकै ठुलो नीजि क्षेत्रको नेपालगन्ज मेडिकल कजेल, शिक्षण अस्पताल कोहलपुरलाई सरकारले तेस्रो लेभलको कोभिड अस्पताल पनि मानेकाले पश्चिम नेपालका विभिन्न ठाउँबाट रेफरल विरामीहरुको उस्तै चाप छ । ‘गम्भीर अवस्थामा आएका विरामी राख्न बेड अभाव भएपछि ४५ बेडको कोभिड वार्डलाई एक सय पु¥याइएको,’ नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनोििडयाले जानकारी दिए । ‘३० बेडको आइसियु सहितको सय बेडनै भरिसक्यो,’ २५० बढी अन्य बिरामी पनि रहेको शिक्षण अस्पताल कोहलपुरमा कोभिडका बिरामी राख्न सकस भइरहेको जानकारी दिंदै डा. कनोडियाले दैनिक नेपालगन्जसँग भने, ‘अस्पतालमा संक्रमित राख्नै ठाउँनै छैन ।’
यही अवस्था पश्चिम नेपालकै सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालको छ । ‘ओभर लोड भइसक्यो,’ भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले विहीवार राती दैनिक नेपालगन्जसंग भने, ‘गम्भीर प्रकृतिका विरामीनै यति भइसकेकी अब आउनेलाई राख्ने ठाउँनै छैन ।’ भेरीमा अस्पतालकै प्रोटोकल मिचेर कोचाकोच बिरामी राख्नु परेको चिकित्सकहरुको गुनासो छ ।
भेरीमा विहीवारसम्म १ सय ४० सिकिस्त र ४० बढी शंकास्पद कोरोनाका विरामी भर्ना छन् । कोरोनाको दोस्रो लहर शुरु भएपछि कोभिड वार्डलाई विस्तार गरि १४२ बेडको बनाइएको हो ।
स्वास्थ्यकर्मीनै संक्रमितः ओटी बन्द
भेरी अस्पतालका ३० जना स्वास्थ्यकर्मी संक्रमणको चपेटोमा परेका छन् । जसका कारण अस्पताको सेवा सिमित भएको छ । ‘जनशक्ति अभावले ओपीडी लगायतका सेवालाई अत्यावश्यक सेवामात्रै प्रवाह गर्नेगरि सेवा सिमि तगर्नुपरेको छ,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले दैनिक नेपालगन्ज लाई दिएको जानकारी अनुसार, अपरेशन थिएटर बन्दनै गर्नुपरेको छ ।
बढ्यो अक्सिजनको माग
कोभिड वार्डमा बिरामीको चाप बढेसँगै दैनिक अक्सिजनको माग पनि ह्वात्तै बढेको भेरी अस्पतालले जनाएको छ । प्रतिदिन साढे २ सयदेखि ३ सयको हाराहारीमा सिलिण्डर खपत हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । डा. थापाका अनुसार, सामान्य अवस्थामा अस्पतालमा दैनिक १० देखि १५ वटा ठुला अक्सिजन सिलिण्डर मात्रै प्रयोग हुने गरेको थियो ।
भेरी अस्पतालसँग अक्सिजन प्लान्ट छैन । ‘नभएकोले अरुको भर पर्नु पर्दा अहिलेको अवस्थामा केही तनाव छ,’ डा. थापाले दैनिक नेपालगन्जसँग भने, ‘यो अवस्थामा अक्सिजन नपाएर सिकिस्त बिरामीहरुको सुरक्षाको तनाव हुने गर्छ ।’
नेपालगन्जमा दुईवटा मात्रै अक्सिजन सिलिण्डर सप्लायर्स छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट लिक्विड अक्सिजन आपूर्ति गरेर सिलिण्डर भरेर नेपालगन्जका विभिन्न अस्पतालमा दिने गर्छन् । नेपालगन्ज मेडिकल कलेज, विभिन्न नर्सिङ होम लगायत अन्य अस्पताललाई पनि ती दुई सप्लायर्सकै भरमा छन् । यस्तो अवस्थामा भारतमा अक्सिजन अभावको बहानामा कारोबजारी भइरहेको समाचार आइरहँदा नेपालमा पनि सचेत हुनुपर्नेतर्फ सम्बद्धको ध्यान जानुपर्ने औल्याइएको छ ।
‘भारतमा नै धेरै अक्सिजन खपत भइरहेको अवस्थामा नेपालमा लिक्विड अक्सिजन आपूर्ति गर्न पनि चुनौति हुनसक्छ,’ डा. थापाले बिरामी बढ्दै गएकाले अक्सिजन सप्लाइको विकल्पमा ध्यान जानुपर्ने औल्याए । उनका अनुसार, भेरी अस्पतालमै ६० भन्दा बढी बिरामीलाई निरन्तर अक्सिजनको आवश्यकता छ ।
विहीवारमात्रै भेरी अस्पतालमा अक्सिजन सिलिण्डर आपूर्तिकर्ताले समयमै सिलिण्डर उपलब्ध नगराउँदा करिब २ घण्टा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । अक्सिजन सिलिण्डर सप्लायर्सले आफ्नो प्लान्टमा विद्युत् ट्रान्सफर्मर बिग्रिएपछि सिलिण्डर भर्न नपाउँदा आपूर्तिमा समस्या भएको दावी गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया