कोरोना कहरमा बाँकेः थामिनसक्नु संक्रमण


हिमाल गैरे


नेपालमा कोभिड १९ को दोश्रो लहरमा संक्रमण दर उच्च भए पछि बन्दाबन्दी (लकडाउन) गर्ने पहिलो शहर बनेको नेपालगन्जमा संक्रमित दर ह्वात्तै बढेको छ । बिहिबारमात्रै ४ सय ८२ जनाको जाँच गरिएको मध्यमा ३ सय ८८ जना पोजेटिभ पाइएको छ । जुन ८० प्रतिशत हुन आउँछ । यसले पनि कोरोनाको संक्रमण जटिल रुपमा फैलिएको संकेत गरेको चिकित्सकहरु बताउँछन् ।


भेरी अस्पतालमा मात्रै २ सय ७६ परिक्षण गरिएको मध्येमा २ सय ४८ जना संक्रमित भेटिएको र कोहलपुर शिक्षणअस्पतालमा १ सय ७ मध्येबाट ७३ संक्रमित पुष्टि भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले कोराना समुदाय स्तरमा गैसकेको संक्रमणदरले पुष्टि गरेको बताए । ‘कोभिडका छुट्टाइएको सबै बेडहरु भरि सकिएको छ,’ सबैलाई गम्भीर हुन आग्रह गर्दै डा. थापाले दैनिक नेपालगन्जसँग भने, ‘अवस्था जटिल भएकाले उपचार नपाएर सडकमै बिरामीहरु मर्नुपर्ने अवस्था आउने खतरासँग नजिकै छौं ।’

‘जिम्मेवार कोही बन्न सकेनन,’ भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भावुक हुँदै नेपालगन्जन्यूजसँग भने, ‘अक्सिजन लेबल ८६ भएका बिरामीलाई पनि आँखा भरी आँसु लिएर बेड छैन भन्दा कति पीडा भाछ होला ? ‘कृपया अब स्थिती भयावह भयो, भेरी अस्पतालमा बेड छैन गालि कति खाउ अब भेरी अस्पताल परिवारमात्रै ?,’ अध्यक्ष धितालले भने ।
दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगन्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिँडडुल बन्द प्रायःछन् भने लकडाउनले गर्दा नेपालगन्जका बजार पूर्णरुपमा बन्द छन् । तर, अझैपनि बजारमा हिड्डुल गर्ने र अनावश्यक भिड गर्नेहरु टोल टोलमा देखिन्छन् ।


रोजगारीका कारण भारतको दिल्ली, मुम्बई, गुजरातमा कोरोना अत्याधिक बढेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । उनीहरुलाई सोझै नाकाबाट नगरबसले बसपार्कमा ल्याउने र त्यहाँबाट सम्बन्धित गन्तव्यतिर पठाउने व्यवस्था गरिएको छ ।
होल्डीङ्ग सेन्टरमा राखी निगरानीमा राख्नुपर्नेमा सोझै समुदायमा पठाउँदा संक्रमणको दायरा झन् फराकिलो हुने जोखिम समेत रहेको भएतापनि सोबारे स्थानीय प्रशासन र स्थानीय सरकार अन्देखा गरेको पाइन्छ ।

विहीवार नेपालगन्जको जमुनाह हँुदै भारतबाट घर फर्कंदै नेपाली । तस्विरः अताउल मुस्तफा कादरी


। नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज विष्णु गिरीका अनुसार, पछिल्ला दिनमा दैनिक ५ हजार नेपाली घर फर्किरहेका छन् ।
नेपालगन्ज मेडिकल कलेजमा ८६ वर्षीया महिलाको मृत्यु भएको छ । बैसाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते रिपोर्ट पोजिटिभ आएको थियो । उनको बिहिबार बिहान सबा २ बजे मृत्यु भएको हो । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार, बिहीबार देशभर थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना सक्रिय कोरोना संक्रमित छन् । यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएकाछन् ।

प्रतिक्रिया

प्रतिक्रिया