बाँकेमा कोरोना संक्रमितको संख्या सोमवार झनै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा मात्रै २१९ जनामा संक्रमण पुष्टि भएको हो । ३७५ जनाको स्याम्पलमा २१९ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ‘नेपालगन्ज मेडिकल कलेज र वागेश्वरी ल्याबको तथ्यांक आउनै बाँकी छ,’ ओलीले नेपालगन्जन्यूजसँग भने । यति ठुलो संख्यामा एकै दिन संक्रमण पुष्टि भएको भेरी अस्पतालको पहिलो घटना हो ।
पछिल्लो एक साता बाँके, खास गरि नेपालगन्जमा कोरोना संक्रमितको संख्यामा निकै बढोत्तरी भइरहेको छ । त्यसको तुलनामा नियन्त्रणका अपेक्षित प्रयास हुन सकिरहेको छैन भने जनस्तरबाट पनि अपनाउनु पर्ने सावधानी देखिएको छैन ।

शैक्षिक संस्था एक महिना बन्द
सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका बाँकेको नेपालगन्जसहित मुख्य सहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने आदेश दिएको छ ।
कोरोना संक्रमण गम्भीर भएको भन्दै सरकारले मुख्य सहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । सरकारले परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पनि सरकारले आदेश दिएको छ । अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक सार्वजनिक गर्दैे मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको पनि जानकारी दिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको हो ।
सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक÷सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ । सरकारी निर्णय अनुसार, सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइने छैन ।
सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने व्यवस्था सरकारले गरेको छ ।
सार्वजनिक स्थानमा पाँच जनाबढी भेला हुन रोक लगाएको सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।
विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने, मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।