लुम्बिनी प्रदेशको मन्त्रीमण्डल बिस्तार, बाँकेका यादव सहित तीन जना मन्त्री बने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गरेका छन् ।
बाँकेका प्रदेशसभा सदस्य विजय यादव सहित तीन जनाले सोमबार मन्त्रीको सपथ लिएका छन् । बुटवल–लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री थपेका हुन् ।


मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जोगाउनका लागि थपिएका मन्त्रीले आज नै सपथ ग्रहण गरेका छन् । समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डेले मन्त्री पदको सपथ लिएका हुन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई मन्त्रीको रूपमा सपथ ग्रहण गराएका थिए ।


सन्तोष पाण्डेले भौतिक पूर्वाधार, विजय यादवले भूमि व्यवस्था तथा कृषि र कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको सपथ लिएका । सुमन रायमाझीले राज्यमन्त्रीको सपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्रीले सपथ ग्रहण गराए ।


सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता लिदंै मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसअघि मुख्यमन्त्री विरुद्ध ४१ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेश सरकार जोगाउन ४३ जना प्रदेशसभा सदस्यको विश्वास लिनुपर्ने हुन्छ । ४१ जना अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने मध्ये ३ जना जनता समाजवादी पार्टीका सोमबार नै मन्त्री बनेपछि सरकार जोगिने देखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया