पत्रकार विनय श्रीवास्तव नेपाल–भारत संयुक्त पत्रकार मञ्च भारत तर्फका संयोजक थिए

वरिष्ठ भारतीय पत्रकार विनय श्रीवास्तवको कोरोना संक्रमणका कारण निधन भएको छ । भारत उत्तर प्रदेश लखनउमा शनिवार निधन भएको उनको उपचार अभावनै कारण मानिएको छ ।
उनको निधनमा नेपाल भारत संयुक्त मञ्च नेपाल पक्षका संयोजक पूर्ण लाल चुके र भारत पक्षका सचिव मनीराम शर्माले संयुक्त शोक प्रेस विज्ञप्ति जारी गरी स्वर्गीय श्रीवास्तव प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरेका छन् ।
स्वर्गीय श्रीवास्तवका सुपुत्र हर्षिद श्रीवास्तवका अनुसार, अस्वस्थ भएपछि उत्तर प्रदेशको राजधानी लखनउका विभिन्न अस्पतालमा उपचारको लागि लैजादा कुनै पनि अस्पतालले भर्ना गर्न नमाने पछि उपचारकै अभावमा श्रीवास्तवको निधन भएको हो ।
निधनको केही घण्टा अगाडी श्रीवास्तवले आफ्नो फेसबूक स्टाटसमा आफ्नो शरीरमा अक्सीजनको लेवल ५० प्रतिशत भन्दा कम देखिएर स्वास्थ्य समस्या भएपछि लखनउका विभिन्न अस्पतालमा जाँदा भर्ना नलिएको र वास्ता नगरेकोमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय प्रति आक्रोस पोखेका थिए । उनले के सरकारी अस्पताल ठुलावडा नेताहरुकै लागि मात्र हो ? सर्वसाधारणले स्वास्थ्य सेवा कसरी पाउँछन् त भनि प्रश्न खडा गरेका थिए ।

उपचारको अभावमा श्रीवास्तवको ६५ वर्षको उमेरमा निधन प्रति भारतीय अखवार र आम पत्रकारहरुले रोष व्यक्त गरेका छन् ।
वरिष्ठ पत्रकार चुकेका अनुसार, करीब ३५ वर्षसम्म अमर उजाला लगायत विभिन्न राष्ट्रिय अखरवारहरुमा आवद्ध भई सक्रिय पत्रकारितामा संलग्न श्रीवास्तव नेपाल भारत संयुक्त मञ्चको स्थापनाकालदेखि नै भारत पक्षका संयोजक थिए । मञ्च र पत्रकारिताको माध्यमबाट नेपाल भारत वीचको सम्बन्धलाई मजवूद गराउन र नेपाली र भारतीय पत्रकारहरु वीच मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न स्व. श्रीवास्तवको उल्लेखनीय भूमिका रहेको थियो । उनको निधनले पत्रकारिताको क्षत्रमा अपुरणीय क्षति भएको पत्रकार चुकेले बताए ।