भेरी अस्पतालले भन्यो, अनिमात्रै अस्पताल आउनु

कोभिड– १९ को संक्रमण आक्रमक रुपमा फैलिइरहेको भन्दै यस क्षेत्रको ठुलो सरकारी अस्पताल, भेरी अस्पतालले परीक्षणको दायरा बढाउन तयार रहेको जनाएको छ । अस्पतालले आइतवार पछिल्ले २४ घण्टाको तथ्यांक प्रति चिन्ता गर्दै भनेको छ, ‘विगत २४ घन्टामा यस अस्पतालको प्रयोगशालामा ८१ नमुनामा आरटिपीसीआर गरिएकोमा ७५ मा संक्रमण भेटिएको छ जसअनुसार पोजिटिभिटी रेट ९२.६ प्रतिशत हुन आउँछ ।’
यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले पोजिटिभिटी रेट यति उच्च आएको जानकारी दिंदै भेरी अस्पतालले भनेको छ, ‘समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक छ ।’ ‘यसको निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्ट÷अन्य आबश्यक सामाग्री प्राप्त हुने र स्थानीय निकायहरूबाट नमुना संकलन गरि पठाइदिने हो भने परिक्षणको दायरा थप बढाउन भेरी अस्पताल हरदम तयार छ,’ भेरीले आफ्नो आधिकारिक फेसबुक पेजमा आव्हान गर्दै आइतवार लेखेको छ ।
भेरी अस्पतालका अनुसार, कोभिड महामारी सुरु भएपछि यस अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड, संकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रीआइसोलेसन वार्ड (जम्मा क्षमता १४२ बेड) करीब करीब भरिइसकेको छ । १५ शैयाको कोभिड आइसियू पनि प्याक भैसकेको छ । ‘संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ,’ भेरीले भनेको छ, ‘अतः भिडभाड नगरिदिनुहुन, अत्याबश्यक काम नपरेसम्म घरबाट ननिस्कनुहुन, मास्कको अनिवार्य प्रयोग गर्नुहुन, भौतिक दुरी कामय गर्नुहुन तथा रुघारखोकी, ज्वरोका लक्षण देखा परेमा स्वएकान्तबास (सेल्फ आइसोलेसन) गर्नुहुन समेत अनुरोध गर्दछौं।’
‘स्वाब परिक्षणमा पोजिटिभ आएका व्यक्तिहरूले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरि तापक्रमको अभिलेख राख्ने, सामान्य जरो आएमा सिटामोट आबश्यकता अनुसार प्रयोग गर्ने, रगतमा अक्सिजनको मात्रा नाप्न Pulse Oximeter को व्यवस्था गरि समयसमयमा नाप्ने, स्वास प्रस्वासमा समस्या आएमा, जरो नियन्त्रण नभएमा वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशत भन्दा कम भएमा अस्पतालमा आउनुहुन समेत सम्पूर्ण जनसमुदायमा अनुरोध छ,’ भेरी अस्पतालले गरेको सार्वजनिक अपीलमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया