बाँके प्रशासनले भारतीय सीमा नाका नियमनमा कडाइको निर्णय गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा कोरोना संक्रमणको जोखिम देखिएको छ । पछिल्लो दुई दिनमा मात्रै नेपालगन्जस्थित जमुनाह हुँदै भारतबाट नेपाल प्रवेश गरेका २५ नेपालीमा कोरोना संक्रमण पुष्टि जोखिमको सम्भावना देखिएको हो ।
शनिवारमात्रै भारतबाट आएका दश जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको गुजरात र दिल्लीबाट आएका दश जनामा शनिबार बिहान कोरोना पुष्टि भएको हो । उनीहरुको नेपालगन्ज नाकामा स्वास्थ्य जाँच गरिएको थियो । ‘सीमाबाट आउनेहरुको चेकजाँचमा पछिल्ला दुई दिनमात्रै २५ जनामा संक्रमण पुष्टि भएको छ,’ बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, शनिवार संक्रमण पुष्टि भएका एक जनाको तथ्यांक आइतवारमात्रै देखिनेछ ।
भारतको गुजरातबाट आएका सातजना र दिल्लीबाट आएका दुईजना लगायतलाई कोरोना देखिएको हो । कोरोना देखिनेमा ६ जना सुर्खेत तथा बाँके, दाङ र जाजरकोटका एक–एक जना रहेका छन् । भारतबाट आएका १८ जनालाई आशंका गरेर जाँच गर्दा दश जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रवार नेपालगन्ज नाकामा १५ जनामा कोरोना पुष्टि भएको थियो । भारतको दिल्ली, मुम्बई, गुजरातबाट आएका नेपालीमा कोरोना देखिएको हो ।
खुल्ला सिमाना, स्वास्थ्य मापदण्डको उलङ्घन र लापरवाहीका कारण बाँकेमा पछिल्लो एक सातामै कोरोनाको प्रकोप भयावह देखिएको छ । हरेक दिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं जादाँ समेत यहाँको प्रशासनले उचित कदम चाल्न सकेको छैन । चिकित्सकका अनुसार, संक्रमित भएका ब्यक्तिहरुको समेत उचित ब्यवस्थापन नहुँदा समुदायस्तरमै कोरोना फैलिसकेको छ ।