बाँकेमा बढ्दो संक्रमणः रुपैडिहा जान रोक

नियन्त्रणको प्रयास सुरु, एक साता विद्यालय बन्द, मास्कको प्रयोग अनिवार्य, राती नहिड्न आग्रह

बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नियन्त्रणको प्रयास सुरु गरिएको छ । गत बर्ष चैत्रमा बाँकेमा कोरोना संक्रमित भएको थिएन । तर, देशव्यापी रुपमा चैत्र ११ देखि लकडाउन भयो । अहिले कोरोनाको दोस्रो लहर समुदाय स्तरमा समेत फैलिएको आशंका रहेको छ । अहिलेकै अवस्थामा कोरोना बढ्दै गए लकडाउन बाध्यकारी हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

जिल्लामा कोभिड संक्रमित बढ्दै गएपछि नियन्त्रण तथा उपचारका लागि पूर्व तयारी थालिएको छ । सक्रिय कोरोना संक्रमित बढ्दै गएको अवस्थामा बिहीबार जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक बसेर विभिन्न निर्णय गरेको छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद गेलालको संयोजकत्वमा भएको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा विभिन्न निर्णय गरेको हो ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बिहीबार भएको बैठकले भारतबाट जमुनाह नाका हुँदै आउनेको स्वास्थ्य चेकजाँचका लागि बनाइएको हेल्थ डेस्क प्रभावकारी बनाउने, आवश्यक जनशक्ति उपमहानगरपालिकाले व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले अत्यावश्यक काम बाहेक सीमावर्ती भारतको रुपैडिहा जान नेपालीहरुलाई रोक लगाउने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमित दर घट्दै गएपछि सामुहिक भेला हुने खालका कार्यक्रममा रोक लगाइएको थिएन । तर, ह्वात्तै कोरोना संक्रमित थपिंदै गएपछि जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले २५ जना भन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाएको छ । सभा, सम्मेलन, भेला, महोत्सव आयोजना नगर्ने, नगराउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सबै स्थानीय तहमा ५० बेडको आइसोलेसन तत्काल केन्द्र तत्काल स्थापन र सञ्चालन गर्ने अनुरोध गरेको छ । बैठकले नेपालगन्ज उपमहानगरपालिकालाई साविकमा सञ्चालनमा रहेको झण्डै १ सय २० बेड क्षमता भएको होटल ह्वाइट हाउसलाई आइसोलेसन केन्द्र यथाशिघ्र पुनः सञ्चालनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । कोभिड संक्रमितको उपचारमा सघाउन पुर्याउन प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले कोभिड विरुद्ध सचेतनामूलक प्रसारप्रसार गर्ने निर्णय पनि गरेको छ भने सार्वजनिक स्थलमा स्यानिटाइजर, मास्क, भौतिक दुरी पालना गर्ने, गराउने निर्णय गरिएको छ । बैठकले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको आइसोलेसन वार्डलाई तोकिए भन्दा बढी शुल्क नलिने गरी पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया