गैर सरकारी संस्था महासंघ नेपाल बाँकेले नेपालगन्जमा बाँके जिल्ला स्तरिय प्रथम नागरिक सम्मेलन आयोजना गरेको जनाएको छ ।
गैसस महासंघ बाँके शाखाका सचिब आशीष वर्माका अनुसार, बिभिन्न संघ—संस्थाहरुको सहकार्य तथा समन्वयमा आइतबार भएको नागरिक सम्मेलनले विभिन्न ११ बूँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ । नागरिक सम्मेलनको खुल्ला छलफल पश्चात ‘नेपालगन्ज घोषणापत्र’ जारी गरिएको हो ।
मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय र स्वतन्त्रताका लागि नागरिक समाजको भुमिकालाई थप प्रभावकारी बनाउने कुरालाई घोषणापत्रले प्राथमिकता दिएको छ ।
गैसस महासंघले पठाएको जानकार।ी अनुसार, संघीय संरचना अनुरुप सामाजिक संघ—संस्था सम्बन्धि नयाँ ऐन ल्याई गैससमैत्री वातावरण सिर्जना गर्न संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्व निकायसंग माग गर्ने कुरालाई घोषणा पत्रमा राखिएको छ ।
दिगो विकासका लक्ष्यहरुलाई आन्तरिकरण र स्थानीयकरण गर्ने, सामाजिक मुद्वाहरुको उठान गरी बहस गर्ने र तार्किक निष्कर्षमा पुग्नका लागि आयोजित नागरिक सम्मेलनलाई थप ब्यवस्थित गर्दै निरन्तरता दिन भनिएको छ ।
गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले उद्घाटन गरेका हुन् । उनले जिल्लाको समग्र विकासका लागि नागरिक समाजका संस्थाहरुको भुमिका अतुलनिय रहेको बताए ।
कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष जितराम लामाले नागरिक समाज कम्जोर नभएको बताएका थिए । नागरिक समाज देश विकासको एउटा अभिन्न अंग भएको बताउदै राज्यले नागरिक समाजलाई काम गर्नका लागि गैससमैत्री वातावरण बनाउनुपर्ने लामाको भनाइ थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघ नेपाल बाँके शाखाका सल्लाहकार पुनित विक्रम शाह, शिवलाल पाण्डे, रविन्द्र कर्ण, रुम टु रिटकी सुष्मा राइ लगायतले बोलेको जानकारी गैसस महासंघले दिएको छ ।
नागरिक सम्मेलनमा दुइवटा बिषयमा प्यानल छलफल गरिएको थियो । गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले गैसस मैत्री वातावरण, दिगो विकास लक्ष्य र सुशासन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले अध्यक्षता गरेको उक्त प्यानल छलफलमा गैसस महासंघ बाँकेका सल्लाहकार तेजविक्रम शाहले कार्यपत्रमाथि टिप्पणी गरेका थिए भने गैसस महासंघ बाँके शाखाका सचिब आशिष वर्माले सहजिकरण गरेका थिए ।
त्यसैगरी सामाजिक समावेशीकरणका लागि सरोकारवालाको भुमिका विषयमा अर्को प्यानल छलफल भएको थियो । गैसस महासंघ बाँकेका सल्लाहकार रबिन्द्र कर्णले कार्यपत्र प्रस्तुत गरेको प्यानलको अध्यक्षता गैसस महासंघ नेपालकी केन्द्रीय सदस्य नेत्रकला शाहीले गरेकी थिइन् । गैसस महासंघ नेपाल बाँकेकी कोषाध्यक्ष निर्मला सुनारले सहजिकरण गरेको प्यानल छलफलमा प्रस्तुत कार्यपत्रमाथि अधिकारकर्मी कमला पन्तले टिप्पणी गरेकी थिइन् ।
गैसस महासंघ नेपाल बाँकेका सचिब आशीष वर्माले सञ्चालन गरेको कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । कार्यक्रम विभन्न नागरिक समाजका संस्थाका प्रमुख तथा प्रतिनिधि र बिभिन्न क्षेत्रका युवा हरुको उपस्थिति रहेको थियो ।