वेभमा आधारित ढुवानी प्रणाली (भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम)ले व्यवसायीलाई समस्या परेको भन्दै ‘उदारता’को अपेक्षा गरिएको छ । प्राविधिक रुपमा सक्षम नभएका कारण ‘दक्ष नहुन्जेल कानुन कार्यान्वयनमा उदार’ भइदिन व्यवसायीहरुले अपेक्षा गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले राजश्व अनुसन्धान कार्यालय, कोहलपुरको सहकार्यमा मंगलवार आयोजना गरेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मा व्यवस्था भएअनुसारको ‘भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ले समस्या पारेको गुनासो व्यवसायीहरुले राखे । ‘व्यवसायीहरुले प्राविधिक सक्षमता अभावलेमात्रै दुख पाइरहेका छन्,’ संघका महासचिव चिरञ्जीवी ओलीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसबारे व्यापक अन्तक्र्रिया गरिएको छ ।’

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्याय राजश्व अनुसन्धान कार्यालय, कोहलपुरका प्रमुख सरोज कुमार पोखरेल, संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, प्रवक्ता टंक बहादुर धामी लगायतले बोलेका थिए । राजश्व अनुसन्धान कार्यालय, कोहलपुरका शाखा अधिकृत सुनिलराज देवकोटा भिसीटिएस सम्बन्धी जानकारी गराएका थिए ।