
हरेक व्यक्तिको आफ्नै कथा, व्यथा, विचार तथा अनुभव हुन्छन् । महिला विशेश बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा आज पनि हामी सधैं सरह महिलाका अनुभव, उनका चुनौती, सिकाई र उप्लब्धि बारे चर्चा गर्नेछौं । आज हामी एक यस्ता व्यक्तित्वका अनुभव साझा गर्नेछौ जो विगत दुई दशकदेखि मुस्लिम समुदायसंग नजिक भइ समाजमा योगदान पुर्याउदैं आइरहनु भएछ । उनको अनुभवका बारेमा चर्चा गर्नु पुर्व उनका बारेमा केही जानकारी साझा गर्नु आवश्यक छ उनी हुन् बर्दिया राजापुर माइत रहेको र नेपालगन्जकी सपना भट्टराई । उनी व्यक्तिगत रुपमा र विभिन्न सघं संस्थामा आबद्ध रहनुका साथै गैर सरकारी संस्था महासंघकी अध्यक्ष रहेर मुस्लिम मात्र नभइ थारु, मधेशी, पहाडी दलित तेस्रोलिंगी समुदायसंग पनि नजिक भइ समाजमा योगदान पुर्याउँदै आइरहनु भएछ । अहिले कुनै संघ संस्थामा प्रत्यक्ष आबद्ध नरहे पनि उनले सामाजिक संजाल मार्फत महिला मुद्दा उठान गर्ने, व्यक्तिगत रुपमा पीडितलाई भेटेर सरसल्लाह दिने असहायहरुलाई सहयोग गर्ने जस्ता काम गर्दै आइरहनु भएछ ।
आरामै हुनुहुन्छ ?
हजुर आरामै छु अलि अलि शरीरलाई दुख भए नि ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
आजभोलि डाक्टरको सल्लाह अनुसार घरमै बसेर आराम गर्दै छु । तर सामाजिक क्षेत्रमा प्रत्यक्ष रुपमा नभए नि अप्रत्यक्ष रुपमा र सामाजिक संजालमार्फत मेरो सकृयता अझै छ ।
हजुरले विगत लामो समय महिला मुद्दा विशेषमा काम गर्नुभयो के पाउनु भयो अवस्था ?
मैले निकै लामो समय महिला सशक्तिकरण, राजनीतिमा महिला सहभागिता, महिला हिंसा रोकथाम, मानव बेचबिखन रोकथाम, महिला प्रजनन स्वास्थ्य सम्बन्धी मेलमिलाप, न्यायिक निकाय सम्म पहुँच, सचेतना तथा शीपमुलक जस्ता क्षेत्रमा काम गरें ।
हुन त महिला हिंसाका अनेक कारण छन् तर भनिन्छ गत वर्ष कोरोनाले गर्दा महिला हिंसाका घटना निकै बढेको पाइयो के भन्नु हुन्छ यसमा ?
महिला हिंसा बढ्नुको मुख्य कारण अभाव र तनाव हो (अभावका कारण हुने तनाव हो ।) कोरोनाकालमा हामी सबैले हेर्यौं सरकारले बिना पूर्व योजना र बिना कुनै पुर्व व्यवस्था घोषणा गरेको लकडाउनले मध्यम र निम्न वर्गका परिवारलाई धेरै असर पार्यो । यहाँसम्म लुगा कपडा किन्नु त परै जाओस् मानिसलाई छाक टार्न गाह्रो भयो । पुरुष आफ्नो परिवारको कमाउने परिवार चलाउने जिम्मेवार व्यक्ति हो तर लकडाउनको कारण सृजना भएको अभावले मानसिक तनाव भयो अब तनावमा साधारण व्यक्ति लाई त साना साना कुरा रिस उठ्छ अब रिस पोख्ने कस माथि भन्दा त पत्नी बाहेक सहज को हुन सक्छ । त्यसकारण कोरोनाका कारण होइन कि अभाव र तनावका कारण त्यतिखेर हिंसाका साथै आत्महत्या र लुटपाटका घटना समेत बढेका थिए ।

विगत लामो समयदेखि हजुर मुस्लिम समुदायसंग नजिक रहेर काम गर्दा त्यहाँ शिक्षा, स्वास्थ्य र महिलाहरु सम्पत्तीमा अधिकारको अवस्था के कस्तो पाउनु भयो ?
हेर्नुस्, मुस्लिम समुदायमा शिक्षा छदैं छैन भन्ने हो भने झुठो कुरा हो । मुस्लिम पुरुषहरुलाई त पहिला पनि पढाउँथे । तर सहर तिर हेर्ने हो मुस्लिम महिलाहरु पनि उच्च शिक्षा लिएका छिन् । गाउँघरमा अझै शिक्षामा पछाडि छन् । स्वास्थ्य तिर पनि अहिले सुधार भएछ स्वयं मुस्लिम महिलाहरु आफै स्वास्थ्य स्वयंसेविका भएर समुदायमा काम गर्दैछिन् । अहिले नेपालगन्जमा नै हेर्ने हो भने मुस्लिम महिलाहरु डाक्टर र नर्स समेत छिन् । तर सम्पत्तीमा अधिकार छैन । सरकारले महिलाको नाममा सम्पत्तीमा राख्दा कर कम लाग्ने हुँदा फाइदा देखेर महिलाका नाममा सम्पत्ति राख्न त राख्छन् तर इच्छा र आवश्यकता हुँदा बेच्ने अधिकार चाहीं महिलालाई हुदैन र यो मुस्लिम मात्र होइन सबै समुदायमा यही अवस्था छ ।
यहाँले भन्नुभयो मुस्लिम समुदायमा पनि महिलाहरु शिक्षित छिन् तर कुनै निकाय, संस्था वा व्यवसायमा किन उपस्थिति न्यून देखिन्छ ?
मुस्लिम समुदायमा पर्दा अर्थात बुर्का लगाउनुपर्छ धर्मले महिला पर्दामा रहेर कुनै पनि पदीय जिम्मेवारी निर्वाह गर्ने, व्यवसाय गर्ने स्वतन्त्रता दिएछ । तर महिलालाई काम गर्न सक्ने सुरक्षित वातावरण नै अझै सम्म निर्माण हुन सकेछैन । यसका साथै सरकारले राजनीति बाहेक अन्य क्षेत्रमा समावेशी नीति कार्यान्वयन गर्न गराउन सकृयता देखाउँदैन । त्यसकारण मुस्लिम महिलाहरुको सहभागिता न्यून देखिन्छ ।
कस्तो खाले सुरक्षित वातावरणको कुरा गर्न खोज्नु भएको हो ?
हेर्नुस् अहिले पनि महिलाहरुलाई सार्वजनिक स्थलमा, कार्यालयमा, यहाँसम्म कि विद्याको मन्दिर स्कुलमा यौनजन्य हिंसाको सिकार बनाइन्छ । बलात्कारका घटना बढ्दैछन । महिला हिंसा, तलाक, दाइजोप्रथा, घरेलुहिंसाका घटनाका आंकडा दिन प्रतिदिन बढ्दै छन् । महिलाका लागि काम गर्न सुरक्षित वातावरण नै छैन ।
उसो भए अहिले सम्मको आँकडालाई हेर्दा महिलाका लागि काम गर्ने संस्थाको उपलब्धि के त भनी प्रश्न आउँछ ?
महिलाका लागि काम गर्ने संस्थाले काम नै गरेको होइन, काम त गरेछन् र आज त्यसको नतिजा हो राजनीतिमा महिला सहभागिता, कृषि व्यवसाय, खुद्रा पसल आदिमा महिलाहरुको सकृयता बढ्दैछ । तर जुन स्तरमा बढ्नु पर्ने थियो त्यो चाहीं अझै बढ्न सकेछैन । मलाई नै दुई दशक जति भयो यो क्षेत्रमा काम गर्दा तर सोचे र खोजे जस्तो परिवर्तन मैले देख्न पाइन अझै पनि धेरै काम र प्रयास गर्नु आवश्यक छ ।
सोचे र खोजे जस्तो सकारात्मक परिवर्तनका लागि के गर्नुपर्ला त ?
त्यसको लागि सयुंक्त समिक्षा र आत्मालोचना गर्न आवश्यक छ । यतिका पहल ,प्रयास र बजेट लगानी गर्दा पनि हुनुपर्ने उपलब्धि हासिल नहुँदा सोच्ने ठाउँ आउँछ कि हामीसंग कहीं त चूक भएकै हो हामी भन्दा खेरी म लगायत संस्थाका पदाधिकारी, सरकार र सरकारी निकाय, नीति निर्माताहरुले संगै बसेर यस विषयमा गहन छलफल गरी दिगो समाधानको निकास निकाल्ने बेला हो यो यदि अहिले पनि ढिला गरियो भने अझै बिसौं वर्षसम्म हाम्रो समुदायको हाल यही रहने छ खासै सुधार हुनेछैन ।
यस्तो हुनुको कारण के होला ?
यसको मुख्य कारण हो कि संघ संस्थाहरु परियोजनामुखी भइदिए । समुदायको समस्या पहिचान र त्यसको समाधान गर्नु भन्दा पनि उनीहरुको सारा ध्यान बजेट कसरी बचाउने तिर बढी केन्द्रित भइदियो । समुदायको अवस्था सुधार गरी समुदायलाई सम्वृद्ध, विकसित र सन्तुष्ट बनाउने पहल गर्नु भन्दा दातृ निकायलाई सन्तुष्ट बनाउने तिर लागे । त्यसको नतिजा आज समुदायको अवस्थामा खासै परिवर्तन हुन सकेन ।
हामीले हेर्छौ काम गर्नेले तपाई जस्तै कुनै पद नलिइकन पनि समाजका लागि योगदान गरिरहेछन् । तर काम चाहि खासै नगर्ने नै सकभर आफ्नो समुदायको अगुवा भनी जहाँ पनि उभिएको देख्छौं कारण के होला ?
हेर्नुस्, समाजसेवा गर्न मानवजातीको कल्याण गर्न, असहायलाई सहयोग गर्न, पीडितलाई आवश्यक सुझाव सल्लाह दिनका लागि पद हुनै पर्छ भन्ने छैन् । पदमा नरहेर पनि समाजको भलाइ गर्न सकिन्छ । समाजसेवा नै मानवको धर्म हो मानवता भन्दा ठुलो कुनै धर्म छैन् । तर आज जसलाई सोध्नुस् उसले आफुलाई समाजसेवी भन्छ । जबकी वास्तवमा उसले समाजसेवाको अर्थ नै बुझेको हुदैंन् । समाजसेवा त्यो भाव हो जसलाई निस्वार्थताका साथ गरेपछि मन र आत्मालाई शान्ति एंव सन्तुष्टि मिल्छ । जबकि आज हेर्नुस् आफुलाई समाजसेवी भनेछन् जहाँ पनि कुदेछन् अनि समाजसेवाको नाममा गरिने त्यो कुदाई जसले सन्तुष्टि दिनुको सट्टा थकावट दिन्छ त्यसलाई कसरी समाजसेवा र त्यस्ता व्यक्तिलाई कसरी समाजसेवी भन्ने । अधिकांश हेर्नुहुन्छ भने जसले आफ्नै परिवार पाल्न सकिरहेछैनन्, जसले घरमा आफ्नै पत्नीमाथि कुटपिट गर्छन्, जसले आफ्नै बुहारीमाथि हिंसा गर्छन् जसको आफ्नै छोरी घरेलु हिंसा पीडित हुन्छिन् यहाँसम्म जो स्वयं घरेलुहिंसाका सिकार छन् तिनी हिंसा गर्ने र सहनेहरु नै आज समाजसेवी कहलिदैछन् । जबकी जसले वास्तवमा निस्वार्थ रुपमा आफ्नो समुदाय आफ्नो टोलछिमेकका असहायहरुलाई मद्दत गरिरहेछन् वा गरिरहेकी छिन् तिनीहरु ओझेलमा परेछन् । उनीहरुको कार्यको मुल्यांकन नै हुन सकेको छैन् । न सरकारले यसमा कुनै पहल गर्यो न समुदायले नै ।
यसको कारण र के होला ?
यसको कारण हो हरेक कुरामा सहजता खोज्ने हाम्रो बानी । निस्वार्थताका साथ समुदायको हितमा काम गर्नेहरुलाई हामीले समुदायभित्र पसेर खोज्ने प्रयास नै गर्दैनौं । जो दुई चार जना अगाडि फ्रन्ट लाइनमा देख्छौं तिनैलाई नै अवसर र सम्मान कदर आदि प्रदान गरिन्छ ।
यसको समाधानका लागि के गर्नुपर्ला त ?
यसको लागि मिहेनत गर्नुपर्छ र त्यसको लागि समाजभित्र पसेर नियालेर हेर्नु आवश्यक छ कि कसले स्वार्थ पुर्तिका लागि काम गर्न र कसले निस्वार्थ भावले समाजको हित हुने काम गरिरहेछ । अब नाममा मात्रको विकास गरेर हुँदैन अब त साँच्चिकै विकास देखिनुपर्ने रणनीतिका साथमा गर्नुपर्छ । जसले रणनीतिपूर्वक समाजको हितमा योगदान पुर्याइरहेछन् उनीहरुको खोजी गरी उनलाई प्रोत्साहन स्वरूप कदरपत्र सम्मानपत्र आदि दिएर अझ हौसला बढाउनुपर्छ ।
उसो भए अब के गर्दा बेस होला ?
अब सम्बन्धित संघ संस्थाले आ आफ्नो समुदाय, वर्ग, क्षेत्र आदिलाई समेटेर कम्तीमा एउटा देश व्यापी सर्वेक्षण गर्नुपर्छ । त्यसबाट समुदायको यथार्थ अवस्था, आवश्यक, चुनौती आदि थाहा हुन्छ । त्यसपछि त्यसलाई समाधान गर्ने उपाय खोज्न संयुक्त छलफलबाट निकास निकाल्नुपर्छ । अनि मात्र सोचे र खोजे जस्तो समाज बन्नेछ ।
अन्तमा केही भन्नु हुन्छ ?
म यति मात्र भन्न चाहन्छु कि सामाजिक संस्था होस् ,सरकारी निकाय होस् वा नीति निर्माता किन होस् सबैले आ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ । तपाईहरुले आफ्नो जिम्मेवारी इमान्दारी पुर्वक निर्वाह गरिदिदां समाजले पनि त्यो कुरा हेर्छ मनन गर्छ । आज हेर्नुस् पीडितलाई न्यायको लागि पहल गर्न सम्बन्धित निकाय सम्म जाने र न्याय पाउन सक्ने वातावरण छैन् । कुनै घटना पीडित लाई न्याय दिलाउन संघ संस्था वा राजनीतिक दलका व्यक्ति न लागे सम्म उसको मुद्दा समेत दर्ता गरिदैन अवस्था यो छ । अनि न्याय पाउनु त कहाँ हो कहाँ उदाहरणका लागि निर्मला पन्त जस्ता हजारौं घटना पीडित र पीडितका परिवार छन् । त्यस कारण साच्चिकै समाज बल्दिनु छ भने आ–आफ्नो जिम्मवारी निर्वाह गर्न आ–आफ्नो स्तरबाट नै अघि बढौं ।
परिवेश
हाम्रो वरपर छरछिमेकमा कुनै न कुनै सामाजिक संस्थाको कार्यालय मौजूद छ । यसो आँखा घुमाउँदै जाने हो भने मुद्दा विशेष फरक संस्थाहरु प्रशस्तै देखिन्छ । मुस्लिम समुदायको उत्थान, सम्बृद्धि र विकासका लागि मुस्लिम समुदाय विशेष संस्था छन् । दलित समुदायको उत्थान, सम्बृद्धि र विकासका लागि विशेष दलित संस्था छन् जनजाति समुदायको उत्थान सम्बृद्धि विकासका लागि जनजाति विशेष संस्था छन् । द्वन्द्व पीडित समुदायको उत्थान, सम्बृद्धि र विकासका लागि द्वन्द्व पीडित विशेष संस्था छन् । एकल महिलाहरुको उत्थान, सम्बृद्धि र विकासका लागि एकल महिला विशेष संस्था छन् । अपांगहरुको उत्थान, सम्बृद्धि र विकासका लागि अपांग विशेष संस्था छन् । तेस्रोलिंगी र समलिंगीहरुको उत्थान, सम्बृद्धि र विकासका लागि उनीहरु विशेष संस्था छन् । जो केन्द्र देखि लिएर स्थानीय स्तरसम्म वर्षौं वर्ष देखि काम गरिरहेछन् ।
अवस्था
यतिका संघसस्थाहरुले दिन रात खटेर काम गर्छन् । तर पनि आशा गरे अनुसार उप्लब्धि हासिल हुदैंन् र भएको छैन् । यथार्थ कुरा गर्ने हो भने यी विभिन्न समुदाय र मुद्दा विशेषका संस्थामा काम गर्ने पदाधिकारी, संस्थाको स्थापना गर्ने संस्थापकहरुको बरु कम समयमा नै आश्चर्य चकित बनाउने खालको उन्नति प्रगति, सम्वृद्धि र विकास भएको देखिन्छ । तर समुदायमा सकारात्मक परिवर्तनको रफ्तार भने अझै सुस्त नै छ । हुन सक्छ यो कुराले धेरैलाई चित्त नबुझ्न नि सक्छ तर समग्रमा विश्लेषण गर्ने हो भने अधिकांशको अवस्थासंग मेल खान्छ । तथापि यो कुरा पनि नकार्न मिल्दैन् कि यिनै संघ संस्थाका पहल र प्रयासकै कारण आज विभिन्न समुदायका महिलाहरुको केही हद सम्म भए पनि शैक्षिक, राजनैतिक, सामाजिक र आर्थिक विकास भएको छ ।
चुनौती
महिलाहरुको विकास गर्ने पहल गरिरहँदा पनि प्रयास अनुसार उपलब्धी हासिल हुन नसक्नुको मुख्य कारण र यसको चुनौती चाहिं रुढीवादी सोच, पृतिसत्तात्मक कार्यशैली, उच्च वर्गका व्यक्तिद्वारा सृजित मुल्यमान्यता र समुदायको ढिलासुस्ती र लापरवाही हो ।
गर्नु पर्ने पहल
अब परियोजनामुखी नभइकन साझा रुपमा बसेर सबै मुद्दा विशेष संस्थाले समुदायको मुद्दा पहिचान गरी एकद्वार प्रणालीबाट प्रयास गर्न कदम चाल्नु पर्ने आवश्यक छ । अहिले सम्मको कार्यहरुको पुर्नावलोकन गर्नु पर्ने, समिक्षाका साथै काम गर्ने दौरान आफु र आफ्नो संस्था मार्फत भएका कमी कमजोरी, त्रुटी, र चूक बारे विश्लेषण गर्ने आत्मालोचना गर्नु पर्ने आजको आवश्यकता छ । पुर्नावलोकन, समिक्षा र आत्मालोचना पश्चात विगतका कमी कमजोरी र भएका त्रुटीहरु सच्याउदैं लाने गरी अगामी योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न र गराउन साझा रुपमा पहल गर्नुपर्छ । काम गर्नेहरुलाई प्रोसाहित गर्न सम्मानित गरिनुपर्छ र काम र जिम्मेवारी पुरा नगर्नेलाई जिम्मेवारी बोध गराइनुपर्छ ।
परिकल्पना
मुस्लिम दलित जनजाति मधेशी लगायतका पछाडि परेका र पारिएका समुदायको उत्थान, सम्वृद्धि र चौतर्फी विकास हुनेछ । यी समुदायका महिलाहरुको पनि समान रुपले शैक्षिक, सामाजिक, राजनैतिक र आर्थिक रुपमा विकास हँुदै जानेछ । महिलाहरुलाई सार्वजनिक स्थल, विद्यालय, कार्यालय जस्ता स्थान पढ्न काम गर्न र आवत जावत गर्न सक्ने सुरक्षित वातावरण तयार हुनेछ । कदम कदाचित कुनै घटना घट्यो भने घटना पीडितले सहजै न्याय र पीडकले सजाय पाउने छन् । सबै निकाय, संस्था र व्यक्तिले आफ्नो जिम्मेवारीपूर्ण इमान्दारीपूर्वक निर्वाह गर्नेछन् कसैले आफ्नो जिम्मेवारी निर्वाह गरेन झोलझाल गर्छ भने त्यस माथि कारबाही समेत गरिने र जसले आफ्नो जिम्मेवारी इमान्दारी निर्वाह गर्नेछ उसलाई प्रोत्साहन र सम्मान गरिनेछ ।