भावुक योगी
बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले एक कार्यक्रमका बीच गैँडा गणना सुभारम्भ गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बुधवार विहानदेखि सुरु भएको गैँडा गणना १४ दिनसम्म चल्ने छ । गैँडा गणनाका लागि बर्दिया निकुञ्जका ९ र राष्ट्रिय प्रकृती संरक्षण कोषको १ गरि १० वटा हात्तीको प्रयोग गरिएको छ ।
त्यसैगरी हात्तीसारका ३० जना, १० जना मुख्य गणक र १० जना सहायक गणक गरी ५० जना परिचालत भएका छन् । निकुञ्ज र एनटिएनसीका प्राविधिक टोली सहितको गैँडा गणक खटिएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा पाईने कर्णाली नदी तटिय क्षेत्र र बबई नदि तटिय क्षेत्र एवं आसपासकामध्यवर्ती सामुदायिक वन क्षेत्रमा गैँडा गणना गरिनेछ ।
गैँडा गणना कार्यमा गैँडा गणना संगै गैँडाको बासस्थान एवं अन्य वन्यजन्तुको अवस्था बारे पनि जानकारी लिईनेछ । गणकहरुले गैँडा गणना गर्नका लागि जिपिएस, क्यामेरा, दुरविनको प्रयोग गरेका छन् ।
सन् २०१५ मा गरिएको गणनाबाट बर्दिया निकुञ्जमा २९ वटा गैँडा रहेका थिए । निकुञ्जले गरेको आन्तरिक गैँडा अनुगमनका क्रममा ३६ वटा गैँडा रहेको जनाएपनि यसपटकको गणनाबाट बर्दियामा गैँडाको संख्या बढ्न सक्ने निकुञ्जले अनुमान गरेको छ । सरदर ४ देखि ५ बर्ष अन्तरालमा देशभरी गैँडा गणना गर्ने गरिन्छ ।
गत बर्ष कोभिड १९ कोरोना महामारीका कारण रोकिएको गैँडा गणना कार्यक्रम ६ बर्ष पछि यस बर्ष गैडा गणना सुरु गरिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनुभयो ।