
सडक यातायात नेपालीको लागि विकल्पहीन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भईनसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुँच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दाे यात्राको माध्यम हो । दैनिक थपिँदै गएका सवारीसाधन र तिनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । त्यस माथिपनि भइरहेको सवारी दुर्घटना तथा सडक असुरक्षा थप चुनौती बनेको छ । सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या बढेको छ र धेरै अपाङ्ग भएर बाँच्न बाध्य छन् । धनको क्षति र दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षति भइरहेको छ । यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दापनि सडक दुर्घटनाका पक्षहरु को–को हुन्, न्युनीकरणका लागि के गर्नु पर्छ भन्ने बारेमा सबैको ध्यानाकृष्ट हुन जरुरी छ ।
दुर्घटनाका कारणहरू
नेपालमा भएका दुर्घटनाहरूलाई नियाल्दा यसका ४ प्रमुख कारण देखिन्छन्
१) अवैज्ञानिक तथाकमजोर सडक संरचना
२) सवारीसाधनको अवस्था कमजोर हुनु
३) सडक प्रयोगकर्ताको लापरवाही
४) ट्राफिक सम्बन्धी नियम कानुनको अवहेलना
नेपालमा अहिले सडक सुरक्षाको काम मुख्यत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरीले हेरिरहेका छन तर, यीमध्ये कुनै पनि निकायको मुख्यकार्य सडक सुरक्षा होइन । सडक विभाग सडक निर्माण, व्यवस्थापन र मर्मत गर्छ । यातायात व्यवस्था विभाग चालक अनुमतिपत्रको काम, नवीकरण र अरू व्यवस्थापनको काममै व्यस्त छ । ट्राफिक प्रहरी ट्राफिक सञ्चालन र चेकजाँचमै व्यस्त छ रयी चारै निकायबीच पर्याप्त समन्वय र सहकार्य छैन ।
तथ्याङ्कमा सडक सुरक्षा
१) बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या साढे १३ लाख
२) विश्वभरि सडक दुर्घटना ५ देखि २९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
३) दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको संख्या ३,७००
४) अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
५) न्यून आय भएका देशमा सन २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
६) सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
७) नेपालमा प्रति एक लाखमा करिब १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
८) सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति
नेपालमा वैज्ञानिक सर्भे नै नगरी बाटो बनिरहेका छन् अनि बाटो बन्ने वित्तिकै त्यसको क्षमता नजाँची गाडी कुदाउन सुरु हुन्छ । अगाडि बाटो खन्ने डोजर हुन्छ, अनि पछाडि यात्रुवाहक बस । पहाडमा रेखामात्र कोरिएका सडकमा सवारी साधन गुडिरहेका छन । सबैभन्दा पहिले सडकको दुर्दशा कसरी गराइन्छ र कसरी हुन्छ भन्ने विषयमाविचार विमर्श गर्नुपर्छ । खाली माटो वा ढुंगामा कालोपत्रे गरेर मात्रै सडक बन्दैन ।
दुर्घटनाका खबर हरेको दिन आइरहेका छन र ज्यान गुमिरहेका छन् । नेपाल प्रहरीको एक तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट औसतमा दैनिक ५ जना नेपालीले ज्यान गुमाउछन्, भने बार्षिक १८ सयले, त्यस्तै लगभग १२ हजार हरेक बर्ष सडक दुर्घटनामा घाइते हुन्छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा मानिसको मृत्युको चौथो कारण सडक दुर्घटना हो । बर्सेनी नेपालमा हुने मृत्यु मध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुन्छ ।
ट्राफिक प्रहरीको अनुसार नेपालमा सडक दुर्घटना हुनुको मुख्य कारणमा चालकको लापरबाही रहेको छ, जसमा सहमत हुन सक्ने कुनै आधार छैन । दुर्घटनाका कारण मध्ये चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत रहेको छ । तर, ट्राफिक प्रहरीले ब्लुबुक नबोकेको, ढुवानीका साधन देख्ने बित्तिकै ओभरलोड जरिवाना तिराउने गरेको छ । कुनै पनि दुर्घटनाको वैज्ञानिक अनुसन्धान बिना दोषको प्रतिशत छुट्याउन सकिदैन । अहिलेसम्म भएका सवारी दुर्घटनाको अनुसन्धान भएका छैन । पूर्वाधार, विधि र संयन्त्र नबनेसम्म चर्काे जरीवानाले मात्रै दुर्घटना टर्दैन । सबै नेपालीलाई ट्राफिक प्रहरीमा भर्ना गरेपनि दु्र्घटना कम हँुदैन । सडक दुर्घटना मुलतः कुनै एउटा पक्ष मात्रैको कमजोरीले हुने र रोकिने देखिदैन । सडक, सवारी चालक, सवारी साधन, यात्रुको चेतना आदिले सडक दुर्घटना हुन्छ ।
सरकारले सवारी साधनबाट मात्रै बार्षिक लगभग ४ अर्बभन्दा बढी राजश्व संकलन गर्छ, भने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकमा ८ अर्बभन्दा बढी राजश्व संकलन गर्छ । तर, सरकारले दुर्घटना न्यूनीकरणका कारणको खोजी गरी कार्यान्वयन गरेको पाइदैन । कर संकलनका नाममा ढाट तथा घुम्ती राख्ने, सुरक्षा चेकपोष्टका नाममा जिकज्याक व्यारियर्स राख्ने, पशु पंक्षी छाडा छोड्ने, सडक संकेत नहुनु, ओभर स्पीड तथा जथाभावि सवारी पार्किङ, हेडलाइटको उचित प्रयोग नगर्नु आदिको कारणले दुर्घटना बढाएको छ ।
सार्वजनिक यातायात सेवाको सञ्चालन तथा व्यवस्थापन यातायात व्यवसायी तथा यातायात श्रमिकहरुले गरिरहेका छन । चार पाङग्रे, दुई पाङग्रे भएभरका सवै सवारी साधन तथा मानिसले प्रयोग गर्ने सडक नै हो । सडक साझा सम्पति हो तर त्यसलाई प्रयोग गर्नेहरुले कहिलेकाहीं त्यो कुरा विर्सने गरेका छन, आफुलाई सहज खोज्दै अरुको सडक प्रयोग गर्ने अधिकारलाई हनन गर्ने गर्दछन् । जसका कारण दुर्घटना हुने गरेको छ ।
सडकको असहजतालाई व्यवस्थापन तथा आवागमनलाई सहजीकरण गर्ने निकाय ट्राफिक प्रहरी हो । जसलाई आवागमनमा प्रतिकुल असर पार्ने र अक्षम्य नियम उलंघन गर्नेलाई नियमन गर्न कानूनले विशेष अधिकार समेत दिईएको छ । यस्तो अवस्थामा ट्राफिक प्रहरीलाई कानूनले दिएको जिम्मेवारी पुरा गर्नु सम्भव छैन । सडकमा उत्पन्नहुने ट्राफिक समस्याका विषयलाई भुलेर सडकमा गुड्ने सवारी साधन र चालकबाट मात्र सबै कुराको अपेक्षा गरेर कारवाही, हप्कीदप्की, गालीगलौज, जरिवानाका नाममा आर्थिक शोषण, चालकलाई बदनाम हुनेगरी सार्वजनिक अभिव्यक्ति र व्यवहारले पनि दुर्घटनालाई मलजल गरेको छ ।
यति संवेदनशील विषय हुँदाहुँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरण राज्यका निकायको प्राथमिकतामा परेको छैन । कतिसम्म भने, सरोकारवाला निकाय नै सडक सुरक्षामा गैरजिम्मेवार देखिने गरेका छन् । सडक सुरक्षा गर्ने पहिलो दायित्व राज्यको हुन्छ । सडक गुणस्तरीय र यात्रा सुरक्षित छ कि छैन ? मापदण्ड अनुसार सडक निर्माण भएको छ कि छैन ? त्यो हेर्ने सम्पूर्ण जिम्मा राज्यको हुन्छ । तर सडकको लम्बाइ हेरेर मात्रविकासको मापन गर्ने पद्धति र हाम्रो सोच बनिसकेको छ ।
नेपालमा दुर्घटनामा घाइते भएका थोरैले मात्रै घटनास्थलमा बेलैमा प्राथमिक उपचार पाउने गर्छन । कमै मात्र घाइते एम्बुलेन्सद्वारा तुरुन्तै स्वास्थ्य संस्थामा लगिन्छन् । यस्तो स्थितिमा गम्भीर घाइतेको घटना स्थलमै वा स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै मृत्यु हुन सक्छ । दुर्घटनास्थलमा घाइतेलाई तत्काल उपयुक्त उपचार तथा हेरविचार र पछि गुणस्तरीय चिकित्सा उपचार प्रदान गर्न सक्ने संयन्त्र प्रभावकारी बनाउन सकेमा जीवन बचाउने सम्भावना बढाउन, चोटको गम्भीरतामा र अपांगता हुन कम गर्न सकिन्छ । सडक दुर्घटनाका पीडित, उनीहरूका परिवारजन र समाजले भोग्नुपरेका पीडा र आफन्त गुमाउनु परेको मनोवैज्ञानिक असर अझै कहालीलाग्दो छ । यसका अतिरिक्त सडक दुर्घटनामा अकालमै ज्यान गुमाउने परिवारलाई राहत र घाइतेको उपचार, हेरचाह र पुनर्वासमा ठूलो लागत लाग्ने भएकाले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै आर्थिक भार पर्न जान्छ ।
एक वर्षमै लगभग ९०० वटासम्म दुर्घटना हुने नारायणगढ–मुग्लिङ सडक खण्ड स्तरवृद्धिपछि वार्षिक औसतमा १३८ वटा मात्र दुर्घटना भएको छ । यसबाट के देखिन्छ भने सडकमात्र सहि तरिकाले बन्यो भने ८५ प्रतिशतले दुर्घटना कम गर्न सकिन्छ । हामीले चालकको लापरवाही, अत्याधिक गति र रक्सीको कारणले दुर्घटना हुन्छ भन्ने सुन्दै आएको हो तर खासमा दुर्घटना हुने प्रमुख कारण त सडकको स्तर नै रहेछ ।