कोरोना महामारीले पर्यटन क्षेत्र तहस–नहस भएपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा कस्सिएको नाट्टा नेपालगन्जले जिल्लाभित्रै विभिन्न योजनासहितका गन्तव्य पहिचानमा लागेको छ । त्यसक्रममा बाँकेको नरैनापुरस्थित बर्फानी बाबा आश्रममा हेलिकप्टर उडानको परीक्षण गरिएको हो । त्यससँगै त्यहाँ पर्यटन मेलाको योजना पनि बनाइएको छ ।

‘बाँकेमैं यति सुन्दर धार्मिक पर्यटकीय गन्तव्य छ भनेपछि किन प्रवद्र्धनमा नलाग्ने भनेर प्रयास थालिएको हो,’ त्यसै क्षेत्रबाट प्रदेश सभा सदस्य चुनिएकी कृष्णा केसी (नमूना), पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ सहित नरैनापुरको उडान जायजा लिएका नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले फर्किएपछि भने, ‘सजिलो यात्राका लागि यो व्यवस्थापन गर्न खोजिएको हो ।’
प्रदेश सभा सदस्य नमूनाले उडान परीक्षणपछि हेलिप्याड निर्माणका लागि पहल थालेकी छन् । ‘सडक सुधारका लागि पनि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सहयोगका लागि कुरा गरिरहेको छु,’ सांसद नमूनाले दैनिक नेपालगन्जसँग भनिन्, ‘बाबा बर्फानी आश्रम जिल्लाकै आकर्षण र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ उनले भारतीय धार्मिक पर्यटकको घुँइचो लाग्ने त्यस क्षेत्रमा पैदल, साइकल वा मोटरसाइकलबाट पुग्ने गरिएकाले चाहना भएकाहरुले हेलिकप्टरबाटै पनि जान सक्ने व्यवस्था गरिंदा थप आकर्षक हुने बताइन् ।
‘भारतीय पर्यटक हवाइ मार्गबाट जान सक्छन्,’ शुक्रवारमात्रै पनि तीन सय श्रद्धालु बाबा बर्फानी आश्रम पुगेको जानकारी दिंदै नमूनाले भनिन्, ‘पर्यटकीय पूर्वाधारका लागि बजेट व्यवस्थापनमा जुटेकी छु ।’
नेपालगन्ज–पोखरा–नेपालगन्ज चार्टर उडान सफल ढंगले परिक्षण गरिरहेको नाट्टाले नेपालगन्ज– बर्दिया ठाकुरद्वाराका लागि पर्यटक बस सञ्चालन गरिरहेको छ । ‘यसले नेपालगन्जको पर्यटन पूर्वाधारलाई निकै ठुलो गतिशीलता प्रदान गर्छ,’ पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘बाबा बर्फानी आश्रमको महत्व नेपालगन्जले बुझेकै रहेनछ ।’

पर्यटकका लागि ‘ट्राजीट’ मात्र रहेको नेपालगन्जमा एकाध दिन घुम्ने–खाने रमाउने गन्तव्यको खोजीमा नाट्टाले पहल गरिरहेको जनाएको छ । ‘नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीलाई कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने पहल र प्रयास हो,’ नाट्टा अध्यक्ष श्रीराम सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि हामी एक्लैले केही हुँदैन, सबैको साथ, सहयोग र सकारात्मक भूमिकाको खाँचो छ ।’