ट्रक तथा ढुवानी व्यवसायीहरुले आफुलाई सरकारले पटक्कै अभिभावकत्वको भावना नदेखाएको भन्दै पीडा व्यक्त गरेका छन् । शनिवार नेपालगन्जमा भएको भेरी अञ्चल ट्रक, मिनी ट्रक, ट्यांकर यातायात व्यवसायी समितिको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनमा बोल्ने वक्ता व्यवसायीहरुले सरकारले आफ्ना पीडा सुनुवाईका लागि ध्यानाकर्षण गराएका हुन् ।
बाँकेका प्रमुख जिल्ला राम बहादुर कुरुम्वाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्यवसायीहरुले सरकारले आफैले तोकेको भाडादरमा व्यवसायीहरुले अझैपनि ढुवानी गर्न नपाएको बताए । ‘१० वर्ष अघि तोकेको ढुवानी भाडादर अहिलेसम्म उपलब्ध हुन सकेको छैन, कसरी व्यवसाय धान्ने ? कार्यक्रमको अध्यक्षता गरिरहेका समितिका अध्यक्ष किशन गुरुङले भने, ‘सरकारले यसबारे तत्काल न्याय गर्नपर्छ ।’
अध्यक्ष गुरुङका अनुसार, एउटै गाडीमा ५५ लाखसम्म लगानी गरेर ढुवानी व्यवसाय गरिरहेका व्यवसायीले तोकिएको भाडामा ढुवानी गर्न नपाउँदा धराशयी हुने अवस्था छ । ‘दुर्घटना बीमा अर्काे समस्या बनेको छ,’ अध्यक्ष गुरुङले दैनिक नेपालगन्जसंग भने, ‘बीमा कम्पनीले ३ लाखसम्ममात्रै दिन्छ, मानिसको उपचार खर्चमा ५० लाखसम्म सिद्धिएका व्यवसायी छन्,’ गम्भीर समस्याले व्यवसायनै जोखिममा रहेको जानकारी दिंदै अध्यक्ष गुरुङले भने, ‘यस्तो अवस्थामा व्यवसायीहरु कसरी बाँच्ने ? बाँकेमामात्रै २ सय ५० बढी ढुवानी व्यवसायी छन् ।
कार्यक्रममा समितिका संस्थापक अध्यक्ष मोहनसिंह केसी, केन्द्रीय सल्लाहकार कृष्ण बहादुर थपलिया, पूर्व अध्यक्ष चिन्तामणि धिताल लगायतले आफ्ना धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन कानुनी सल्लाहकार अधिवक्ता विकास आचार्यले गरेको समितिका कार्यालय प्रमुख बेग बहादुर ओलीले जानकारी दिए ।