खेलले द्वन्द्व होइन सहृदयताको सम्बन्ध बनाओस्

आजबाट खजुरा गाउँपालिकाको अन्तर विद्यालय मेयर रनिङ्गसिल्ड प्रतियोगिता शुरु हुँदैछ । खजुरा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको एकमात्र सरकारी विद्यालय जनकल्याण माध्यामिक विद्यालयको प्राङ्गणमा शुरु हुने खेल महोत्सवमा यस पालिका अन्र्तगत रहेका ३१ वटा सरकारी, २० वटा नीजि र १६ वटा मुस्लिम मदरसाहरु गरि ६७ वटा विद्यालयहरुले अनिवार्य नाम दर्ता गराउनु पर्ने उर्दी विभिन्न प्रअ बैठकहरुमा पालिका अध्यक्षले जारी गरिसकेको अवस्था छ । यो लेख तयार पार्दाका बखतसम्म ६४ वटा विद्यालय दर्ता भैसकेको जानकारी पाइएको छ । यो खेल प्रतियोगिताको आयोजना हुन लागेको तीन बर्ष भयो । यस क्षेत्रका सबै खेलप्रेमीहरुदेखि शिक्षालयहरुमा आबद्ध सबैको उपस्थ्िित त हुँदै छ नै कतिपय यहि खेलको अवसर पारेर व्यापार चलाउनेहरु देखि आफ्नो काम देखाउने र आफु निकै कामलाग्ने मान्छे भएको भनेर देखाउनेहरुको पनि त्यहाँ जमघट हुने नै छ । साथसाथै देशमा चलेको कोदो र तोरी मिसाएर घालमेल बनाएको राजनीतिको एउटा कथा पटाक्षेप भएको रङ्गबाट पनि यो खेल अछुतो पक्कै रहने छैन । यहाँ मौका पाएसम्म कोदोबाट तेल निकाल्ने प्रयास पनि हुने नै छ । आफ्नो कोदो अरुको तोरीभन्दा राम्रो भन्ने र हामी त गाइगंगा र दुधले नुहाएको भनेर भाषणसँगै अहंकारको डडेलोको गन्ध पनि आउने नै छ ।


बिक्रम सम्बत २०२८ सालमा नयाँ शिक्षा ऐन जारी भएपछि देशको शिक्षाको अंङ्गको रुपमा विद्यार्थीहरुको सर्वाङ्गीण बिकासका लागि भन्दै विद्यालयहरुमा माध्यामिक तहका विद्यार्थीहरुका बीच खेल प्रतिष्पर्धा गराउने गरि राजा विरेन्द्रको नाममा विरेन्द्र रनिङ शिल्डको शुरुआत गरिएको थियो । यस किसिमको खेल प्रतियोगिता हुने भनेपछि त्यो बेला विद्यालयहरुमा निकै हर्सोल्लास पनि हुने गथ्र्यो । रनिङ शिल्ड खेल्ने विद्यार्थी भनेको उ भविष्यमा राष्ट्रिय खेलाडीको रुपमा आउँछ भन्ने हुन्थ्यो र आउँथ्यो पनि । ७५ वटै जिल्लाहरुबाट छानिएका उत्कृष्ट खेलाडीहरुको जुन हैसियत हुन्थ्यो त्यसको आज बयान गर्दा अलि अर्नथ पनि लगाउन सक्छन् मानिसहरु । किन कि अहिले त वडा पिच्छेका पदक आउन थालिसके । टोल टोलमा खेलकूद प्रतियोगिताहरु आयोजना हुन थालिसके ।


देशको राष्ट्रप्रमुखको नाममा खेलाइने खेल प्रतियोगिताको र राष्ट्रिय खेलकुदका लागि मानक पदकका नियमित प्रतिष्पर्धाहरु बाहेक पनि अहिले देशका हरेक गाउँ गाउँमा क्लबहरु, देशका ७५३ वटा सरकारका प्रमुखहरुका नाममा, देशका प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख उपसभामुख देखि प्रदेशस्तरीय मुख्यमन्त्री प्रदेश सभामुख आदी इत्यादिका नाममा प्रतियोगिता हुन थालेपछि विगतका ती राष्ट्रियस्तरका प्रतियोगिताहरुको महत्व सँगै ती खेलकूद प्रतियोगिताको रौनक र उत्सव पनि फिका परि सकेका छन् ।


अहिले संघसंस्थाहरु, मदिराका नाममा खेल प्रतियोगिता र कतिपय ठाउँहरुमा त वडापालिका स्तरीय खेलकुद प्रतियोगिता र कपहरु समेत हुन थालेपछि यो खेलकूद हो कि यो पनि एउटा अहंकारको ब्यापार हो छुट्याउनै गाह्रो परिसकेको अवस्था छ । कुनै दिन वडा सदस्यहरुको नाममा पनि खेलकुद प्रतियोगिताहरु आयोजना गरिए भनेपनि आश्चर्य नमान्दा हुन्छ ।


२०४६ सालमा पञ्चायत शासनको अन्त्य पछि पनि राष्ट्र प्रमुखको नाममा खेलाइने खे्लकूद प्रतियोगिताकोे निरन्तरता नै रह्यो । यो रहनु पनि पथ्र्यो यसमा मेरो कुनै टिका टिप्पणी नै छैन । नेपालमा बदलिएको शासन व्यवसथा पछि नेपाली जनताका सार्वभौम अधिकार प्रयोग गर्ने सरकारका प्रमुख प्रधानमन्त्रीको नाममा खेलकूदका समग्र इभेन्टहरु नराखिकन शुरु गरिनु पनि जायज नै हो । यसमा अन्यथा लिनुपर्ने केहि छैन । तर राष्ट्रप्रमुखका नाममा खेलिने र खेलाइने खेलहरु जस्तै वडास्तरसम्मका खेलहरु खेलाएर पिर्के सलामी खाने र फोटो खिचाउने लहर जुन चलेको छ नेपालमा त्यसले राष्ट्रको मानपदवीमा के कस्तो असर पुग्छ भन्ने कुराको बारेमा कसैले पनि चर्चा नगर्दा मलाई अलि खसखस लागेको मात्रै हो । पिर्के सलामीका पात्रहरुले कृपया मन नदुखाउनु होला ।


यो अवस्था किन आयो र कसले कुन तत्वले ल्यायो भन्ने पनि यहाँ चर्चा गरौं । नेपालमा यो प्रजातन्त्र भनिएको शासनपछि नेपालका नेताहरुमा मात्रै होइन हिजो कुनै न कुनै रुपमा आफ्नो स्थान खोजेका महत्वकांक्षीहरुका इच्छा र आकांक्षाहरु ह्वात्तै बढेका पक्कै हुन । यी आकांक्षाहरु यतिसम्म बढे कि चाहे कर्म गरेर होस या कुकर्म नै गरेर रातारात दाम र नाम कमाउन पर्नेतिर उनीहरु लागे । यस्तो इच्छा बोकेकाहरु जब नेतृत्वमा पुगेतिनीहरु राजसत्तामा यसरी उफ्रिन थाले कि त्यहाँ नैतिकता, आफ्नो मूल र कूल, धर्म संस्कार सँस्कृति भाषा र सभ्यता सबै बन्धकी राख्न र धर्मछाडा शासन गर्न मै उनीहरुलाई आनन्द आयो । धर्मको विवेक गुमाएकाहरुको त्यो नाङ्गोपनले समाजका हरेक अवयहरुलाई परिवर्तन गर्न खोज्यो । शिक्षादेखि समाजका मूल्य र मान्यतामा नै अंहकार भरियो ।
हिजोको राणाशासन होस या राजतन्त्र या पञ्चायत त्यसमा रहेका अगतिला र नकारात्मक कुराहरुलाई नै अहिलेका आर्दश बनाइए । यसैबाट देशको शिक्षानीति र समाजबिकासको सिद्धान्त बनाइयो । विगतका राम्रा कुराहरु, नैतिकताका कुराहरु हुन चाहे विगतका निर्माणका कुराहरु नै, ती सबै नमासी आफ्नो मूर्तिकरण नहुने देखेका ती कुतत्वहरुले हरेक कुरामा कित्ताकाट र घृणावादको संघर्षको बिजारोपण गराए । जसरी पनि आफु नै सर्वेसर्वा हुने र अरुलाई खेताला सम्झने सोंचको बिकाससँगै जित्नका लागि जस्तोसुकै कर्म गर्न उक्साए । यसैको परिणाम हो आज हरेक ठाउँमा धनवाद र डनबादको डँगूरमा युवा र यो समाज बिकासको बिऊ उम्रेको छ ।
शिक्षालयहरु भनेका देशका भविष्य निर्माता, देशका शासक प्रशासक, शिक्षक, मार्गदर्शकका साथै देशको अस्मिताको रक्षा सिपाही उत्पादन गर्ने केन्द्र हुन । यसमा पनि आलोकाँचो बालकलाई कस्तो सँस्कार दिने ? कस्तो नैतिकताको पाठ पढाउने ? उसको आचारविचारमा कस्तो परिवर्तन ल्याउने भन्ने स्थानको साँचो भनेका नै विद्यालयहरु हुन । यसकारण पनि यहाँ दिइने शिक्षाले नै समाज बिकास र यसको मार्ग, देशको भविष्यको मार्ग तय गर्छ ।
हाम्रा शिक्षालयहरुमा नैतिकता, इमान्दारिताका, सत्मार्गका, आफ्नो कूलधर्मका, सँस्कृतिका, भाषा सभ्यताका कुरा कम सिकाइन्छ भने “जे जसरी पनि तैंले जित्नै पर्छ नत्र तँ त यो दुनियाँमा बाँच्नै सक्दैनस् ” भनेर शिक्षकले पढाउँछ “तेरो कारणले गर्दा मेरो विद्यालयको नाम रहेन भने अर्को चोटी तेरो खैरात छैन” भनेर प्रधानाध्यपक कराउँछ । अनि यस्तो वातावरणमा ती भागलिने बालबालिकाहरु हिंसक नभए के हुन्छन् ?भाग लिन नपाएका बालबालिकाहरुमा हिनताबोध नभरिए के भरिन्छ ?

यहाँ त विद्यालयहरुले आफ्नो अहंकार देखाउनु छ । अरु भन्दा गतिलो हामी छौं, मेरो नेतृत्व भएको विद्यालय अरु भन्दा धेरै गतिलो छ भनेर कहिँ राजनीतिमा प्रअले ठाउँ बनाउनु छ । कहिँ आफ्नो कमाइखाने भाँडो विद्यार्थी जम्मा पार्नु छ । त्यहि अहंकारलाई भजाएर राज्यकोषबाट ठूलो हिस्सा पाउनु पर्ने छ । यसो गर्दैगर्दा चाहे शुद्ध विद्यार्थीको वास्तविक हकबाट उनीहरुलाई बन्चित नै गर्न किन नपरोस् यसमा अलिकति पनि चिन्ता छैन । बाहिर बसेकाहरु विद्यालयहरुमा नियमित नभएकाहरुलाई नाम लेखाएर भएपनि उमेर मिलाएर भएपनि, खेलका नियम या वातावरण आफु अनुकुल बनाएर भएपनि या बिचैमा निर्णयहरु फेरेर भएपनि,कसैगरि केहिनलागे हुटिङ्ग गरेर भएपनि जित्नै पर्छ जसरी पनि जित्नै पर्छ । अरुलाई होच्याएर घोच्याएर हेपेर जे जसरी हुन्छ जित्नै पर्छ । यस्तो मानसिकता राख्ने चाहे त्यो विद्यालय होस् या शिक्षक विद्यार्थी सबै द्वन्दका बीऊ नै हुन । द्वन्द्वका कारक नै हुन् । हिंसा, कित्ताकाट र घृणावादका पक्षपोषकहरु नै हुन ।


प्राचिनकालमा नेपाल र हिमवतखण्डको इतिहासमा धेरै खेलहरु हुन्थे । ती खेलहरुबाट सहभागीहरुको बुद्धिको, क्षमताको, शारारिक स्वस्थताको, जुक्तीको, नैतिकताको, निर्णय गर्ने क्षमताको र इमान्दारिताको परिक्षण गरिन्थ्यो । जुन कुरा राज्य सञ्चालन गर्न, समाजलाई सुरक्षा प्रदान गर्न आवश्यक ठानिन्थे । तर यहाँ कहिल्यै त्यसलाई अहंकारको रुपमा स्थापित गराइएन । फरक यहि हो गुरुकुलीय शिक्षा र अहिलेको मेकालेको शिक्षा पद्धतिमा ।


मनोरन्जनका रुपमा कौडा हान्ने खेल पनि थियो यहाँ । खेल र खेलाडीको नैतिकस्तर नमिल्दा, मूल उद्देश्य र मनसाय नै दुषित भैदिँदा महाभारत पनि यहिँ भएको छ आज पर्यन्त यस्तै भैरहेको छ । स्वरुप मात्रै फेरिएको हो । आज यसैमा भएको दूर्योधन प्रवृतिलाई हावी बनाएर युधिष्ठिरहरु बदनाम बनाइएका छन् । खेलका असल मनसायहरुलाई बिलुप्त बनाइएको छ ।


चिन्तन गरौं हामीले गराएका खेलकुद प्रतियोगिताबाट कुनै नैतिकता, शाररिक स्वस्थता आदी इत्यादी आएको छ त ?कि खेलको नाममा विद्यार्थीहरु र युवाहरुमा अति नै छाडापन, यौनिकता र दुर्वसन मौलाएको छ ?जितको उत्सव मनाउने नाममा बिभिन्न खाले नशा गर्ने त्यसैमा लठ्एिर आफ्नो र समाजको स्वाथ्य नै बिर्गान पनि पछि परिएको त छैन ?

जित्नेको उदण्डता सँगै कथंकदाचित जित्न सकिएन भने मैदान भित्रै र बाहिर दगा गर्ने पख तँलाइ भनेर दिर्घकालिन रुपमा विद्यार्थी विद्यार्थी, विद्यालय विद्यालय बीच द्वन्द्वको बिजारोपण गर्ने काम त भै रहको छैन ?


वास्तवमा खेललाई स्वच्छ रुपमा सरोकारवाला भित्र मात्रै इमान्दारिताका साथ मनोरञ्जन र शारारकि तन्दुरुस्तीका लागि खेलिनु पर्दछ भन्ने मेरो आशय हो । खेलबाट अन्तर्राष्ट्रिय पुरस्कार जित्न खेलकुदका नै विषयगत शिक्षालयहरु बनाइनु उपयुक्त हुन्छ । यसरी विद्यालय शिक्षालाई नै जे जसरी पनि जित्नै पर्ने पाटोबाट अगाडी बढाउँदा आजका यी कलिला बालबालिकाको मनोदशा नै हिंसात्मक हुनसक्छ । मैत्रिपूर्ण मात्रै भनेर होइन गरेर पनि देखाउने वातावरण बनाएर खेललाई द्वन्द्वको मैदान होइन सहृदयताको सम्बन्ध कायम गर्ने थलो बनाऔं । आफ्नै जरोकिलो नउम्टाऔं । अन्तमा, आजबाट शुरु भएको तेश्रो खजुरा मेयरकप रनिङशिल्ड प्रतियोगितामा भागलिनेविद्यार्थी भाइबहिनीहरु, आदणीय गुरुहरु र विद्यालय लगायत यसको आयोजना गर्ने खजुरा गाउँपालिकालाई हार्दिक शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया