शुरु भयो, धारा जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिता

नेपालगन्ज रंगशालामा गोलको वर्षात्

नेपालगन्ज रंगशालामा जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले रेफ्रीलाई खेल सामाग्री हस्तान्तरण गरेसँगै प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिता उद्घाटन गर्दै सदस्य सचिव सिलवालले नेपालगन्जमा बनेका करोडौंका खेल पूर्वाधारको संरक्षण र खेलको विकासमा यसखालका प्रतियोगिताले सहयोग पुग्ने बताए । प्रतियोगिता आयोजक मूल समितिका संयोजक, प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालको अध्यक्षतामा भएको उद्घाटनलगत्तै नेपालगन्ज रंगशालामा रोमाञ्चक खेल भए ।

आयोजक जुमा स्पोर्टस् क्लबका अध्यक्ष भिम बहादुर रानाभाटका अनुसार, प्रतियोतिाको पहिलो दिन राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि बीचको मैत्रीपूर्ण खेलसहित ५ वटा खेल आयोजना भए । प्रतियोगिताको पहिलो दिननै रंगशालामा गोल वर्षात्नै गरिए । जसले स्तरिय प्यारापिटमा बसेर खेलको आनन्द उठाएका सिमित दर्शकले असिमित आनन्द लिन पाए ।

कर्मचारी मिलन केन्द्रको ब्यानरमा उत्रिएको कर्मचारी प्रशासन र जनप्रतिनिधि बीचमा भएको खेलमा एकलौटी मैदान कब्जा गरेको कर्मचारी प्रशासनको टीम बिजयी भएको छ । प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणा सहितको जनप्रतिनिधि टिमलाई एसपी नरेन्द्र गिरिको कप्तानीमा कर्मचारीको टोलीले शून्यका बिरुद्ध ३ गोल अन्तरले पछाडी पा¥यो । कर्मचारी मिलन केन्द्रका रतन बुढाले ह्याट्रिक गरे ।

विहीवार प्रतियोगिताको पहिलो खेलमा खुद्रा ब्यवसायी संघले इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)लाई दुईको बिरुद्ध ४ गोल अन्तरले पराजित गर्यो । खेलको १५ औं मिनटमा खुद्राका किपरले बल जोगाउने क्रममा भएको त्रुटिले आइएसपीको खाता खुल्यो । त्यसपछि दबाबमा परेको खुद्राले मैदानमा निकै मिहिनेत गरेको देखियो । परिणामतः खुद्राका किशोर परियारले ह्याट्रिक र प्रेम चौधरीले थप एक गोल जोड्न सफल भए । ‘साथीहरुको निकै शानदार प्रदर्शन देखियो,’ खेल व्यवस्थापनमा सक्रिय खुद्राका अध्यक्ष शिव दाहालले रिजल्टपछि भने । आइएसपीले अर्काे एक गोल पेनाल्टीबाट लिन सफल भएका थिए । जुन गोलको जस सुदीप सलामीले लिए । खुद्राको गल्तीबाट भएको पहिलो गोलको जस खगेन्द्र थापाले पाए ।

दोस्रो खेलमा नेपाल टेलिकमले गोलको वर्षात्नै गर्यो । नेपाल बार एशोसियसनलाई १२–० गोल अन्तरले पराजित गरेको टेलिकमका लागि केशव विसीले एक्लै ६ गोलको उपलब्धीमा नाम लेखाए । दीप बहादुर महतरा, धर्मराज पाण्डे र प्रकाश श्रेष्ठले २÷२ गोलको श्रेय लिए । एकलौटी मैदान जमाएका टेलिकमका कर्मचारीले कानुन व्यवसायीका तर्कलाई मैदानमा छिर्नै नदिंदा टिम क्याप्टेन विकास आचार्यमा निराशा भन्दा मनोरञ्जनको आभाष देखिन्थ्यो ।

तेस्रो खेलमा बजार प्रतिनिधिले अटो मोबाइल्स एशोसियसनलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भयो । बजार प्रतिनिधिहरुको टिमका लागि विन्दुभूषण केसीले २ र रविन पियारीले एक गोलको योगदान दिएका थिए भने, जवाफमा अटोका मनिष थापा र आयूष गुप्ताले एक÷एक गोल फर्काएका थिए ।

विहीवार साँझ दोस्रो खेलभने समय अभावले नतिजामा पुग्न सकेन । आयोजक क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको जानकारी दिंदै लिग कम नकआउटका आधारमा चैत्र २ गते सम्म प्रतियोगिता संचालन हुने भएकाले सकेसम्म धेरै खेल गर्नु परेको बताए । ‘१० मिनेट जति समय बाँकी छँदै अध्याँरो भएकाले स्थगित गरियो,’ किराना तथा खाद्य व्यवसायी र प्याब्सन नेपालगन्जबीचको खेल आज शुक्रवार नतिजाका लागि खेलाइने जानकारी दिंदै अध्यक्ष रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘६० मिनटको खेल खेलाइने गरिएको छ ।’ प्याब्सनले किरानालाई २ गोल हानेको छ ।

प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार, प्रतियोगितामा सहभागी १ सय ५२ जना खेलाडीहरुको खेल अवधी भरको लागि ५ लाख बराबरको दुर्घटना बीमा समेत गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया