शुरु भयो, ‘ नेपालगन्ज महानगर अध्ययन’

नेपालगन्ज महानगरको सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि आवश्यक प्राविधिक अध्ययन शुरु भएको हो ।


महानगरपालिकाका लागि डीपीआरसँगै एकीकृत विकास योजना समेत तयार भइरहेको जानकारी दिंदै नेपालगन्ज उपमहानगरपालिकाले बुधबार प्रारम्भिक तयारी तथा छलफल आयोजना गरिएको जनाएको छ ।
छलफलमा नगर प्रमुख डा. धवल शम्शेर राणाले राजनीतिक स्वार्थ भन्दा माथी उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिएका छन् । आम नागरिकहरु आफ्नो शहरलाई महानगरपालिका बनाउन इच्छुक भएपनि राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने नगर प्रमुख राणाको भनाइ छ ।
अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी छलफलमा दिएका थिए । डीपीआरको जिम्मा लिएका जोशीका अनुसार, टोलीले वडा तहसम्म पुगेर पनि काम गर्नेछ । ‘फिल्डमै पुगेर बस्तुगत अध्ययन गरिनेछ,’ उनले भने ।
यातायातलाई जग्गा टुङ्गो
यातायात व्यवस्थालाई कार्यालय स्थापनाका लागि नेपालगन्ज उप–महानगरपालिकाले जग्गा उपलब्ध गराउने टुङ्गो लागेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगन्ज–२० गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा यातायात व्यवस्था कार्यालय दिने निर्णय गरेको हो ।
सोही बैठकले वडा नम्बर १७ सोल्टी होटल नजिकै रहेको २० कठ्ठा जग्गा कलेज स्थापनाका लागि नाथमलाई उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । सो स्थानमा हिन्दु र मुस्लिम समुदायले धार्मिक प्रयोजनका लागि २÷२ कठ्ठा जग्गा उपलब्ध गराइने भएको छ । गायत्रीनगरमा ऐलानी जग्गामा बसिरहेको परिवारलाई उचित व्यवस्थापन गरिने पनि उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया