
पृष्ठभूमि
आज हामी बुर्काभित्र बुर्काबाहिर स्तम्भमा खास गरी पैतृक सम्पतिमा छोरी हक र दाईजोप्रथा बारे विशेष चर्चा गर्नेछौं । शरीयते इस्लाममा हलाल र हराम भनी केही कार्यलाई विभाजन गरिएको छ हलाल ती कार्य हुन जसलाई गर्दा पुण्य प्राप्त हुन्छ र हराम कार्य ती हुन जसलाई गर्दा पापको भागिदार भइन्छ । यसै गरी इस्लाममा गर्ने कार्यहरुमध्ये नै केही महत्वपूर्ण कार्यहरुलाई फर्ज, सुन्नत, नफिल, वाजिब भनी स्तरीकरण गरिएको छ । अनि नगर्ने कार्यहरुमध्ये मकरुह, मकरुहे तरीमी, शिर्क र विदअत भनी छुट्टियाइएको छ । जसका बारेमा चर्चा परिचर्चा गर्न अति आवश्यक छ तर ती सबैका बारे व्याख्या विश्लेषण गर्न सम्भव छैन । तथापि हामीले आज दाईजो जस्तो कुष्ठरोगलाई मुस्लिम समुदायले भित्र्याई १४ सय वर्ष भन्दा अघि इस्लामले व्यवस्था गरेको छोरी पैतृक हकबाट छोरीहरुलाई कसरी बंचित गरिरहेछन्, कसरी दाईजोलाई बढावा दिदैंछन् अभिभावकहरु भन्ने बारे लेखको अन्तिम भागमा पढ्न सक्नेछौं । केही महत्वपूर्ण विषयमा समुदायभित्र धेरै भ्रम र अनभिज्ञता बढ्दै गइरहेकोले आज छोरीको पैतृक सम्पत्तिमा अधिकारको कुरा गर्न आवश्यक ठानेर यस बारे चर्चा गर्दैछौं । जसर्थ इस्लामको बारेमा समाजमा सृजित भ्रम हटोस् र सबैलाई सत्य कुरा बारे जानकारी होस् । सबैलाई थाहा होस् कि जुन पैतृक सम्पत्तिमा छोरीको अधिकारका कुरा हामी अहिले आएर एकाईशौं शताब्दीमा गरिरहेछौं र विभिन्न राष्ट्रीय तथा अन्तरर्राष्ट्रिय दबाब एवं पहल पश्चात बल्लबल्ल छोरीको पैतृक सम्बन्धी हक बारे कानून बनेछ । त्यो पनि निश्चित उमेर हद म्याद तोकिएछ । जसरी मानिसहरु जन्मिन साथ गांसबास र कपासको नैसर्गिक अधिकार लिएर जन्मिन्छन् । इस्लामले त्यसरी नैसर्गिक हक सरह पैतृक सम्पत्तिमा छोरा सरह छोरीको हकको व्यवस्था गरेको छ जुनकि छोरीले जन्मसिद्ध अधिकारका रुपमा लिएर आएकी हुन्छिन् ।
इस्लामले छोरा र छोरी बीच पैतृक सम्पति बाँडफाँड गर्दा विभेद गरेछ भनी लेख पढेर कसैलाई भ्रम नहोस् भन्ने आशयले लेखको प्रारम्भ मै यो कुरा प्रष्ट गरिदैंछ । लेखमा उल्लेखित शरीयते इस्लामको कानून अनुसार छोरी भन्दा छोराको भाग दोब्बर हुन्छ । यस्तो व्यवस्था गर्नुको कारण उनीहरुको भविष्य (वैवाहिक जीवन)लाई मध्येनजर गरी कानून लागु गरियो । किनभने यदी व्यवहारिक रुपले हेर्ने हो भने निसन्देह छोरीको विवाह पश्चात उनी आफ्नो पतिको सम्पत्तिमा हकदार हुन्छिन् । जसले गर्दा पछि गएर उनको सम्पत्ति बढ्छ र छोराको विवाह पश्चात उनको पत्नीको अंश भाग उनको सम्पत्तिमा भागबण्डा लाग्ने हुँदा उनको अंश स्वतः घट्न जान्छ । पैतृक सम्पत्तिको हकवालाहरुका बारेमा पवित्र कुरान मजीदमा प्रष्ट उल्लेख गरिएको छ । जसलाई सबैले मान्नै पर्ने हुन्छ । अनि बाबुले छोरीलाई बिहे अघि बिहेमा वा विवाह पश्चात आफु खुशी कुनै सरसामान, घरजग्गा, गरगहना दिनु उपहार हो र उपहार दिनु र लिनु सुन्नत हो । तर हालको अवस्था फरछ छ जसबारे तल पढ्न सक्नु हुनेछ अथवा आफ्नो नजिकको मकतब मरकज वा मदरसामा रहेका इस्लामिक ज्ञान भएका आलिमसंग पनि जानकारी हासिल गर्न सक्नु हुनेछ ।
मुस्लिम समुदायको हाल अवस्था
मुस्लिम समुदायकाभित्र अहिले विभिन्न खुराफातहरु बढ्दैछन् । अभिभावकहरुले छोरीलाई बोझको रूप लिन थालेछन् किन भने छोरी अर्काको घर जाने जात हो । बिना दाईजो जसको राम्रो घर र वरसँग विवाह गर्नु फलामको चना चपाउने सरह भइसकेको छ । यसको कारण यो छ कि विवाह गर्दा राम्रो घर र वर दिलाउन केटा पक्षबाट गरिएका माग अनुसारको मोटो रकम र लाखौं करोडौंको दाईजो दिनुपर्छ । दाईजो मात्र नभइ जन्तीमा आउँदा लाग्ने गाडी भाडा, प्लेनभाडा, अनि आवश्यकता भन्दा बढी चार पाँच सय जन्तीमा आएकाहरुलाई महंगो महँगो उपहार दिनुपर्छ, सलाम गराइमा माग अनुसार ब्रान्डेड मोटर बाइक, चारपाग्रें चिल्लो ठूलो गाडी, सुनको मोटो सिकरी, औंठी जस्ता महँगा उपहार बेहुला र उसका आफन्तलाई केटीपक्षले दिनुपर्ने चलन नै भइसकेको छ । साथै खानपानका लागि महंगो होटेलमा नानाथरीका डिशको व्यवस्था समेत केटीपक्षले नै गर्नुपर्छ ।
हुन त यसो छोरीको विवाह गर्दा यी खर्च व्यहोर्ने छोरीको अभिभावकको दायित्व हो भनी इस्लामको कुनै किताब कुरान मजीद वा हदीश शरीफमा लेखिएको छैन । तर पनि आज मुस्लिम समुदाय भित्र यो एउटा मुख्य प्रथा र रिवाज सरह कायम भइसकेको छ । मुस्लिम समुदाय भनेको एक अल्लाहको उपासना गर्ने एकेश्वरवादमा आधारित रही इस्लाम धर्म मान्नेहरुको जमात हो । इस्लाम शान्ति, समानता, प्रेम, आत्मियता, भाइचारा र मानवताको धर्म हो । जसले सद्भाव र भाईचारा कायम गर्ने क्षमादानको गर्ने, कसैलाई आफ्नो बोली व्यवहारले दुखी नबाउने मानवताको पाठ सिकाउंछ । त्यही मुस्लिम समुदायमा रहेका महिलाहरुको पैतृक सम्पत्तिमा हक प्राप्तिको अवस्था र दाईजोप्रथा बारे चर्चा गर्छौं ।
यदि मुस्लिम समुदायको कुरा गर्ने हो भने अहिले देखावटीपनमा यो समुदाय पनि कहाँ कम छ र । यदि कसैले बच्चाको अकीका, निकाह (विवाह), इफ्तार पार्टी जस्ता कार्यक्रम राख्छन् भने तिनले पन्डाल त पन्डाल, समय, स्थान र खानेकुराको परिकार समेत फरक राख्न थालेछन् । कुनै तरकीब राख्दा निम्न वर्गका लागि टोलमै त्यो पनि साधारण खानेकुराको व्यवस्था गर्छन् मध्यम वर्गका लागि मध्यम खाले होटल वा आफ्नै घरमा अलि अलि भेराइटी मेसो मिलाएर राख्छन् तर उच्च वर्गका लागि तीनतारे, पाँचतारे होटेलमा छप्पनभोग र आलीशान भोजको आयोजना गर्छन्, निकाह (विवाह) गर्दा पनि यस्तै हो साधारणहरुका लागि सामान्य होटेल वा मुसाफिरखानामा खानपानको व्यवस्था गर्छन् । मध्यमवर्गीयका लागि मध्यम खाले होटेलमा र उच्च वर्गका लागि शहरकै महंगो होटेल हुन्छ । यहाँसम्म कि भोजको समय समेत फरक राख्छन् । अनि केटा पक्षको मांग अनुसारको गरगहना, गाडी र मंहगा सरसामानहरु दाईजो स्वरुप छोरीलाई दिएर पठाउँछन् । चाहे त्यसको लागि ऋण किन नै लिन परोस् तर छिमेकी भन्दा बढता खर्च गर्छन् अरु सामु दिखावा गर्नलाई । अझ यति मात्र कहाँ हो र इस्लामले प्रतिबन्धित गरेकै कार्य अर्थात विवाहमा नाचगानको आयोजन समेत गर्छन् । जसमा घरकी चेलीबेटी र सासुबुहारीहरु परपुरुषका अगाडि बेपर्दा कम्मर भाँचिने गरी नाच्छिन् र आमाबुवा र छोराछोरीले आफ्ना आमाबुवा र छोरीबुहारीलाई नाचेको देखेर मख्ख पर्दै थपडी बजाउँदै बस्छन् ।
मुस्लिम समुदाय भित्र पनि अरु समुदायको देखासिकी शर्तानुसार दाईजो माग गरिन्छ यहाँ सम्मकी केटाको आम्दानी र पद अनुसार उसको मुल्य निर्धारण गरिन्छ डाक्टर, इन्जीनियर, सरकारी जागिरे आदिका र छोरीका अभिभावक आफ्नी छोरी आफ्नो मुटुको टुक्राको खुशीका लागि आफु सक्दो माग पुरा गर्ने गर्छन् । जो माग पूरा गर्न असमर्थ हुन्छन् तिनकी छोरी लायक हुँदाहँुदै घरमै बसी बसी बुढी हुँदैछिन् । अनि निकाह पढाउन जाने काजी वा मौलानाले शरीयते इस्लामको विपरित भइरहने यी कार्यलाई देखेर पनि अनदेखा गरिदिन्छन् किनभने त्यहाँ त उनले मोटो रकम नजराना स्वरुप पाउनेछन् । यदि बोले भने नजरानाको मोटो गड्डीबाट हात धुनु पर्ला । यस कारण यहाँ यथार्थ कुरा गर्दा धेरैलाई अपच पनि होला धेरैको मुख रातोकालो पनि होला तर पनि भन्नु आवश्यक छ कि जसमाथि समुदायलाई शरीयतको सही मार्गदर्शन गर्ने जिम्मा छ उनीहरु पनि यी विषयमा मुखमा बुजो लगाएर चुप लागेर तमाशा हेरी बसिरहेका छन् ।
हेरौं इस्लामले महिलाहरुलाई दिएका विशेष अधिकारका र विशेष स्थान ।
१. सर्वप्रथम त बाँच्न पाउने अधिकार इस्लामले दिलायो जब १४ सय वर्ष अघि छोरी जन्मिदा उसलाई जिउदैं माटोमुनि पुरेर हत्या गरिन्थ्यो । आज पनि हाम्रो समाजमा छोरी भएमा भ्रुण हत्या गरिन्छ तर इस्लामले छोरीलाई रहमत भनी सम्बोधन गरी बाँच्ने अधिकार दिलायो ।
२. उचित पालनपोषणको अधिकार इस्लामले भनेको छ तिमीले त्यति बच्चामात्र जन्माऊ जसको पालनपोषण राम्ररी गर्न सक्छौ त्यहाँ यो भनिएन् कि त्यति छोरा मात्र जन्माऊ जसको पालनपोषण राम्ररी गर्न सक्छौ ।
३. शिक्षाको अधिकार कुरानपाक अल्लाह करीमको सब भन्दा पहिलो फरमान छ कि ‘इकरा’ अर्थात् ‘पढ’ अर्कोतिर इस्लामले भन्छ, ‘तलबुल इल्मी अलाकुल्ली मुस्लेमीन व मुस्लीमाह’ अर्थात् शिक्षा हासिल गर्नु हरेक मुस्लिम महिला र पुरुषका लागि अनिवार्य छ । साथै इस्लामका प्रवर्तक हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको महान वाणी छ, ‘शिक्षा हासिल गर चाहे चीन जान परोस् ।’ त्यहाँ महिला र पुरुष भनी छुट्याइएको छैन् ।
४ स्वतन्त्रताको अधिकार जहाँ समाजमा रीत छ छोरीका लागि वर खोज्ने अधिकार परिवारलाई हुन्छ घरपरिवारले जसको घर डोर्याइ दिए त्यही विवाह गरी जानैपर्ने हुन्छ । तर इस्लाम नै एक मात्र यस्तो धर्म हो जसले जीवनको महत्वपूर्ण निर्णयको अधिकार स्वयं महिलालाई दियो त्यो पनि १४ सय वर्ष अघि नै । अर्थात निकाहको बेला कुबूल गर्ने पहिलो हक महिलालाई दियो स्वीकार र अस्वीकार गर्ने पहिलो र पूर्ण हक महिलाको हुन्छ । यदि महिलाले अस्वीकार गरे जन्ती र बेहुला फिर्ता हुनुपर्छ कुनै जोरजबरदस्ती गर्न पाइदैन । गर्यो भने गर्ने व्यक्ति गुनाहगार (पापको भागीदार) हुन्छ । यहां यो कुरा प्रष्ट भयो कि जीवन साथीको चुनाव गर्ने पहिलो अधिकार महिलालाई दिएर इस्लामले महिलाको स्थान उच्च राखेको छ ।
५. महरको अधिकार अब निकाहको बेला इस्लामले चौदह सय वर्ष अघि दाईजोप्रथाको अन्त्य गरी महिलाहरुका सम्मान स्वरूप उनीहरुका लागि महर निकाह अर्थात विवाहको समय केटापक्षले दिने सम्पतीको अधिकारको व्यवस्था गर्यो । जुन सम्पती तत्काल वा केही समयको अन्तरालमा बुझाउनु नै पर्नेहुन्छ र त्यसमाथि पुर्णरुपले महिलाकै स्वामित्व हुन्छ ।
६. कुनै पनि महिला आफ्नो पतिका खाना बनाउन बाध्य हुदिन्न, न त पतिका कपडा वा घरको सरसफाई गर्न बाध्य हुन्छिन्, न त सास ससुरा, नन्द, देवरको सेवा गर्न बाध्य हुन्छिन् । तर मानवताका नाताले गरे भने पुण्य प्राप्त हुनेछ । हुन् त यस्तो घटना हँुदैन किनभने आमा भनेकी ममताकी खानी हुन् र उनको विशाल हृदयले यो गर्न मान्दैन् तथापि महिलालाई यहाँसम्म अधिकार छ की यदि महिलाले आफ्नो बच्चालाई दूध चुसाउदिन् भनिन् भने पुरुषले ढिपी गर्न पाउदैन् । बरु उसले दाई (दूध चुसाउने) को व्यवस्था स्वंय गर्नुपर्ने हुन्छ ।
७. पत्नीका आवश्यकताहरु पुरा गर्नु पतिको कर्तव्य हो । किन भने निकाहको बेला उसले सबैको सामु कुबूल यानी स्वीकार गरेको हुन्छ कि म मेरी पत्नीको सम्पूर्ण आवश्यकताहरु पुरा गर्नेछु उसका सम्पूर्ण इच्छाहरु पुरा गर्नेछु र उसको अस्मिताको रक्षा गर्नेछु । तर पतिलाई उसको हैसियत भन्दा बढी व्यवस्था गर्न कर गर्ने यसको अर्थ यो कदापि होइन् । पत्नीले आफ्नो पतिको हैसियत अनुसार माग गर्नुपर्छ ।
८. सम्पत्तिको अधिकार हामी महिलालाई सम्पतीमा अधिकारको कुरा गर्दा बल्लबल्ल कानुनले अविवाहित छोरीको हक ३५ वर्षको हद हटाएको छ । तर इस्लामले त्यो अधिकार १४ सय वर्ष अघि यसरी दिएको की सम्पूर्ण सम्पतीको एक तिहाई भाग छोरी वा छोरीहरुका लागि छुट्टियायो त्यो पनि उमेरको कुनै हदबन्दी न राखेर र एक तिहाई पछि शेष सम्पतीबाट दाईभाई र आमाबाबुले व्यवस्था गरेको हो । विवाह पश्चात पतिको सम्पत्तिमा पूर्ण भागीदार पत्नीलाई नै ।
पैतृक सम्पत्तिमा छोरीको हक
आज हामी अन्य विषयमा कुरा नगरी केवल दाईजो र पैतृक सम्पत्तिमा छोरीको हक बारेमा परिचर्चा गर्नेछौं । किनभने समाजलाई शरीयते इस्लामले छोरीको लागि व्यवस्था गरेका कानून बारे अवगत नगराएकै कारण समाजमा विकृति हरु फैलिदैं गइरहेछ । आज हामीले समाजभित्र हेरिरहेकाछौं कि कसरी जोहो गरेर आजभोलि अभिभावक छोरीहरुको दाईजोको लागि ठुलो रकमको व्यवस्था गरिरहेका हुन्छन् । अनि छोरीलाई बढी भन्दा बढी दाईजो दिएर पठाएका हुन्छन् । ताकि समाजमा उनले दिएको दाईजोका बारेमा सबैले चर्चा र प्रशंसा गरुन् । जबकि इस्लामसंग यसको कुनै सरोकारै छैन् बरु छोरीलाई हैसियत अनुसार पैतृक सम्पत्तिबाट हक दिने आदेशका साथै हकमहर अदाएगी (भुक्तानी) गर्ने आदेश अवश्य छ । हक महर त्यो रकम हो जसमाथि केटीको एकलौटी स्वामित्व रहन्छ । जसमा न कसैले भागबण्डा गर्न पाउँछ न जोरजबरदस्ती नै । हुन त चलनचल्तीमा हक महर माग गराउने गर्छन् यद्यपि यो भुक्तानी गर्नुपर्ने दायित्व हो पतिको आफ्नी पत्नीलाई । आज सन्दर्भ पैतृक सम्पत्तिमा क कसको हक रहने भनी रहेको हँुदा यसबारे तल पूर्ण रुपले कुरान मजीद र हदीश शरीफको प्रकाशमा प्रष्ट पारिएको छ ।
अलकुरान
सुरहः निशा आयात ः११
अल्लाहले तिम्रा सन्तानहरूको सम्बन्धमा तिमीलाई आदेश फरमाउनुहुन्छ कि एउटा छोराको अंश दुईटा छोरीहरूको अंशको बराबर छ र यदि मृतकका छोरीहरू मात्र छिन् र दुईभन्दा बढी छिन् भने तिनलाई मृतकको सम्पत्तिबाट दुई तिहाई र यदि एउटी छोरी मात्र छिन् भने उसलाई आधा, र मृतकका आमा बाबु प्रत्येकलाई मृतकले छोडेको सम्पत्तिको छैठौं भाग अंश हो, मृतकका सन्तानहरू भएको खण्डमा । यदि मृतकको सन्तान नभए र मात्र आमा बाबु नै उसको हकवाला भएको अवस्थामा, एक तिहाई आमाको अंश र यदि मृत्तकका दाजुभाइ पनि छन् भने आमाको छैठौं अंश हो, मृतकको सम्पत्तिको यो अंशवण्डा मृतकले गरेको इच्छापत्रको कार्यान्वयन पछि मात्र वा मृतकले लिएको ऋणको भुक्तानी गरेपछि मात्र गर्नुपर्छ । तिमीलाई थाहा छैन् कि तिम्रा बाबु वा छोरामध्ये तिमीलाई फाइदाको दृष्टिकोणले कुन चाहीँ धेरै नजिक छ । यी अंश भाग अल्लाहबाट निर्धारित गरिएका हुन् र निःसंदेह अल्लाह सर्वज्ञ र कौशलवाला छ ।
अलकुरानः
सुरहः निशा आयातः १२
जुन सम्पत्ति तिम्रा स्वास्नीहरू छोडेर मर्दछिन् यदि तिनका सन्तानहरू छैन भने, त्यसबाट आधा भाग तिम्रो हुनेछ र यदि उनको सन्तान छन् भने छाडेर गएको सम्पत्तिबाट तिम्रो भाग एक चौथाई हुन्छ ।
(तर यो विभाजन) मृत्तकको त्यस इच्छापत्रको कार्यान्वयन पश्चात हो जुन उसले गरेर गएको छ र उसले लिएका ऋण तिरिसकेपछि गरिनेछ र जुन सम्पत्ति तिमी (पुरुषले) छाडेर मर्छौ र यदि तिम्रा सन्तानहरू छैन्न् भने तिम्री स्वास्नीहरूको त्यसबाट एक चौथाई भाग छ र यदि सन्तान छ भने तिनलाई आठौं भाग छ । (यी भागहरू) तिम्रो इच्छापत्रको कार्यान्वयन पश्चात हो जुन तिमीले गरेकाछौ र ऋणको (भुक्तानी पछि) बाँडिने छन् । र यदि यस्तो पुरुष अथवा स्वास्नी मान्छेको सम्पत्ति छ, जसको न बाबु छ न छोरा उसको एक दाजु वा भाइ अथवा एक दिदी वा बहिनी छन् भने त्यसबाट प्रत्येकलाई छैठौं भाग हुन्छ र एकभन्दा बढी छन् भने सबै एक तिहाईमा सहभागी हुनेछन् । (यी अंशहरू पनि) इच्छापत्र पूरा भएपछि तथा ऋण तिरेपछि यो शर्तमा कि कसैलाई हानी नोक्सानी नपुगेको होस् । यो अल्लाहको तर्फबाट निर्धारित गरिएको हो र अल्लाह सर्वज्ञ तथा दयालु छ ।
हदीश शरीफः
१. अर्थात यदि छोरीहरू मात्र छन् दुई वा बढी छन् । २. अर्थात छोरा वा छोरी छैन्न् । ३. बाँकी बुबाको हुनेछ । दाजुभाइ दिदीबहिनीले केही पनि पाउने छैन्न् । ४. वसियतको अर्थ भनेको उत्तरदान हो, जुन एक तिहाई वा सो भन्दा कम हुनुपर्दछ, तर उत्तराधिकारीका लागि उत्तरदान होइन । (हेर्नुहोस्ः तिर्मिजीः ९७५) पहिले ऋण भुक्तानी हुनेछ, त्यसपछि वसियत(उत्तरदान) पूरा हुनेछ, अनि आमाको छैठौं अंश दिइनेछ ।
कुरान मजीद र हदीश शरीफमा छोरीको पैतृक सम्पत्तिमा अधिकार बारे स्पष्ट व्याख्या गरिए पनि दाजुभाई र आमाबुवाले यसलाई नजरअन्दाज गरिरहेछन् । एक त छोरीलाई अंश नै दिदैंन्न् । यदि कसैले कदमकदाचित दिने आंट गरे पनि उनीहरुले छोरीलाई पैतृक सम्पत्तिमा हक दिनुको सट्टा उसको भागमा पर्ने सम्पत्तिको आर्थिक मुल्यांकन गरी त्यति रकम बराबरको दाईजो दिएर पठाईदिन्छन् जबकि यो सरासर गलत हो ।
हामीले माथि उल्लेख गरिएका कुरान मजीद र हदीश शरीफका उदाहरणहरु हेरेयौ जसमा छोरीको पैतृक सम्पत्तिमा अंश दिनुपर्ने अल्लाहको आदेश प्रष्ट उल्लेख छ भने निकाहको बेला पतिले हकमहर दिने । अनि छोरी पाएको पैतृक सम्पत्ति र हक महरमा उसको एकल स्वामित्व मात्र रहने भनी प्रष्ट छ । त्यसमा अरु कसैले जोरजबरदस्ती र दावेदारी गर्न नपाउने किटानी गरिएछ । यद्यपि केटा पक्षले ल्याउने सयौं जना जन्तीको भव्य स्वागत सत्कारका लागि ठुलो होटेल उनीहरुको लागि महंगा मंहगा उपहार र दाईजो लिने दिने बारे कहीं कतै कुनै जिकिर गरिएको पाएनौं । यदि शरीयतको प्रकाशमा कुरा गर्ने हो भने दाईजो लेन देन विदअती कार्य हो । विदअती कार्य भनेको जसको शरीयते इस्लामसंग कुनै लेनादेना छैन् त्यो कार्यको शराअई हैसियतले कुनै मुल्य हँुदैन जसलाई मानिसले आफुखुशी लागु गरेका हुन्छन् ती नयाँ इजाद गरिने कार्यलाई नै विदअती कार्य भनिन्छ । अनि विदअती कार्य गर्ने पापको भागिदार हो र उसले निश्चय नै नर्कको कष्ट भोग्नु पर्नेहुन्छ ।
स्मरण रहोस् इस्लामले पैतृक सम्पत्तिमा छोरी हक हुन्छ भनी कुरान मजीद अल्लाहको वाणी उल्लेख छ यदि कसैले अमानतमा खयानत गर्छ भने अल्लाहको नजिक ऊ दोषी हो । अनि दाईजोप्रथा को इस्लामभित्र कुनै शराअई हैसियत छैन् यसको लेनदेन गर्ने गराउनेहरुको घर मौलानाहरुले जब सम्म निकाह पढाउन जान छाड्दैन्न् जब सम्म दाईजो लिने दिनेलाई सामाजिक बहिष्कार गरिदैंन् तब सम्म न छोरीले पैतृक सम्पत्तिबाट हक पाउनेछिन् न दाईजोप्रथा रोकिनेछ ।