
नेपालको संविधानको धारा ५७ को उपधारा (४) ले स्थानीय पालिकालाई संविधानको अनुसूचि ८ मा केहि अधिकारहरु तोकेर दिइएको छ । त्यहि अनुसूचिको बुँदा ८ मा आधारभूत र माध्यामिक तहसम्मको शिक्षाको अधिकार दिइएको छ । यसै अधिकारलाई प्रयोग गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को ज मा केहि आधारहरु दिइएको छ । यसलाई के कति प्रयोगमा ल्याइयो ल्याइएन भन्ने कुरा यहाँ मुख्य चर्चाको बिषय होइन तर प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (परिमार्जित २०६५), आधारभूत तह (कक्षा ६–८) पाठ्यक्रम २०६९ तथा स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका २०६४ र स्थानीय पाठ्यक्रम प्रारुप २०७१ मा रहेको प्रावधान अनुरुप कतिपय स्थानीय पालिकाहरुले स्थानीय पाठ्यक्रमहरु बनाएका छन् भने कतिपयले बनाउन सकिरहेका छैनन् । यसैको सेरोफेरोमा रहेर यहाँ आज चर्चा गर्न खोजिएको छ ।
बाँके जिल्लामा रहेका ८ वटा स्थानीय पालिकाहरुले भने यो लेख तयार पार्दाका दिनसम्म स्थानीय पाठ्यक्रम बनाइसकेको मेरो जानकारीमा छैन । मैले एउटा कार्यक्रममा बाँकेका आफुलाई निकै बिकासप्रेमी र उनको पार्टीका पहुँचवाला मान्ने मध्येका एकजना पालिका प्रमुखसँगको बसाइका क्रममा यस बिषयमा कुरा उठाउँदा उनले अब आफ्नो विगत तीन बर्षका कामको फेहरिस्त तयार हुँदै गरेको र त्यसलाइ पाठ्यक्रममा समावेश गर्ने गरि बनाउने कुरा निकै गर्वका साथ भने । तर उनले त्यसो भन्दै गर्दा उनका कामको प्रतिवेदन समावेश गरेर कस्तो पाठ्क्रम बनाउन खोजेका हुन भन्ने कुरा भने खुलाउन चाहेनन् । यसबाट स्पष्ट हुन्छ कि यहाँका पाठ्क्रमहरु कस्ता बन्दैछन् भनेर ।
यो देशमा शिक्षाविदहरु धेरै छन् । केहि नामदार छन् त केहि कामदार पनि । एकथरि विज्ञहरु छन् जो देशको मूल र कूल यहाँका विविधतापूणर््ा भाषा सँस्कृति यहाँका मौलिकताहरु र यहाँको ज्ञान परम्परामा गर्व गर्छन् । यहाँका यी अमूल्य निधीहरुलाई जोगाएर विगतका राम्रा कुराहरुको आधारमा टेकेर विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धलाई हाम्रो समाजमा स्थिति गरेर प्रगतिको पथमा जानु पर्छ । यसलाई स्थितिगत्यात्मकता गर्दै प्रगतिवादतिर जानु पर्छ । नेपाल र नेपालीत्वमा र आफ्नो मौलिकतामा गर्व गर्न सक्नेले मात्रै जहिले पनि र जहाँ कहिँ पनि आफ्नो देशमाथि गर्व गर्न जान्दछभन्नेहरु छन् । नेपाल चिनेकाले, नेपालको इतिहास र भूगोल यहाँको सहृदयताको सम्बन्धलाई सम्झने हो भने मात्रै आफ्नो राष्ट्र सापेक्ष शिक्षा नीति र पाठ्क्रम बनाउन सकिन्छ भन्नेहरु छन् ।
भने, अर्काथरि विज्ञहरु छन् जो सधैं नेपाल त अशिक्षित नै हो, यहाँकासँग त सभ्यता नै छैन, यहाँका सबै मानिसहरु नै असभ्य छन्, हातधुन समेत जान्दैनन् , खानपनि जान्दैनन् , भोकानाङ्गाहरुको देश गरीब देश नेपाल मात्रै हो भनेर कहिल्यै थाक्दैनन् । यसैबाट उनीहरुको विज्ञताको प्रमाणपत्र बन्ने गरेको छ । विभिन्न समारोहरुमा सम्मान र पदक पाउने गरेका छन् । आइएनजिओहरुका गोष्ठि सेमिनारका भ्रमणहरु प्रशिक्षण र भत्ताहरु आफ्ना सन्तानका छात्रबृतिहरुको दोकान चलेको छ । उनीहरु त सधैं शिक्षामा, पाठ्क्रममा, शिक्षालयहरुमा र शिक्षाको श्रोतमा नै नेपाल देख्दैनन् मात्रै विदेश नै देख्छन् ।उनीहरुलाई त नेपालको माटो गन्हाउँछ । नेपाल र नेपालीत्वबाट यो देशको कुभलो देखिन्छ । नेपालको ज्ञान परम्पराहरुले धानेको यो देशको सँस्कृति, भाषा र सभ्यतालाई सधैं पाखण्ड देख्छन् । अविकसित विकास विरोधी देख्छ । नेपालका मौलिक भाषामा भन्दा वदेशीहरुको भाषामा समृद्धि देख्छन् ।
विदेशीहरुको सँस्कृति र सभ्यतालाई सम्पन्न देख्छन् । विदेशीहरुको धर्म, सँस्कृति, सभ्यता र यहाँको परिप्रेक्षमा त्यहिँका आफ्नै देशका लागि लागेकाहरुलाई नेपालका आर्दश व्यक्ति मान्छ । यहाँको समाज विकासकोआधार यहाँको आफ्नो नभैउनै विदेशीहरुको आधारलाई स्वीकार्छ । नेपालको वास्तविक इतिहासलाई गाली गलौच गरेर, हिंसा, यौन र प्रायोजित साहित्यलाई महान साहित्य मानेर गौरान्वित हुँदै अधिकारका कुरा गर्छ । अनि नेपालको बुद्धिजीवी बनेर समाजलाई यो देशको शिक्षा नीतिको, पाठ्क्रम र पाठ्यपुस्तको ठेक्का लिएर हिँड्छ ।यस्ता नेपाल र नेपालीत्व इतरका बिषयवस्तुहरुबाट पल्लवित र सँस्कारित भएको शैक्षिक पाठ्यक्रम बनाएर नेपालको शिक्षाको मुहान नै दुषित र हिँसक बनाउने काम कम्तिमा पनि स्थानीय तहले किमार्थ गर्नु हुँदैन ।
स्थानीय सरकारलाई पाठ्यक्रम बनाउने अधिकार आउँदा कस्तो पाठ्क्रम बनाउने भन्ने बारेमा गहिरो चिन्तन मनन गर्न जरुरी छ । नेपालको स्वाभिमानलाई जागृत गर्ने, नेपालको पुर्नजागरण गराउने यहाँको ज्ञान परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने किसिमका विषयवस्तुहरुलाई समावेश गरिनु पर्दछ ।
हिजो राज्य एकात्मक भयो त्यसैले सर्वाङं्िगण विकास भएन भनियो । विभिन्न भाषिक समस्याहरुको सम्बोधन भएन भनियो । स्थानीय मौलिकता र त्यहाँका सँस्कृतिहरुको उपेक्षा गरियो भनियो । यसैलाई अरुले कान पुकेकै भरमा ठाउँ ठाउँ र गाउँ गाउँबाट ती स्थानयि ज्ञान परम्पराका आधारहरु, सँस्कृतिक पहिचानका आधारस्तम्भहरु भत्काएर क्रान्तिकारी बनेर सलाम ठोक्दै र सलाम खाँदै हिँडियो त्यसको भरपाइ कसरी गर्ने अब विचार गर्ने कि नगर्ने ?
हिजो राज्य र यसका अवयहरु एकात्मक थिए या के थिएनन् भन्ने कुरा अब प्रश्न नै रहेन । किनकि अब त अधिकार त्यहिँको स्थानीय व्यक्तिहरु, त्यहिँको स्थानयि समाजको नेताले हाँकेको सरकारको हातमा आएको छ । अब स्थानीय भूगोल, स्थानीय भाषा, स्थानीय धर्म र पूजा पद्धति, स्थानीय सँस्कृति र सभ्यता, त्यहिँको साधनश्रोतको उपयोग र जीवन पद्धतिलाई सँगालेर इतिहासले र त्यहाँको पूर्खाको ज्ञानले डार्याएर सम्हाल्दै ल्याएर बुझाएको नासोलाई लिपिबद्ध गर्ने जिम्मा त्यहाँको सरकारहरुलाई नै आएको कुरा बिर्सनु हुँदैन ।
नेपालमा जतिसुकै औधोगिक ग्रामका कुरा गरेपनि नेपालको प्रमुख आयश्रोत, यहाँको जीविकोपार्जनको आधार भनेको कृषि नै हो । यो क्षेत्र भनेको संसारका अति न्यून देशहरु मध्ये पर्छ जहाँको जलवायु नै कृषि कर्मका लागि अनुकुल छ । कृषिबीनाको यहाँको बिकासको परिकल्पना कसैले गर्छ भने नेपालको बिकासको विगत र भविष्य नै नबुझेको या फेरि नेपालको वास्तविक विकास नै नचाहनेहरुको बाटो हो भन्नै पर्ने हुन्छ । उर्वर भूमि संसारका बिरलै देशहरुमा मात्रै छ । यस्तो भूमि पाउनु भनेको नै नेपालको सौभाग्य हो । यो सौभाग्यलाई दूर्भाग्यमा परिभाषित गर्न र गराउन उद्दत रहेकाहरुको लहलहैमा लाग्नेहरुका हातमा नेपालको शैक्षिक पाठ्यक्रम र पाठ्यपुस्तक बनाउने जिम्मा दिनै हुँदैन । नेपालका गाउँ गाउँमा गएर भ्रम छर्ने विदेशी संस्थाहरुले हाम्रा स्थानीय सरकार र कर्मचारीहरुलाई समेत दिगभ्रमित बनाइसकेका छन् । यो कुरालाई रोक्नु पर्छ ।
कतिपय स्थानीय सरकारले यस्तै संस्थाहरुलाई पाठ्यक्रम पाठ्यपुस्तक बनाउने जिम्मा दिएर त्यहाँका स्थानीय मौलिकता भन्दा पृथक विषयवस्तु राखेर बनाउने प्रयास भएको छ । कतिपय ठाउँमा त तिनै स्थानीय सरकारका प्रतिनीधिहरुका फोटाहरु परिचय र कथाहरु राखेर उनीहरुलाई मख्ख बनाउने र त्यहाँको स्थानीय परम्परालाई गाली गरेर अनावश्यक रहेका कुरालाई समावेश गरेर पाठ्यपुस्तक बनाउने कोशिश पनि भएको छ । यस्ता किसिमका कामहरु हुनु हुँदैन ।
अब स्थानीय तहले पाठ्क्रमका बिषयवस्तुहरुको छनौट गर्दाःस्थानीय ज्ञान परम्परा, त्यहाँको स्थानीय स्तरमा रहेका वा लोप भएका प्रचलित भाषा, चाडपर्व, धर्मसंस्कृति, रीतिरिवाज, भेषभुषा । स्थानीय खानाका मौलिक परिकारहरु र बनाउने तरिका । त्यहाँ रहेका मठ, मन्दिर, गुम्बा, चैत्य विहार र अन्य धार्मिक सम्पदाहरू, पूजा पद्धति यसका केन्द्रहरु र यिनका ऐतिहासिक महत्व । त्यहाँको इतिहास, सामाजिक मूल्यमान्यता र यसबाट सृजित नैतिकताका सकरात्मक आचारव्यवहारहरु । त्यहाँका स्थानीय वनस्पतिहरु र यसको जैविक गुणहरु । स्थानीय वनस्पति माथि भएको बाह्य वनस्पतिहरुको प्रभाव र यसले माटोको उर्वरा शक्तिमा आएको ह्रास । त्यहाँका प्राकृतिक सम्पदाहरु, जडीबुटीहरु र यसको संरक्षण । त्यहाँको जीविकोपार्जनको मुख्य श्रोतको इतिहास, वर्तमान र भविष्यको आधार । औधोगिक उत्पादनहरु र यसका कारण वातावरण, जल र जमीनमा भएको प्रदूषण र यसको व्यवस्थापन । त्यस क्षेत्रमा रहेकाचौतारी, पाटी पौवा, कुआ,नदीनाला, तालकुण्ड, हिमाल , खनीज पदार्थ र यसको संरक्षण सहित उपयोग गर्न सकिने आधारहरु । आधुनिकताको अर्थ र यसका कारण समाज मानव र पशुचराचरमा हुने असर । दैविक प्रकोप, प्राकृतिक प्रकोप र यसबाट बच्ने उपायहरु । स्थानीय मौलिक खेलहरु । साथै वर्तमान शासन व्यवस्थामा स्थानीय पालिकाको गठन प्रक्रिया । जस्ता कुराहरुलाई समावेश गरेर पाठ्क्रम बनाउन पर्दछ ।
यसको निर्माण गर्दा स्थानीय ज्ञान परम्पराका अनुयायीहरु, स्थानीय भाषा र सँस्कृतिका जानकारहरु, वनस्पति र कृषिका जानकारहरु, समुदायमा रहेका पहिलो पुस्ताका अग्रजहरु, शिक्षक विद्यार्थीहरुसँगको अन्र्तक्रिया, उनीहरुबाट दिइएको प्रतिवेदन, विद्यार्थीहरुको अनुसन्धान प्रतिवेदनहरु र परियोजना कार्यहरु र भूगोलको तथ्याङ्क, आदी लिएर तयार गर्न सकिन्छ । यसो गर्दा विदेशी संस्थाहरुको श्रोतसधान र सल्लाह लिने वा उनीहरुको तथ्याङ्कलाई आधार बनाउनु हुँदैन । यसले स्थानीयको मौलिकता, आफ्नोपन र स्वामित्वमा घात पुग्न जान्छ ।
स्थानीय सरकारका प्रतिनिधीहरुमा रहेको एउटा भ्रम आफै जान्ने आफै बुझ्ने सबै सर्वज्ञानी आफु बाहेकका बाँकी समाजका सबैको मति बेठिक, समाज र यसको परम्पराले मलाई होइन मैले समाज चलाउँछु भन्ने अहंकारबाट मुक्त हुनै पर्छ । जसरी पढाइको खोस्टोले मात्रै मानिस शिक्षित भएको मान्न सकिँदैन त्यसैगरि चुनावको ठप्पाले मात्रै तिमी सर्वज्ञानी सर्वाधिकारसम्पन्न होइनौ भन्ने मनन् गरेर यो समाजको वास्तविक आधारलाई स्वीकार गर्दै तयार गरिने पाठ्यवस्तुले मात्रै आफ्नो (त्यहि समाजको ) स्वाभिमान बढाउन सक्छ । सँस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए देश हराउँछ । जय मौलिकता, जय रैथानेपन । तपाइँका इष्टदेवले तपाइँको जरोकिलोको रक्षा गरुन ।